राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्र ‘लज्जावती’ को विभिन्न पाँच क्यारेक्टर सहितको पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार एकैसाथ सिनेमाको पाँच पोस्टर सावएजनिक गरेका छन्।
उक्त पोस्तरमा चलचित्र मुख्य कलाकारहरूको फरक फरक अवतार चित्रन गरिएको छ। जसले सिनेमाका मुख्य पात्रको पहिचानसँगै उनीहरूको प्रेम, सम्बन्ध, संघर्ष तथा ग्रामीण परिवेश झल्काएको छ।
एक पोस्टरमा अभिनेता मुकुन भुसाल र अभिनेत्री जानुका विश्वकर्मा रोमान्टिक मुद्रामा देखिएका छन्, जसले सिनेमामा प्रेमकथाको महत्वपूर्ण पक्ष रहेको संकेत गर्छ। अर्को पोस्टरमा मुकुन भुसालको काँधमा श्रीकृष्ण निरौला रमाइलो शैलीमा चढेको दृश्य छ भने जानुका विश्वकर्मा र मेनुका माझी पनि देखिन्छन्। यसले सिनेमामा पारिवारिक सम्बन्धसँगै हास्य र भावनात्मक पक्षलाई पनि समेटिएको अनुमान गर्न सकिन्छ।
अर्को क्यारेक्टर पोस्टरमा श्रीकृष्ण निरौला र मेनुका माझीसँग मुकुन भुसाल गम्भीर भावमा देखिएका छन् । पोस्टरको पृष्ठभूमिले ग्रामीण र सहरी परिवेश दुवैलाई चित्रण गरेको देखिन्छ, जसले सिनेमाको कथा विविध सामाजिक परिवेशमा आधारित हुन सक्ने संकेत दिन्छ।
सबै पोस्टरमार्फत निर्माण टिमले सिनेमाको प्रेम, परिवार, सम्बन्ध र सामाजिक कथावस्तुलाई झल्काउने प्रयास गरेको देखिन्छ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको चलचित्र मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा, विनोद श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ।
निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकायाको चलचित्र आगामी साउन २९ गतेदेखि प्रदर्शनको तयारीमा छ।
प्रकाशित: १३ असार २०८३ १८:०० शनिबार





