३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

घृणा होइन प्रेम गरौं

निन्दा, विरोध, पूर्वाग्रह, लोभ, क्रोध, घृणा र हिंसाले घर बनाउँदै गएको वर्तमान समाजमा प्रेम ओझेल परेजस्तो लाग्छ। हरेक नकारात्मकतालाई प्रेमले जित्न सकिन्छ। प्रेमकै माध्यमबाट सकारात्मकता पनि आर्जन गर्न सकिन्छ।

‘प्रेम’ शब्द उच्चारणमै मनभरि एक किसिमको उज्यालोपन फैलिन्छ। आनन्द र ऊर्जाको अनुभूति हुन्छ। त्यो उज्यालोपन र ऊर्जा वसन्तको कोमल घामजस्तै हुन्छ, जसले हृदयलाई न्यानो बनाउँछ। प्रेम केवल अनुभूत गर्न सकिने अमूर्त भावना मात्र होइन, यो एउटा गहिरो सौन्दर्य पनि हो। यसले जीवनलाई अर्थ दिन्छ, साथ दिन्छ र अनन्त उत्साह प्रदान गर्छ।

भनिन्छ, जहाँ प्रेम गहिरो हुन्छ त्यहाँ शब्द होइन, भावले नै सबै थोक व्यक्त गरिदिन्छ। जब कुनै दुई मनहरू प्रेममा बाँधिन्छन्, तिनका आँखाको भावले नै हजारौं शब्दको भाव व्यक्त गरिदिन्छ। प्रेमिल आँखाहरूको चमकमा क्यानभासका अनुपम रङहरूको सम्मिश्रण पाइन्छ।

प्रेमलाई बुद्धले पनि निकै महत्त्व दिएको पाइन्छ। बुद्धले प्रेम, करुणा र परिवर्तनशीलतालाई महत्त्व दिएको उनका उपदेशहरूमा पाइन्छ।

आजको युगमा प्रेम केवल व्यक्तिगत सम्बन्धको सीमामा बाँधेर पुग्दैन। प्रेमको वास्तविक अर्थ व्यापक भएजस्तै यसका सीमा पनि व्यापक बनाइनुपर्छ। प्रेम शान्तिको स्रोत हो, ऊर्जाको केन्द्र हो र सकारात्मकताको मूल हो। तर अहिलेको समाजमा प्रेम वास्तविकता भन्दा विकृत भइरहेको छ। प्रेमको स्थानमा घृणा, ईष्र्या र नकारात्मकता बढ्दै गइरहेको छ। यसलाई सकारात्मकतामा बदल्न पनि प्रेमलाई फैलाउन जरुरी छ।

प्रेम के हो? यसको कुनै सटिक परिभाषा छैन। त्यसैले यो व्यापक छ। कुनै परिभाषामा कैद छैन प्रेम। साँच्चै भन्ने हो भने न कुनै रङ छ, न कुनै वस्तुपरक स्वाद, केवल एउटा अनुभूति, अस्तित्वहीनतामै एउटा बलियो अस्तित्व बोकेको अजीवको विषय हो - प्रेम।

कसैका लागि कसैको मुस्कानमै प्रेम, आवाजमै प्रेम, हेराइमा प्रेम, स्पर्शमै प्रेम, मौनतामै प्रेम। यतिसम्म कि ‘प्रेममा शरीर अप्रासंगिक छ र?’ यस अर्थमा अनुमान लगाउन सकिन्छ– प्रेम भनेको अनुभूतिको विषय हो। प्रेमबिना को बाँच्न सक्छ दुनियामा? प्रेम छ र त श्वास छ, प्राण छ। प्रेम छ र त जीवन छ।

अहिले प्रेमको सप्ताह चलिरहेको छ, प्रणय दिवस। पछिल्लो समयमा नेपालमा पनि यो दिवस मनाउनेको संख्या बढ्दो छ। यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक–अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ। मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु अन्यथा होइन। प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो।

प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ। जिन्दगीको गति र दिशा पत्ता लगाउन सक्ने शक्ति हुन्छ सच्चा प्रेममा। विगतमा मन पराएको मान्छेलाई चिठीपत्रमार्फत आफ्नो मनको कुरा लेखी पठाउने चलन थियो तर पछिल्लो समय प्रविधिको विकाससँगै मन पराएको मान्छेलाई क्षणभरमै मनको कुरा सुनाउन, भन्न सकिने अवस्था रहेको छ। एकअर्कामा प्रेम हुनु जरुरी छ। सच्चा प्रेमीले सधैं भलो चाहन्छ। प्रेमले जीवन जिउन सजिलो बनाउँछ। फूलका साथै विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम मिठो र दिगो हुन्छ।

अहिले वसन्त पनि चलिरहेको छ। वसन्त शिशिर र गृष्मबिच आउने तथा ६ वटा ऋतुहरूमध्ये मोहक ऋतु हो। वसन्तले बहार ल्याउँछ भनिन्छ। वसन्त ऋतुमा प्रकृतिको बहार आउँछ। हिन्दु धर्मको महान् ग्रन्थ गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई ‘म ऋतुहरूमा वसन्त ऋतु हुँ’ भनेका छन्।

पौराणिक तथा आधुनिक कविहरूले वसन्त ऋतुमाथि सयौं कविताहरू लेखेका पाइन्छन्। वसन्तमा न गर्मी, न चिसो ठिक्कको मौसम हुन्छ। प्रकृतिले नौलो काँचुली बदल्छ। यस ऋतुमा सबै बोटबिरुवाहरूको पुरानो पात झर्छ र नयाँ पात पलाउँछ। जताततै हरियाली हुन्छ। यस ऋतुलाई ऋतुराज पनि भनिन्छ।

वसन्तका बेला मन त्यसैत्यसै पुलकित भएर आउँछ। वसन्त ऋतुको जताततै विशेष गुणगान हुनुको कारण पनि पूरै प्रकृति आकर्षित देखिनु हो।

भनिन्छ, वसन्त मन लोभ्याउने ऋतु हो। यो प्रकृतिको यौवनावस्था पनि हो। यौवनावस्था कसलाई मन नपरोस्। आध्यात्मिक भाषामा वसन्त ऋतुमा पञ्चतत्त्व (पृथ्वी, वायु, जल, आकाश र अग्नि) ले आफ्नो प्रकोप छाडेर सुहाउँदो रूपमा प्रकट हुन्छन्। आकाश स्वच्छ हुन्छ। वायु सुहाउँदो हुन्छ। अग्नि (सूर्य) को ताप ठिक्कको हुन्छ। जल सुखदायक हुन्छ।

प्राचीनकालमा कसैप्रति आफ्नो प्रेम र आकर्षणबारे भाव व्यक्त गर्नका लागि यो ऋतु अनुकूल मानिन्थ्यो। आफ्नो प्रेमभाव सम्बन्धित व्यक्तिसामु व्यक्त गरेर उत्सव मनाइन्थ्यो।

त्यो बेला वसन्त ऋतुलाई स्वागत गर्न माघ महिनाका पूरै पाँच दिन एउटा ठुलो उत्सव नै मनाइने गरिन्थ्यो। यस उत्सवमा विष्णु र कामदेवको पूजा हुन्थ्यो। पुराणहरू तथा अनेक काव्यग्रन्थहरूमा अलग–अलग तरिकाले यसको चित्रण मिल्छ। कामदेवको उत्सव मनाउँदा बिचमा कामदेवको मन्दिर हुन्थ्यो। स्त्रीपुरुषहरू जम्मा भएर फूलहरू छानेर माला बनाउँथे। एक–अर्कामाथि अबिर, कुमकुम लगाउँथे र नृत्य–संगीत आदिको आयोजना गर्थे। पछिल्लो समय वसन्तोत्सवको रूप बदलियो र होलीका रूपमा मनाइन थालिएको छ।

प्राचीनकालमा महिलाहरूले यस उत्सवको दिन आफ्ना पतिको कामदेवका रूपमा पूजा गर्थे, किनभने कामदेव र रतिले सर्वप्रथम मानव हृदयमा प्रेम र आकर्षणको सञ्चार गरेका थिए। यही प्रेम र आकर्षण नै पतिपत्नीको अटुट प्रेमसम्बन्धको आधार बन्यो। सन्तानोत्पत्तिको माध्यम बन्यो। पौराणिक कथाअनुसार वसन्तलाई कामदेवको पुत्र मानिएको छ। यस ऋतुलाई कामदेवजस्तै गुण भएको मान्नुको कारण हो– कामदेवमा यति धेरै कामशक्ति थियो कि उनले एकपटक भगवान् शिवमा समेत आकर्षणको सञ्चार गरेका थिए।

प्रेम जताततै छ। प्रेम प्रकृति, फूलहरूको सुगन्ध, नदीनालाहरूको कलकल बहाव, हावाको कोमल स्पर्श जताततै छ। एउटा चराले अर्को चरालाई बोलाएको सुमधुर आवाजमा प्रेमको संगीत सुसेलिन्छ। मुस्कुराएको बेलाको शिशुमा प्रेमको पवित्रता झल्किन्छ। प्रेममा त्यस्तो शक्ति छ, जसले जीवनको कठोरतम पाटोलाई पनि न्यानोपनले भरिदिन्छ। प्रेमको गहिराइमा नयाँ सम्भावनाहरूको उज्यालो लुकेको हुन्छ। प्रेम सधैं सहज हुँदैन - कहिलेकाहीं यसमा आँसु मिसिन सक्छ, पीडा समावेश हुन सक्छ तर आँसुहरू पनि त प्रेमकै एक हिस्सा हुन्, जसले अनुभूतिलाई अझ गहिरो बनाउँछन्।नकारात्मकता, ईष्र्या, घृणा होइन, प्रेमले सकारात्मक समाज निर्माणमा ऊर्जा खर्च गरौं।  

प्रकाशित: २ फाल्गुन २०८२ ०६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App