नेपाल वाङ्मय परिषद धनगढी, कैलालीले लघुकथाकार लक्ष्मीप्रसाद पौडेलकाे ‘प्रश्नोत्तर’ लघुकथासङ्ग्रहको लोकार्पण गरेकाे छ।
संस्थाका कार्यसमिति सदस्य लक्ष्मीप्रसाद पौडेलकाे लघुकथासङ्ग्रह प्रमुख अतिथि ध्रुव मधिकर्मीले पानसमा दीप प्रज्जवलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो।
तत्पश्चात राष्ट्रिय गान बजाइयो र ज्ञातअज्ञात शहिदको सम्मानमा १ मिनेट मौनधारण गरिएको थियो। गोविन्द अर्याल शृङ्खलाले उपस्थित सबैलाई स्वागत गरेका थिए।
परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष भट्ट, प्रमुख अतिथि मधिकर्मी, विशिष्ट अतिथि डा. हरिप्रसाद भण्डारी, हाम्रो लघुकथा केन्द्रका संस्थापक अध्यक्ष लता केसी, कृतिकार पौडेल, अतिथि साझा प्रकाशनका सञ्चालक सदस्य मनोहर लामिछाने, वरिष्ठ लघुकथाकार हरि थापा, वरिष्ठ साहित्यकार डा. अमर शाह, मधुपर्कका सम्पादक दीपक श्रेष्ठ, वरिष्ठ साहित्यकार डा. नवराज रिजाल, गोविन्द अर्याल शृङ्खला, समीक्षकद्वय शेखरकुमार श्रेष्ठ र शेखर अर्याल लगायतले लघुकथा गान बजाएर कृतिको सामूहिक लोकार्पण गरिएको थियो।
विमोचन समारोहमा डा. शेखरकुमार श्रेष्ठ एवं शेखर अर्यालले कृतिमा समावेश ५७ लघुकथाका विविध विषय, शैली, भाषा र परिवेश पक्षमाथि समीक्षात्मक टिप्पणी गरेका थिए।
समीक्षक शेखर अर्यालले ‘प्रश्नोत्तर’मा समाजमा रहेका विकृति र विसङ्गतिको घोर निन्दा गर्दै नैतिक मूल्यमान्यताका विषय जोडदार रूपमा उठाइएको बताए। उनले समाजमा घटिरहेका यथार्थ घटनाहरूलाई लघुकथाका रूपमा प्रस्तुत गरिएको उल्लेख गरे।
अर्का समीक्षक डा. शेखरकुमार श्रेष्ठले कृतिमा रहेका मिथकीय लघुकथामा अझ सुधारको सम्भावना रहेको बताउँदै लघुकथामा रससिद्धान्तको प्रयोगलाई पनि ध्यान दिनुपर्ने धारणा राखे।
अतिथिहरू मनोहर लामिछाने, हरि थापा, डा. नवराज रिजाल, दीपक लोहनी एवं कृतिका प्रकाशक भुँडीपुराण प्रकाशनका केशव पराजुलीले शुभकामना व्यक्त गरेका थिए। कृतिकार लक्ष्मीप्रसाद पौडेलले कृतिको लेखनगत सन्दर्भ एवं आफ्ना सिर्जनात्मक अभिव्यक्ति दिएका थिए।
विमोचन समारोहमा महेन्द्र न्यौपाने, ध्रुवराज थापा, प्रार्थना खनाल, शान्ता तिमिल्सिनाले विमोचित कृतिबाट लघुकथा वाचन गरेका थिए। विशिष्ट अतिथिद्वय लता केसी एव डा. हरिप्रसाद भण्डारीका साथै प्रमुख अतिथि ध्रुव मधिकर्मीले आफ्ना विचार राखेका थिए।
वन्दना घिमिरेले सञ्चालन गरेको सो कार्यक्रममा कृतिकार पौडेलका पारिवारिक सदस्यका साथै धेरै साहित्यकारको उपस्थिति थियो।
प्रकाशित: ८ भाद्र २०८३ ०६:५५ सोमबार





