बित्दै गएको समय
मुटुको भित्री कुनामा
अल्झिएका सपनाजस्तै
चुपचाप हराउँदै जान्छ,
न आवाज गर्छ,
न कुनै गुनासो-
तर जीवनको किताबमा
गहिरा अक्षर छोडेर जान्छ।
झर्दै गएको पात
रुखको काखबाट छुट्टिँदा
सायद रोएको होला,
तर हामीले कहिल्यै सुन्न सकेनौं-
हावासँगै बग्दै
उसले सिकायो,
छुट्नु पनि जीवनकै एउटा सत्य हो भनेर।
अनि, बदलिँदै गएको मान्छे…
हिजो जसले साथ दिने कसम खाएको थियो,
आज उसैको आँखा अपरिचित बनेको छ।
मुस्कानहरू कृत्रिम भएका छन्,
र आत्मीय
कुनै पुरानो तस्वीरमा कैद भएको छ।
यी सबैले सिकाउँछन् -
समय कहिल्यै रोकिन्न,
पात सधैँ हरियो रहँदैन,
र मान्छे सधैँ एउटै हुँदैन।
तर,
यी परिवर्तनका बीचमा
एक कुरा भने स्थिर रहन्छ-
मनको गहिराइमा बसेको
त्यो सानो पीडा,
जसले हामीलाई
अझ मान्छे बनाइरहन्छ…
अझ संवेदनशील,
अझ व्यावहारिक।
प्रकाशित: २८ असार २०८३ ०९:०८ आइतबार





