नियात्राकार निर्मलकुमार आचार्यकाे नियात्रासंग्रह ‘जहाँ छचल्किए भावना’ लोकार्पण भएको छ।
पर्वतीय साहित्य समाज नेपालका अध्यक्ष तथा वरिष्ठ नियात्राकार प्रतीक ढकाल, श्रीओम श्रेष्ठ ‘रोदन’, र प्राडा भरतकुमार भट्टराई लगायतले ‘जहाँ छचल्किए भावना’ काे संयुक्त रूपमा लाेकार्पण गरेका हुन्।
पर्वतीय साहित्य समाज नेपालका अध्यक्ष नियात्राविद् ढकालले यात्रा गर्नु विश्वविद्यालयको शिक्षाभन्दा ज्ञानवर्द्धक भएकाे र आचार्यको कृति उत्तिकै ज्ञानवर्द्धक भएकाे बताए।
यस्तै नियात्राकार ‘रोदन’ले ‘जहाँ छचल्किए भावना’ नियात्रा कृति सफल कृति भएकाे बताए। उनले नियात्राले आफू सँगसँगै पाठक घुमाउन सफल भएकाे बताए। यसैगरी प्राडा भरतकुमार भट्टराईले कृतिको समीक्षा गर्दै कृति सुन्दर र सुललित बनेको बताए।
नियात्राकार आचार्यले शुभेच्छुक साथीहरूको निरन्तर प्रोत्साहनले नै यो कृति ल्याउन सकेको बताए। पाठकहरूसँग आफ्ना कमीकमजोरी औँल्याइदिन पनि उनले आग्रह गरेका थिए। उक्त कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरि कोइराला लगायतले मन्तव्य प्रस्तुत गरेका थिए।
लाेकार्पित कृति रमिला आचार्य अर्यालले प्रकाशनमा ल्याएकी हुन्। लाेकार्पित कृतिमा २८ नियात्रा सङगृहीत छन्। जहाँ छचल्किए भावना - मा ४ धाम १२ ज्योतिर्लिङ्ग, कैलास, मानसरोवर लगायत नेपाल, भारत तथा चीनका यात्रा क्रममा देखे, भोगे, सुने, जाने, गुने र पढेका विषयवस्तु समेटिएका छन्।
नियात्राकार आचार्य गोरखापत्र राष्ट्रिय दैनिकका पूर्वप्रधान सम्पादक हुन्। प्रथम नेपाली महिला, गर्गगोत्री आचार्य वंशावली (सम्पादन, सहलेखन), सांस्कृतिक सेरोफेरो (निबन्धसङ्ग्रह), मनको ओखती (गीतसङ्ग्रह), मेदिनीस्मृति (योग, ज्ञान र ओखतीमूलो), अग्रणी महिला, सांस्कृतिक सौरभ (सहसम्पादन), बिर्सनै नहुने कृष्णप्रसाद जस्ता कृति प्रकाशित छन्।
प्रकाशित: २३ वैशाख २०८३ १२:२८ बुधबार





