९ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

अन्तिम सन्देश

कथा

विवाह केवल दुई शरीरको मेल होइन, आत्माको सम्बन्ध हो। कहिलेकाहीं जीवनको भिडमा, जिम्मेवारीको बोझमा, अत्यधिक भावनात्मक भिन्नता वा दुरीका कारण मानिस आफ्नो मन अरू कसैसँग बाँड्न पुग्छ।

काठमाडौंको एउटा सामान्य घरमा कमला र रामप्रसादको विवाह भएको दश वर्ष भइसकेको थियो। बाहिरबाट हेर्दा उनीहरूको जीवन भरिपूर्ण देखिन्थ्यो– सुन्दर घर, दुइटा सन्तान, राम्रो व्यवसाय तर घरमा भित्रभित्रै सम्बन्ध चिसिँदै गएको थियो। रामप्रसाद बिहानैदेखि व्यवसायमा व्यस्त देखिन्थे। कमला पनि एउटा अस्पतालमा नर्सको काम गर्थिन्, पाँच–छ घण्टा मात्र। उनको प्राथमिकता भनेको घर–परिवार नै थियो। विवाह भएको केही समयसम्म उनीहरूको दाम्पत्य जीवन अरूले हेर्दा पनि निकै राम्रो थियो। बिस्तारै–बिस्तारै काम, घर–परिवार अनि केही समय अस्पतालमै बित्न थाल्यो। रामप्रसादको भने अधिकांश समय व्यवसायकै सिलसिलामा घरबाहिर बित्न थाल्यो। उनले घर र परिवारको जिम्मेवारी के हो भन्ने कुरा बिर्सन थालेका थिए।

कमला र रामप्रसादको सम्बन्ध चिसिँदै गइरहेको थियो। यो कुरा कमलाले स्पष्ट बुझिसकेकी थिइन्। रामप्रसाद बेलुका आउँथे, बिहान फेरि काममा निस्किहाल्थे। कमला भने रातदिन रामप्रसादको प्रतीक्षामा हुन्थिन्। एकदिन, दुईदिन गर्दै समय आफ्नो गतिमा दौडिरहेको थियो। अब त दुवै छोरा–छोरी पनि स्कुल पढ्ने भइसकेका थिए। कमलासँग अब खाली रामको मायाको सम्झना मात्र बाँकी थियो। कमलालाई अलिकति दुःख पर्दा पनि राम धेरै चिन्ता लिएर त्यसको समाधान गर्न लाग्थे। कमलाको खुसीका लागि राम संसार जित्नेसम्म प्रयास गर्थे। विवाहपछि केही वर्षसम्म रामले कमलालाई यति धेरै माया दिएका थिए कि उनले संसारै बिर्सेर आफ्नो जीवन रामलाई सुम्पेकी थिइन्। तर बिस्तारै–बिस्तारै कुन बेला, कसरी राम कमलाबाट टाढा भए, यो उनले थाहै पाइनन्।

अब कमला आफूलाई घर–परिवार अनि अस्पतालमै सीमित राख्न थालिन्। जीवन उनलाई निराश लाग्न थाल्यो। लाउन, खान, कुनै कुरामा पनि उनको इच्छा रहन छोड्यो।

एक दिन साँझ सामाजिक सञ्जाल हेर्दै गर्दा उनले आफ्नो कलेजको साथी आदेशलाई देखिन्। त्यसपछि उनका मनमा कलेजका दिनहरू सरर आउन थाले। कमलाले इनबक्समा एउटा सन्देश पठाइन्। अब त के थियो र, सामाजिक सञ्जालमार्फत उनीहरू एकअर्कासँग नियमित कुरा गर्न थाले। कमलालाई फेरि पुराना दिनहरूको सम्झनाले व्याकुल बनाउन थाल्यो आदेशले।

कमला सम्झिन थालिन्– कलेज पढ्दाका ती दिनहरू। आदेश पढाइमा राम्रो थियो, खेलकुदमा पनि अब्बल। सबैजना उनीसँग मित्रता गाँस्न चाहन्थे तर ऊ भने कमलाकै साथ खोज्थ्यो। बिस्तारै उनीहरूको मित्रता मायामा परिणत भएको थियो। कलेजको लाइब्रेरीदेखि बगैंचासम्मका ठाउँहरू उनीहरूका लागि अत्यन्त प्रिय थिए। उनीहरू मायामा यति गहिरिँदै गएका थिए कि कलेजका साथीभाइ हुँदै घरपरिवारसम्म कुरा पुग्यो। कमलाका आमाबुबाले पनि थाहा पाए।

एकदिन कमलालाई बोलाएर उनका बाबाले सबै कुरा सोधे। जब आदेश श्रेष्ठ भएको थाहा पाए, उनका बाबाले त्यो मित्रता कुनै हालतमा स्वीकार नगर्ने बताए। त्यसपछि कमला र आदेश लुकीलुकी भेट्न थाले। तर कहिलेसम्म र कतिसम्म? बिस्तारै उनीहरूको भेटघाट पनि बन्द हुन थाल्यो किनकि उनीहरू भेटेको खबर बाबाको कानसम्म पुगिहाल्थ्यो। एकदिन त आदेशले ‘हामी भागौं’ पनि भनेको थियो तर कमलाले नै ‘हुन्न’ भनिन्।

आमाबाट पाएको संस्कार उनमा गहिरोसँग बसेको थियो । उनले बुझिसकेकी थिइन्– यो संस्कार, यो रीतिरिवाज, यो जातभातका कारण उनका आमाबुबाले आदेशलाई स्वीकार गर्ने छैनन्। बिस्तारै समय बित्दै गयो। आमाबुबाले उनलाई कलेज जानसमेत रोक लगाउन थाले। अन्ततः कमलाको विवाह रामप्रसादसँग भयो। विवाह भएको केही समयसम्म रामले उनलाई यति धेरै माया गरे कि कमलाले आफ्ना सबै पुराना कुरा बिस्तारै बिर्सिंदै गइन्।

आदेशसँग सामाजिक सञ्जालमा कुराकानी झन् बढ्दै गयो। कुराकानीकै सिलसिलामा कमलाले थाहा पाइन्– आदेशले अहिलेसम्म विवाह गरेका रहेनछन्। यो सुन्दा उनलाई नराम्रो पनि लाग्यो, सायद कताकता मन भारी पनि भयो। अहिले आदेश डाक्टर भइसकेका रहेछन्। धेरै समयपछि कमला फेरि खुसी हुन थालिन्। उनले जीवनलाई सकारात्मक तरिकाले हेर्न थालिन्।

जीवन बाँच्नका लागि मायाको अत्यन्तै ठुलो महत्त्व रहेछ। साथै आफूले गरेका काम, आफ्ना भावना र दिनचर्याको वर्णन सुनेर साथ दिने व्यक्ति पनि चाहिँदो रहेछ। जबदेखि कमलाले आदेशसँग कुरा गर्न थालेकी थिइन्, उनमा धेरै परिवर्तन आएको थियो। अब रामले समय नदिँदा, कुरा नगर्दा पनि उनलाई त्यति फरक पर्न छोडेको थियो। आदेश काठमाडौंमा बस्थ्यो, म पोखरामा तर मायाका दुई शब्दले, हामी टाढा भएर पनि खुसी–खुसी बाँच्न सिकेका थियौं। आदेश पनि मसँग कुरा गर्न पाउँदा खुसी थियो, म पनि खुसी थिएँ।

हामी एकअर्काको फोनमै दुईचार मायाका शब्द साट्थ्यौं। अब त कमलाको दैनिकीमा धेरै नै परिवर्तन आएको थियो। दुवै खुसी थियौं । दिनभरि के–के गरियो, एकअर्कालाई सुनाउँथ्यौं। एकअर्कासँग सुझाव लिन्थ्यौं। यसरी नै खुसी–खुसी दिन बितिरहेका थिए। कमला पनि घरपरिवार व्यवस्थित गर्दै आफ्नो दिनचर्या राम्ररी बिताइरहेकी थिइन्।

तर केही समय भयो, आदेशको फोन अनि सन्देश केही पनि आएको थिएन। कमलाको मन उदास थियो। उनलाई केही गर्न मन लाग्दैनथ्यो। मन सम्हालेर आफ्नो घर अनि अफिस सम्हाल्दै आइरहेकी थिइन्। कहिलेकाहीं आफ्नो पूजा कोठामा बसेर भगवान्सँग गुनासो गर्थिन– ‘हे भगवान्! खुसीको सपना देखाएर फेरि किन निराश बनायौ? मैले फोनमा कुरा गरेको त हो नि, त्यो पनि रामलाई चिन्नुभन्दा अगाडिको साथीसँग। म खुसी थिएँ, सुखी थिएँ। किन निलो आकाशमा कालो बादल छाएजस्तै मेरो जीवनमा कालो औंसीको रात बनाइदियौ?’

यति भन्दै कमला पूजा कोठामै रुन्थिन्। उनको पीडा सुन्ने कोही थिएन। श्रीमान् घरमा हुँदा कि सामाजिक सञ्जालमा व्यस्त हुन्थे, कि टिभी हेर्थे, नभए चुपचाप मुख बिगारेर बसिरहन्थे। फेरि कमला आफैंसँग भन्थिन्– ‘मैले त यो सबै कुरा स्वीकार गरिसकेकी थिएँ। किन आदेशलाई मेरो जीवनमा फेरि ल्यायौ ? अनि फेरि किन खोस्यौ?’

कमलाको मनमा फेरि अनेक कुरा खेल्न थाले। ‘ऊ कतै बिरामी त होइन? कतै दुर्घटनामा त परेन?’ यस्ता नचाहिने कुरा मनमा आउन थालेपछि कमला झन् चिन्तित हुन थालिन्। अनि सोच्थिन्– ‘हे ईश्वर! मलाई भेट्नु वा कुरा गर्नु छैन तर उसलाई निरोगी र स्वस्थ राख। उसले त मलाई बिर्सन नसकेर आजीवन एक्लै बस्ने प्रण गरेको रहेछ।’

त्यसपछि फेरि कमला सोच्न बाध्य हुन्थिन्– ‘आदेश मेरो मायाको यादमा डुबेर जिन्दगी बिताउने अनि म चाहिँ उसलाई बिर्सेर आफ्नो बेग्लै संसार बनाउने? धिक्कार छ मलाई!’

फेरि कमलाका दिनहरू उस्तै हुन थाले– दुःखी अनि चिन्तित। जीवन बाँच्ने कुनै इच्छा नै नभएकोजस्तो लाग्थ्यो। उनी मेसिनझैं भएकी थिइन्। केही दिनदेखि उनी घरबाट बाहिर निस्केकी थिइनन्। फोन दिनमा दशचोटि खोलेर हेर्थिन्, उल्टाइ–पल्टाइ गर्थिन्– घण्टी सानो छ कि, फोन चार्ज छैन कि भनेर। फोनलाई उनी आफूसँग त्यसरी च्यापेर राख्थिन्, जसरी कुनै आमाले आफ्नो सानो बच्चालाई च्यापेर राख्छिन्।

कमला बिहानै उठेदेखि घरको काममा आफूलाई व्यस्त राख्न थालेकी थिइन्। अस्पताल नगएको पनि धेरै दिन भइसकेको थियो। चिन्तित अनुहार, रसिला आँखा अनि डिल वरिपरि निलो घेरा! तर उनको घर–परिवारले कहिल्यै सोधेन, ‘तिमीलाई सन्चो छैन?’

बच्चाहरू सानै थिए। श्रीमान् रामप्रसादसँग न मन थियो, न समय। विवाह गरिसकेपछि महिलाहरू बिरलै त्यस्ता भाग्यमानी हुन्छन्, जसलाई श्रीमान्ले धेरै माया अनि सम्मान दिएका हुन्छन्।

एकदिनको कुरा हो। कमलालाई अस्पतालबाट फोन आयो। नयाँ अस्पताल इन्चार्जले सबैको कागजपत्र हेर्दा उनको पनि खोजी भएको रहेछ। ‘तिमी आऊ’ भनेर खबर आयो। अर्को दिन उनी तयार भएर अस्पताल गइन्। खुरुखुरु काम गर्न थालिन्। अस्पतालका बिरामीहरूले पनि ‘किन नआएको? के भयो?’ भन्दै प्रश्नमाथि प्रश्न गर्न थाले। प्रायः बिरामी भन्थे, ‘तपाईंको धेरै माया लाग्छ, तपाईं आउनुस् है।’

सबैको माया पाएर उनी केही खुसी पनि भइन्। लन्च खाइसकेपछि आफूसँग भएका कामका कागजपत्र लिएर नयाँ नियुक्त भएका डाक्टरको कोठामा गइन्। ढोका ढकढक गरी भित्र पसिन्। डाक्टर ढोकातिर पिठ्युँ फर्काएर कुनै फाइल हेरिरहेका थिए। उनले भने,  ‘मिस कमला, बस्नुस्।’

कमला चुपचाप बसिन्। त्यो स्वर उनलाई कताकता सुनेकोजस्तो लाग्यो– उनको मुटुले चिनेको एउटै स्वरजस्तो। अनुहारभरि अनेक तरंग उठ्न थाले। ‘यी सबै भ्रम हुन्’ भन्दै आफूलाई सम्हालेर उनी बसिरहिन्। लगभग दश मिनेट बितिसकेको थियो। डाक्टर अझै फाइलमै व्यस्त थिए।

अन्ततः डाक्टर घुमेर बोले, ‘माफी चाहन्छु, यो अलि जरुरी थियो। ल, भन्नुस् मिस कमला...’

जसै उनी घुमे, दुवै अकमक्क परे। केही बोल्न सकेनन्। कमलाको आँखाबाट बलिन्द्र आँसु बग्न थाल्यो। आदेश पनि आफूलाई सम्हाल्न सकिरहेका थिएनन्। झन्डै दुई दशकपछि दुई प्रेमीको भेट भएको थियो। अब आँसु पीडाको होइन, खुसीको बगिरहेको थियो।

केही बेरपछि दुवै शान्त भए। अनि एकैचोटि बोले– ‘यहाँ कसरी?’

कमलाले भनिन्– ‘म यहीं नर्स हुँ।’

आदेशले मुस्कुराउँदै भने, ‘म यहाँको नयाँ डाक्टर।’

दुवै बसेर कलेजका कुरा, मायाका कुरा, कमलाको विवाहपछिका दिनहरू, डाक्टर पढ्दाका संघर्ष अनि कमलाको प्रेरणाले आफू डाक्टर बनेकोसम्मका धेरै कुरा आदेशले सुनाए।

जब उनीहरूका कुरा सकिए, कमला झसंग भइन्। उनका आँखा घडीमा पुग्यो– साँझको सात बजिसकेको थियो। उनी हतारिँदै उठिन्– ‘ओहो ! ढिला भइसक्यो, म अब जान्छु।’

त्यतिबेलासम्म आदेशको अनुहारको रङ फेरिइसकेको थियो। उनलाई अझै धेरै कुरा गर्न मन थियो। भावविह्वल आँखाले उनी कमलालाई हेरिरहे। कमला पनि बसिरहन चाहन्थिन् किनकि धेरै वर्षपछि उनले आफ्नो जीवनमा यति धेरै शान्ति महसुस गरेकी थिइन्। उनलाई आफ्नो अधुरो जीवन फेरि पूरा भएजस्तो लागेको थियो।

अझै पनि आदेशका लागि कमला केवल माया मात्र होइनन्, जीवन नै थिइन्। आदेशबाट कमला कहिल्यै टाढिन सक्दिनन् भन्ने भावना उनको मनमा अझै जीवित थियो तर सत्य यही थियो - अब कमला उनकी थिइनन्।

कमला हतारिँदै घर फर्किइन्। आदेश अझै पनि उनको सम्झनामा थिए। उनको मन अलिअलि कताकता खुसी थियो– अब आफ्नो मायासँग सधैं भेट हुनेछ भन्ने आशाले।

दिन बित्दै गइरहेको थियो। कमला र आदेशको सधैं भेट हुन्थ्यो। रामले कमलाको दैनिक जीवनमा चित्त दुखाउँदा, आदेशले उनलाई यति धेरै माया दिन्थे। घरका हरेक चित्त दुखेका कुरामा उसलाई सम्झाउँथे, सहयोग गर्थे। यसरी दिनहरू खुसी–खुसी बितिरहेका थिए।

दैवले पनि सधैं खुसी मात्र कहाँ दिन्छ र?

एकदिन हतार–हतार अस्पताल जाँदै गर्दा कमलालाई मोटरसाइकलले ठक्कर दियो। त्यसपछि उनलाई केही थाहा भएन। जब होस आयो, एक हप्ता बितिसकेको थियो। उनी उठ्न खोज्दै थिइन् तर शरीरले साथ दिएन। यसो फर्किन खोज्दा उनले छटपटाएर महसुस गरिन्– उनको एउटा खुट्टा अब रहेनछ।

त्यो थाहा पाउनेबित्तिकै उनी चिच्याएर रोइन्। संसार नै अन्धकार बनेजस्तो लाग्यो ।

एकातिर आदेश थिए, अर्कातिर कमला नजिकै उनका छोराछोरी बसेका थिए। त्यही बेला रामले उनको हात समात्दै भने– ‘नआत्तिनु कमला, हामी सबै तिमीसँगै छौं। डाक्टर आदेशलाई धन्यवाद देऊ, तिम्रो यो जीवन उनकै देन हो। अब तिमी ठिक छौ। जीवनभरि म तिम्रो सारथी भएर रहनेछु। अब म तिमीलाई एकछिन पनि छोड्दिनँ। मैले गरेका गल्ती सबै बुझेको छु। मलाई माफ गर कमला!’

रामको आँखाबाट निरन्तर आँसु झरिरहेको थियो। उनी फेरि बोले– ‘अब परिवार र तिमीबाट टाढा हुन सक्दिनँ। मेरो पहिलो प्राथमिकता अब तिमीहरू नै हौ।’

त्यो क्षण उनीहरू एकअर्काको अँगालोमा बाँधिएका थिए।

आदेश चुपचाप ती दृश्य हेरिरहेका थिए। हल्का मुस्कान लुकाउँदै उनले भने - ‘म  अहिले जान्छु...।’

रामको माया देखेर कमला केही असहज भइन् तर कताकता त्यो यथार्थले उनको मनलाई पनि छोइरहेको थियो। उनका आँखाबाट पनि आँसु बगिरहेको थियो।

अर्को दिन कमलाले आदेशलाई एउटा सन्देश पठाइन् -‘केही प्रेमहरू जीवनमा पूरा हुनका लागि होइनन्, सम्झनाका लागि आउँछन्। जीवनमा हाम्रो प्राथमिकता के हो भन्ने कुरा हामीले बुझ्नुपर्दोरहेछ। म माफी चाहन्छु। म फेरि आफ्नो जीवनमा फर्किंदै छु। तिम्रो जीवनलाई शुभकामना!’

प्रकाशित: ९ जेष्ठ २०८३ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App