‘जीवन भ्रम हो सिमोन’ शीर्षक नै यति आकर्षक छ कि म पहिला लेखकको यो धारावाहिक रूपमा अनलाइन पत्रिकामा आउँदा नछुटाई पढ्थें। अहिले पुस्तकको रूपमा पाएको यो कृतिप्रति प्रथम त लेखकलाई अनेकौं बधाई भन्छु। यो कृति कोमल भावमा आफ्नै पाराले गन्थन गरे जसरी लेखिएको छ। सिमोन पात्रलाई सम्बोधन गरेर कुरा गरे जसरी लेखिएको यो कृति पाठकले पढ्दा नजानिँदो गरी अनेक व्यक्तित्वसँग भेट्न पुग्छन्।
खास गरी नेपाल अझै धेरै त दार्जलिङ सिक्किमतिरका साहित्यिक व्यक्तित्वसँग भेट हुन्छ पाठकको यस कृतिमा। मनप्रसाद सुब्बा कृतिकारबारे लेख्छन्, ‘शरद प्रधान एउटा नेपाली साहित्यको यस्तो जग हुन्। उनी साहित्य पढ्ने मात्रै होइन उनी साहित्यको स्वरलाई मसिनरि सुन्छन्। साहित्यको स्वाद चाखेर शब्दध्वनिलाई आफ्नो निजी स्वरमा सुनाउन खप्पिस छन्।’
वास्तवमा यो कृति पढ्दा उनको मधुर आवाजमा सिमोनसँग गरेको वार्तालाप मिठो ध्वनिमा पाठकको कानमा गुन्जिन्छ। म यो कृति पढिरहँदा लेखकसँगै सिमोनका कुरा लुकेर सुनेझैं अझै सुनिरहूँ अझै ती व्यक्तित्वहरू नजिकबाट चिन्न सक्छु कि भनेर कृति नसकिंदासम्म लेखक र सिमोनसँग छुट्न गाह्रो परिरहेको थियो।
लेखकले चयन गरेकाे सिमोन काल्पनिक पात्र नभई एक चर्चित लेखक ‘द सेकेण्ड सेक्स’ की लेखिका हुन्। यो कृति नारीवादी दर्शनको अत्यन्त प्रभावशाली कृति मानिन्छ। लेखकले सिमोन पात्र अत्यन्त सही पात्रसँग मनोभाव खोलेका छन्। शरद प्रधानको ‘जीवन भ्रम हो सिमोन’ उनको दोस्रो कृति हो। उनको पहिलो कृति ‘स्मृति विम्व’ हाे।
जीवन भ्रम हो सिमोनमा अगमसिंह गिरीको कवितालाई पाठकमाझ ल्याएका छन् उनले प्राय: जति साहित्यिक व्यक्तित्वको चर्चा गरेका छन् उनीहरूका गहन रचनालाई यो कृतिमा समावेश गरेका छन्। हामी पाठकलाई उनी व्यक्तित्वहरूको रचनासँग साक्षात्कार गराएका छन् यो नै उनको सबल पक्ष देखिन्छ यो कृतिमा।
उनी अगमसिंहको कविताबाट भन्छन्, ‘गालाका रगतहरू सुकिसकेछन्, आँखाका ज्योति सब हराइसकेछन्, तिमी त रुँदारुँदै निदाएको बालक जस्तो...’ उनी लेख्छन् धेरै दिनपछि भेट्न जाँदा तिमी त नचिनिने भएछौ।’
यति मिठो गरी लेखेका छन् कि शब्दमै हराउँछन् पाठकहरू। ‘तिमीलाई थाहा छ ममा कथा लेख्ने न क्षमता छ न शिल्प, हुन त प्रत्येक मान्छेको जीवनमा कथा हुन्छ, व्यथा हुन्छ सिमोन।’
यसरी लेखिएका शब्द छिचोल्दा मन भावुकताले भरिन्छ। उनका रचना काव्यिक छन् कताकता पाठक स्वयं हराउन पुग्छन्। उनले हरिभक्त कटवाल, इन्द्रबहादुर राई, अम्बर गुरुङ, भूपि शेरचन, शंकर लामिछाने जस्ता हस्तिहरूको रचना सिमोनसँगको कुरै कुरामा राखिदिएका छन्। पाठकले एकएक गरी यस्ता व्यक्तित्वको रचना गहन गरी अध्ययन गर्न पाउनु साँच्चै धन्यवादका पात्र छन् लेखक।
गोपाल योन्जनको गीतले निराशावादीलाई सफलताको पछि लाग्ने प्रेरणा दिएको गीत उनले उल्लेख गरेका छन् ताकि पाठकहरू पनि यसबाट लाभान्वित बनून्। सो गीतका हरफ यहाँ उल्लेख गर्न उचित ठानें, ‘भूल हो तेरो भागिहिँड्नु जीवनदेखि डराएर, यहाँ जिउनेहरूले सबथोक पाउँछन् मर्नेहरू सब फालिन्छन् ...संसारसँगै तँ घुम्दै जा अनि सारा संसार तेरै हो उड्दै छुन सकिस् भने जूनतारासम्म तेरै हो।’
यस्ता कालजयी गीतहरूले मानिसलाई बाँच्ने उत्प्रेरणा दिन्छ। यही र यस्तै थुप्रै सकारात्मक पाटाहरूलाई सिमोनसँगको एकल वार्ता गरेर पाठकलाई झकझकाएका छन् लेखकले।
लेखक आफैँ एक गम्भीर र सकारात्मक ऊर्जा दिन सक्षम कलमजीवी हुन्। जबदेखि मैले उनलाई साहित्यिक यात्रा साहित्यिक पाटाबाट चिनें उनीसँग त्यो अरू पारिवारिक व्यक्तिगत कुनै निकटताबाट मैले अहिलेसम्म उनलाई बुझ्ने मौका पाएकी छैन तर साहित्यिक पाटाबाट जति बुझें उनी साहित्यमार्फत उनलाई बुझ्दा उनी सरल स्वभाव र अनुजलाई माया गर्ने व्यक्तिको रूपमा पाएकी छु। उनको रचना बाक्लो गरी पढ्ने मौका नपाए पनि जति पढें त्यति रचनामा उनका समाजप्रतिको चासो, जीवन दर्शनप्रतिको चासो, एउटा व्यवहारिक पाटो जो समाजलाई सकारात्मक उर्जा दिने हुन्छ ती कुराहरू गहन गरी रचनामा पोखिएका हुन्छन्।
उनी रचनामा प्रश्न गर्न पनि पछि हट्दैनन्। उनी भन्छन्, ‘हरेक वर्ष कवि गिरी जयन्ती समारोह मनाएर हामी के प्रमाण गर्न खोजिरहेछौं? हो उनको प्रश्न जायज छ भन्ने ठान्छु। इन्द्रबहादुर राईले आफ्नो लेख डायरीमा तीन प्रविष्टि गिरीमाथि लेखेका छन् ‘गिरीको कविता भोटे बाघको चित्र जस्तो हुन्छ जसले पनि बनाउन सक्ने।’ भन्नुको तात्पर्य अति सरल अनि अति गहन।
लेखकको यो कृतिमा शीर्षकहरू नै यति मोहक र काव्यिक छन् कि शीर्षक पढेर नै आलेख पढ्न छुटाउन मन मान्दैन। उनी शीर्षकमै आफ्ना भाव छरपस्ट पोखेका छन्।
जस्तै: ‘सिमोन, मलाई बाटो बनाउँदै हिँड्न रहर लाग्छ।’ पाठकले शीर्षक पढ्दा नै बाटो बनाउँदै हिँड्ने कस्तो रहर रहेछ त भनेर आफैँसँग प्रश्न गर्छ र उत्तरका लागि यो उनको लेख नपढी धरै छैन। यस किसिमको आकर्षण छ शीर्षकमै। सिमोनलाई लेखिएको पत्रसंवाहक बनेको छ पाठकको निम्ति।
शरद प्रधानले एउटा प्रेमिकालाई पत्र लेखे जसरी सूक्ष्म तरिकाले पाठक मनभित्र प्रवेश गरेर नेपाल भारतका एकएक हस्तिहरू चिनाएका छन्।
उनी लेख्छन्, ‘म निर्धो भएँ सिमोन। मलाई माफ गर’ कति मिठो गरी लेखेका छन् पाठकलाई कौतुहल जगाउँछन् उनी। कसरी उनी निर्धो भएछन् पाठकलाई अवश्य लाग्छ। उनी यसरी लेख्छन्, ‘नेपालमा पनि धेरै साहित्यकार छन् रोगले च्यापेर थला पर्दा पनि हतास मनस्थितिमा पनि आफ्नो स्वविवेक गुमाएनन्।’
उनले यसरी पारिजातको ‘जीवन एक बेवारिस मृत्युको मुचुल्का’ कविताबारे पारिजातलाई उनको यथार्थ मनस्थितिबारे पाठकलाई अवगत गराएका छन्।
देवेन सापकोटाको पर्याकविता, पर्याकथासंग्रह होस् वा नियात्रासंग्रह वा गोठाले कवि कविता उनको ‘बुढी’ कविता होस् पाठकले यो कृतिभित्र अनेक हस्तिको रचनामा आफूलाई डुबाउन पाउँछ।
अनेक कृतिको नामसहित अनेक अब्बल साहित्यकारहरूको रचना एउटै कृतिभित्र समेटेर पाठकलाई उनीहरूसामु उभ्याएर अधिक रचना रसास्वादन गराएका छन् कृतिकारले।
सत्र शीर्षकमा उनेका अनेक फूलका थुँगा जसरी एउटै कृतिमा माला उनेका छन्। तत्काल गत भदौको जेन-जी घटनादेखि देवकोटा र किन यौनसाहित्य कम लेखिन्छ सिमोन जस्ता कुरा उनी सिमोनसँग प्रेमका कविताका‘ एकल वार्ता गर्छन् उनी आफ्नो असन्तुष्टि पनि व्यक्त गर्छन् ‘नेपाली समाजमा किन वर्जित छ यौन विषय।
यस्ता खाले प्रश्नसँग घोत्लिएका छन् लेखक। उनले इतिहास खोतलेका छन्। जब एघारौं शताब्दीमा मुसलमानहरूको शासनदेखि रासनसम्म वर्चस्व बढ्यो यौन उदारवाद पुस्तक र टुँडालमा मात्र सीमित रह्यो तर नेपालमा भने यौनसाहित्यको स्रोत थाह नपाए पनि मल्लकालमा पशुपति, वसन्तपुर र भक्तपुरका कैयन् मन्दिर र टुँडालमा यौन क्रियाकलापका चित्रहरू खोपिएको उल्लेख गरेका छन्।
कति उपन्यास दशकौंसम्म प्रतिबन्धित रहेको कुरा उजागार गरेका छन्। चानचुने मेहनतले यसरी इतिहास उजागार गर्न सहज छैन तर लेखकले सिमोनसँग सरल भाषामा कुरा गरेर पाठकलाई इतिहास बुझाएका छन्। निकै रोचक कृति रहेको छ ‘जीवन भ्रम हो सिमोन।’
लेखकले अनेक व्यक्तित्वको प्रकाशित रचनाहरू निस्किएका पत्रिका र पूर्णाङ्क सहित थुप्रै लेखकबारे लेखेका छन्। यसरी थुप्रै व्यक्तित्वको प्रकाशित पत्रिका र पूर्णाङ्कसहित यही एउटै कृतिमा लेख्नुभन्दा त्यसलाई अर्को कृति वा कुनै धारावाहिक तरिकाले कुनै पत्रिकामा प्रकाशित गरेर पाठकमाझ पुर्याएको भए पाठक अझै लाभान्वित हुने थिए भन्ने लाग्यो मलाई।
अनुसन्धान विमर्श नेपालले २०८३ मा प्रकाशित गरेकाे १२८ पृष्ठको ‘जीवन भ्रम हो सिमोन’ को मूल्य चार सय असी मात्र छ।
प्रकाशित: ११ आश्विन २०८३ १२:१९ आइतबार





