चलचित्र ‘लालिमा’ को टिमले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहलाई नेपाली यौनकर्मी महिलाको मानवअधिकार सुनिश्चित गर्न आग्रह गरेका छन्।
पछिल्लो दुई दशकदेखि यौन व्यवसायमा सम्लग्न महिलाहरूको स्वास्थ्य र मानवअधिकारका लागि काम गर्दै आएको संस्था ‘आस्था–फेथ’की कार्यकारी प्रमुख रिना लामाले पत्र सार्वजनिक गरेकी हुन् । निर्माता कम्पनीले नै बनाएको लालिमाको कथावस्तु पनि यौनकर्मी महिलाको ब्यथा, संघर्ष र मानवअधिकारको कथावस्तुमा केन्द्रित छ ।
कार्यकारी प्रमुख रिना लेख्छिन्,‘यौनकर्मीको मानवअधिकार हननको विषय उजागर गर्न हामीले चलचित्र बनाएका हौँ ।’ उनकाअनुसार फिल्म केबल कथा मात्र नभई हजारौँ यौनकर्मीहरूको आवाज छ ।
रिनाले लेखेको पत्रमा भनिएको छ, ‘यौनकर्मीहरूमध्ये धेरै दैनिक रूपमा दुर्व्यवहार, विभेद र आधारभूत मानवअधिकारबाट वञ्चित हुने गर्दछ । तर उनीहरूको अनुभवहरू नीतिगत बहसमा प्रवेश विरलै पाइन्छ । र जब समायोजित हुन्छन् प्रायः अपराध वा नैतिकताको दृष्टिकोणबाट मात्र गलत रूपमा बुझिने वा प्रस्तुत गरिने गरिन्छ।’
पत्रमा यौनकर्मी महिलाहरुको अधिकार सुनिश्चित गर्न आग्रह गर्दै, राज्यले यी कुरामा ध्यान दिनुपर्ने र उनीहरूको उदारका लागि नीतिगत सुधार आवश्यक रहेको औँल्याइएको छ ।
सबैलाई सम्मान जीवन बिताउन भेदभाव र सीमान्तकृत जीवन बिताइरहेका नागरिकहरूको समेत सुरक्षा सुनिश्चित गर्नु भन्दै लेखिएको पत्रमा भनिएको छ, ‘वास्तवमै समावेशी राष्ट्र निर्माण गर्नु भनेको भेदभाव र सीमान्तकृत जीवन बिताइरहेका नागरिकहरूको समेत सुरक्षा सुनिश्चित गर्नु हो । राष्ट्र तब मात्र बलियो बन्छ जब उसले आफ्ना अति सीमान्तकृत नागरिकहरूको अधिकार र मर्यादाको संरक्षण गर्छ ।’
यो चलचित्र फागुन २९ देखि प्रदर्शनमा छ ।
प्रकाशित: ३ चैत्र २०८२ १४:३० मंगलबार





