ए बाबु, उठ न, कत्ति सुतिरहेको छस्। घाम उदाएर डाँडामाथि आइसकेको छ। गाईवस्तु घाँस पराल, खोले खान नपाएर छटपटाइसके। भकारो सोर्नै बाँकी छ। फेरि दुध पनि दुनै पर्याे।
कति धेरै काम गर्ने बुढालाई एकैछिनको व्यथाले कलिलै उमेरमा लगिहाले दैवले। यै एउटा छोराको मुख हेरेर, यो घर सम्हालेर बसेको छु। चिन्ता र कामको चापले होला अनि उमेर पनि त ओह्रालो लाग्दै जाने न हो। यो जाडो महिनामा खोकी लाग्छ। जिउ सबै कटकट खान्छ। बिहान उठेर काम गर्न हम्मेहम्मे पर्छ। छोराले अलिअलि काम सकाएर दुध, डेरीसम्म पुर्याएर स्कुल गइदिए अलि सजिलो होला भनेर करायो छोरो उठ्नै मान्दैन।
पुजाको घण्टी बजाउँदै कमला देवताको नाम लिनुकाे सट्टा आफ्नै दुखेसाे पोखिरहेकी थिइन्।
म उठिसकेँ। आमा कति कराउनुहुन्छ! अलिकति गृहकार्य सक्दै थिए। हत्तपत्त चोटाबाट तल झर्याे विराज। हातमुख धोएर, आमाले पकाएको मिठो चिया पिएर र गोठको भकारो फाल्यो। गाइवस्तुलाई घाँसपराल र आमाले पकाएको कुडो (खोले) खुवाइँदै दुध दोयो अनि दुध क्यानमा राखेर डेरी जान तयार भयो।
मङ्सिरकाे दिन बाहिर निकै चिसो थियो। आफ्ना स्वेटरहरू मैलाे भएकाले के लगाउने भनेर खोज्दा आमाको दराजमा ह्याङ्गरमा झुण्डाएर राखेको ज्याकेटमा विराजको आँखा पर्याे। त्यही ज्याकेट लगाएर दुधको क्यान बोकेर हिंड्यो।
आमा म गएँ खाना छिटै बनाएर राख्नुस् है? म आएर खाना खाएर स्कुल जानुपर्छ। कक्षा दशमा पढ्दै गरेको विराज बाटोमा अलि पर चौतारीमा क्यान बिसाएर टुसुक्क बस्यो र एकै क्षणमा जुरुक्क उठ्यो। भुइँभरि हजारहजारका नोटहरू छरिएको देख्यो। अहो जीवनमै नदेखेको कति धेरै पैसा। घरमा पैसा नहुँदा स्कुलमा फि तिर्न धाैधाै परेको बेला यत्तिका धेरै पैसा देखेर खुसीको सीमा नै रहेन।
विराज एकै साहसमा डेरीमा दुध खानाएर घर आइपुग्यो। हतारहतार आफूले पैसा भेटेको कुरा आमालाई सुनायो। आमा छोराले लगाएको ज्याकेट देखेर हैरान भइन्। यो ज्याकेट किन लगाइस् यो तेरो बाबुको निसानी हो। तँलाई कलेज पढाउन तेरा बाबुले दिनरात मेहेनत गरी कमाएको पैसा हो यो। मलाई राख्न दिनुभएको थियो। मैले त्यही ज्याकेटको खल्तीमा जम्मा गरेर राखेको थिएँ। त्यही खल्तीबाट तँ बस्दा भुँइमा झरेको हो।
प्रकाशित: १७ आश्विन २०८३ १२:४२ शनिबार





