२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

मालावती काफ्लेलाई 'दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान'

उदयपुरकी मालावती काफ्लेलाई 'दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान' अर्पण गरिएको छ।

नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको यो सम्मान बुधबार काठमाडौँमा आयोजित एक भव्य समारोहकाबीच काफ्लेलाई अर्पण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि कथाकार तथा साहित्यकार भागिरथी श्रेष्ठ, पुरस्कार संस्थापककातर्फबाट प्रतिनिधित्व गर्ने इन्द्रकुमारी खनाल, समाजका पूर्वअध्यक्ष विधान आचार्य, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली लगायतले काफ्लेलाई सम्मान अर्पण अर्पिएका हुन्।

ओझेलमा परेका नारी स्रष्टालाई प्रदान गरिँदै आएको यस सम्मानका साथ नगद राशि २० हजार १११ रुपैयाँ रहेको छ। सामाजिक अन्यायविरुद्ध आवाज उठाउँदै आएकी काफ्लेले झ्याउरे गीत सिर्जना गर्दै आएकी छन्। उनले संगिनीका माध्यमबाट सामाजिक रूपान्तरणको आवाज अभिव्यक्त गर्दै आएकी छन्।

सम्मान ग्रहणपछि मन्तव्य व्यक्त गर्दै मालावती काफ्लेले महिलाहरूलाई दुःख नहोस्, आफूले पढ्न नपाए पनि अरूले पढ्न पाउन, समाजमा कुनै समस्या नहोस् भनेर अहिले पनि आफू समाजसेवामै सक्रिय रहेको बताइन्।

महिला समूह बनाएर उनीहरूलाई शिक्षित र जागरूक बनाउँदै आएको उनले बताइन्। ३०–३२ वर्षमा महिलाहरूको ठूलो उन्नत्ति भएको स्वीकार गर्नुपर्ने पनि उनको भनाइ छ। पितृप्रसादको रूपमा यो सम्मान पाएको भन्दै नेपाल स्रष्टा समाज र पुरस्कार संस्थापकलाई उनले धन्यवाद ज्ञापन गरेकी थिइन्।

साहित्यकार विधान आचार्यले सम्मानित स्रष्टा काफ्लेकाे बारेमा विस्तृतमा चर्चा गरेका थिए। उदयपुरको चुहाडेकी मालावती काफ्ले नारी सशक्तिकरण र महिला उत्थानका लागि पहल गर्ने नारी स्रष्टा भएको उनले चर्चा गरे। जो आफू पनि बाहिर प्रकाशित हुन सकेको छैन र भित्रभित्र रचना पनि गरिरहेको छ त्यस्ता व्यक्तिहरुलाई सम्मान गर्ने भनेर यो पुरस्कार स्थापना गरिएको उनले बताए।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले उपर्युक्त पात्रलाई छनौट गरेको भनेर समाजलाई धन्यवाद तथा सम्मानित व्यक्तित्व मालावती काफ्लेलाई बधाई दिएका थिए।

समाजकी पूर्वमहासचिव तथा गीतकार पुष्पा खनालले यो सम्मान २०७५ सालमा आफ्नी आमा दमन्ता खनालको स्मृतिमा स्थापना गरेकी हुन्। स्वर्गीय माताको जन्मदिन पारेर बुधबार यो सम्मान अर्पिएकाे हाे।

कार्यक्रममा गीतकार पुष्पा खनालले रचना गरेको नयाँ गजल 'पिरतीको गीत' को लिरिकल भिडियो पनि लोकार्पण गरिएकाे थियाे। कार्यक्रममा सहभागी सोही गजलकी गायिका गंगा सोनामले एक टुक्क्रा गाएर पनि सुनाएकी थिइन्। यो गजललाई नरेन्द्र प्यासीले संगीतबद्ध गरेका हुन्।

परदेशमा रहेकी पुष्पा खनालले भिडियो सन्देशमार्फत सम्मानित स्रष्टा, अतिथि र सहभागीहरूलाई धन्यवाद दिएकी थिइन्।

कार्यक्रम समापन गर्दै समाजका महासचिव तथा सभाध्यक्ष प्रकाश घायलले आफूसहित पुरस्कार संस्थापक पुष्पा खनाल र रञ्जना निरौला सदस्य रहेको समितिले काफ्लेलाई छनौट गरेको बताए। उनलाई सम्मान गर्न पाउँदा समाज पनि सम्मानीत भएको उनले बताए।

यो पुरस्कार २०७५ सालबाट नेपाल स्रष्टा समाजको व्यवस्थापनमा सुरुवात भएको हो। यो पुरस्कारबाट हालसम्म सिर्जना शर्मा, इन्द्रा गहतराज, डिक्रा वादी, प्रतिमा पोख्रेल, निर्मला मुरारी, लता गिरी, यमुना पराजुली, लक्ष्मी तिवारी -तिवारी आमा) र यसपटक मालावती काफ्ले सम्मानित भइसकेका छन्।

समाजका सदस्य शंकर भारतीले अतिथि र सहभागीहरूलाई स्वागत गरेका थिए। कार्यक्रमको सहजीकरण समाजका सदस्य माधव विडारी चेतनपथले गरेका थिए।

प्रकाशित: १० वैशाख २०८३ ०७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App