२ चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

अग्रज व्यक्तित्व नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई ‘रेखा पवन स्रष्टा सम्मान-२०८२’ सम्मान

अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई संयुक्त रूपमा ‘रेखा पवन स्रष्टा सम्मान -२०८२’ बाट सम्मान गरिएकाे छ।

नेपाल स्रष्टा समाजको आयोजनामा राजधानीमा आइतबार आयोजित एक समारोहमा श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, रेखा कंडेल लगायतले दोसल्ला, सम्मानपत्र, माला र नगदराशि सहित शर्मा र घिमिरेलाई संयुक्त रूपमा सम्मान अर्पिएका हुन्।

१ लाख १ सय ११ रुपैयाँ नगदराशि र सम्मानपत्र सहितको उक्त सम्मान अग्रज नियात्राकार एवं साहित्यकार पवन आलोक र उनकी धर्मपत्नी रेखा कंडेलको नाममा स्थापना भएको हो।उनका छोरीहरू बिमला कंडेल थापा, रीता कंडेल बस्नेत, अनिता कंडेल, छोरा सुनिल कंडेल तथा बुहारी माला कटुवाल कंडेलले मातापिता रेखापवन वैवाहिक वर्षगाँठको अवसरमा कोष स्थापना गरिदिएको आयोजकले बताएका छन्।

अग्रज समालोचक प्रमोद प्रधानले सम्मानित स्रष्टाहरूबारे बाेलेका थिए। उनले नगेन्द्रराज शर्मा र रोचक घिमिरे नेपाली भाषा साहित्यमा थुप्रै लेखक, साहित्यकारहरू जन्माउने व्यक्ति भएको बताए।

२०२७ सालदेखि प्रकाशित अभिव्यक्तिका पर्यायका रूपमा सबैले शर्मालाई लिने गरेको बताउँदै उनले भने, ‘दुई उपन्यास र दुई कथासङ्ग्रह नेपाली साहित्यलाई दिइसकेका शर्माको नेपाली साहित्यिक पत्रकारितामा अतुलनीय योगदान छ। नेपाली भाषा, साहित्यमा पछिल्ला पुस्ताका साहित्यकारहरूका निम्ति मानसपिता रहेका शर्मा र घिमिरे व्यवहारमा हार्दिक, सरल, शिष्ट र शालिन हुनुहुन्छ।’ उनीहरूको अरूसँग तुलना गर्न नसकिने कुरामा प्रधानले जोड दिए।

शुभकामना मन्तव्य दिंदै नेपाल स्रष्टा समाजका सल्लाहकार समेत रहेका प्राडा गोविन्दराज भट्टराई, अशेष मल्ल तथा प्राडा लक्ष्मणप्रसाद गौतमले सम्मानित व्यक्तिहरू आफैं इतिहास भएको बताए। उनीहरूले सात दशकभन्दा लामो समय साधना गर्नु आफैंमा अतुलनीय भएको बताए। आफ्नो पुस्ताको असल अभिभावकको रूपमा सम्मानित व्यक्तिहरूलाई पाएको समेत उनीहरूले बताए।

सम्मानित व्यक्तित्व घिमिरेले आफूलाई साहित्यिक पत्रकारितामा लाग्न प्रेरित गर्ने भैरव अर्याल र रमेश विकललाई सम्झिए। उनले लेखनीमा तारिणीप्रसाद कोइरालाले आफूलाई ल्याएको बताउँदै सम्मानित भएकोमा खुशी व्यक्त गरे।

अर्का सम्मानित व्यक्तित्व शर्माले सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै भने, ‘मेरो पूजा अभिव्यक्तिको काम हो। मेरा भगवान् मेरा साथीहरू हुन्।’

पुरस्कार संस्थापकमध्येबाट रिता केसी कंडेलले सम्मान कसरी स्थापना गरियो भन्नेबारे बताइन्।

अग्रज साहित्यकार पवन आलोकले धन्यवाद व्यक्त गरेको उक्त कार्यक्रमको अध्यक्षता नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले गरेका थिए। कार्यक्रमको सहजीकरण मधु पाठक तथा स्वागत प्रकाश घायलले गरेका थिए।

नेपाली साहित्यमा ६० वर्ष उमेर पुगेका, उत्कृष्ट लेखनीमा निरन्तरता दिइरहेका स्रष्टालाई उक्त सम्मान प्रदान गरिने गरिएको समाजका अध्यक्ष  रोदनले बताए।

२०८० मा स्थापना गरिएको उक्त सम्मानबाट, अग्रज कवि एवं गीतकार कालीप्रसाद रिजाल २०८१ मा सम्मानित भैसकेका छन्।

प्रकाशित: २५ फाल्गुन २०८२ ०९:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App