२४ पुस २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

आमा, म घर फर्किन सकिनँ!

कविता

एक वर्ष देखि कुरिरहेकी मेरी आमा  

तिमीसँग म माफी माग्न चाहन्छु  

आमा दशैं नजिकिँदै थियो,

तिम्रो छोरा कहिले आउँछ भनेर

तिमी कुरिरहेकी थियौ होला,

तर आमा, म घर आउन सकिन।

आफ्नो भविष्य उज्यालो बनाउँछु,

तिमीलाई संसारको सबै खुसी देखाउँछु

सोचेको थिएँ

तर आमा, त्यो सपना टुट्यो

म तिमीकहाँ आउन सकिन

आमा म घर आउन सकिन

आमा, म भ्रष्टाचारीका विरुद्ध

आवाज दबाएर बस्न सकिनँ।

यी भ्रष्ट नेताहरूलाई देखेर

आफू चुप रहन सकिनँ।

त्यसैले आमा, अन्याय, अत्याचार, दमन, कुशासनविरुद्ध

म आफूलाई रोक्न सकिनँ

आमा, म आफूलाई रोक्न सकिन  

दिनरात काण्डै काण्डले मुछिएको सुन्दा  

र देख्दा सधैं यो मन विचलित थियो आमा

हस्पिटल गयो पहुँच, रोजगारीमा पहुँच, सरकारी सेवामा पहुँच,

प्रहरीमा पहुँच, शिक्षामा पहुँच,

हरक्षेत्रमा पहुँच चाहिन्थ्यो आमा

जनताले हरक्षेत्रमा सास्ती भोगेका थिए 

सास्तीको त बयान गरिसाध्य छैन आमा,

जनता हरेक दिन रोएका थिए  

शासकले न हाम्रो आँसु देख्यो, न हाम्रो पीडा,

हामीलाई यो देशका जनता समेत ठानेन, आमा।

जनताको प्रगति विरलै सुनिए

नेताका छोराछोरी शक्ति

र  पैसामा मस्त रमाए

हामीले तिरेको कर दुरुपयोग मात्र भयो

आखिर हामीले के नै खोजेका थियौ र

के सुशासन खोज्नु गलत थियो र आमा

कोही नेपालीले बाध्यतामा

देश छोड्न नपरोस् भन्ने चाहना थियो

तर रोजगारी नपाएर कैयौंका छोराछोरी परदेशिए

वृद्ध आमाबुबा घरमै एक्लिए

तर आमा, राज्यले केही गर्न सकेन

ती नेपालीलाई रोक्न सकेन

आमा,

तिमीसँगै हाँस्दैबाँच्न मन थियो

तिम्रो सपना पूरा गर्ने कत्रो धोको थियो

तर आमा,

यो बेथिति, भ्रस्टाचार, विसंगति देखेर

म आफूलाई रोक्न सकिनँ

मैले नगरे कस्ले गर्ने,

अहिले नगरे कहिले गर्ने भन्ने सोच आयो आमा

म सडकमा चिच्याएँ कराएँ

आवाज उठाएँ "भ्रष्टाचारी...” भने

तर आमा मेरो स्वर गोलीको आवाजसँगै हरायो

मैले देशलाई उज्यालो बनाउने सपना देखेको थिएँ,

तर त्यो बन्दुकको गोलीले

त्यो सपना सपना बनाइदियो आमा।

म निर्दोष थिएँ आमा,

मसँग बन्दुक थिएन, हतियार थिएन,

मसँग केवल मेरो आवाज थियो

मैले मेरो लागि मात्र होइन,

सबै नेपालीको लागि बोलेँ, लडेँ

तर आमा,

त्यो लडाइँबाट म घर फर्किन सकिनँ।

मलाई माफ गर्दिनु आमा, म घर फर्किन सकिनँ।

नआतिनु आमा,

मेरो रगत त्यत्तिकै बगेको छैन

अब कोही नेपालीलाई आफ्नो घर छोडी

बाध्यतामा विदेश जानुपर्ने छैन

आमा,

तिमी मेरो प्रतीक्षा गर्दैछौ होला,

तर नआत्तिनु  

तिम्रो छोरा कहीं गएको छैन

जुन दिन देशमा परिवर्तन आउने छ

त्यस दिन फेरि तिम्रो काखमा

तिम्रै छोरो भएर जन्मिने छु।

तर आमा माफ गरिदिनु

अहिले म घर आउन सकिन।

प्रकाशित: ३० भाद्र २०८२ १३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App