३० चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

लाहुरेको गाथाको दस्तावेज ‘किवाहाङ’

पुस्तक

आख्यानमा सबैभन्दा बढी पाठकले पढ्ने विधा हो उपन्यास। सबै उमेरका पाठकहरूको सुरुचिको विषय हो उपन्यास। नेपालमा पहिलो मौलिक उपन्यास वीर चरित्रको प्रकाशन विसं १९६० मा भएको मानिन्छ। यसलाई आधार मान्ने हो भने नेपाली उपन्यासको इतिहासले सवासय वर्ष पार गरिसकेको छ। यो समयभित्र थुप्रै उपन्यासकारहरुले आफ्ना उपन्यास सृजना गरेका छन।

राजकुमार राई प्रवासमा बस्छन्। कर्मथलो उनको हङकङ हो  तर प्रवासमा भए पनि उनी नेपाली भाषासाहित्यलाई माया गर्छन्। पठन संस्कृतिको विकासमा पनि उनको योगदान लोभलाग्दो छ। उनी पुस्तकालय अभियानमा पनि सक्रिय छन्। किवाहाङ उनको पहिलो उपन्यास हो। झट्टै हेर्दा हाम्रो आफ्नो वास्तविकता, तथ्यमा आधारित लाहुरे परम्परा र त्यहाँभित्रको सम्पूर्णतालाई उपन्यासमा समेट्ने राईको प्रयास देखिन्छ। आजभन्दा एक वर्षअगाडि २०८१ कार्तिक १३ गते उपन्यासकारसँग ठमेलमा भेट भएको थियो। उहाँले सप्रेम मलाई किवाहाङ दिनुभएको थियो। विचमा केके भएर,अलिक पछि व्यस्त भएर पढ्ने मौका ढिलै मिल्यो।  

‘उपन्यास भनेकै सामाजिक जीवनको यथातथ्य चित्र हो,त्यसैको आलोचना,जस्तो सामाजिक राजनीतिक जीवन हुन्छ। त्यसको यथार्थ रुप चित्रित हुनाको साथै उपन्यासमा युग सचेतना प्रतिबिम्बित हुन्छ ’भनेर कृष्णचन्द्रसिंह प्रधानले भनेका छन। यो परिभाषालाई राईको उपन्यासले चरितार्थ गरेको छ।

पहिलेपहिले लाहुरे भन्नासाथ भारत जाने प्रचलन थियो र केही नकारात्मक भाष्य पनि उतिबेला बनेको थियो तर अहिले लाहुरे भन्नासाथ विश्वका दर्जनौ देश आउँछन, जहाँ नेपालीहरू साधारण ज्यामी कामदेखि विभिन्न बहुराष्ट्रिय कम्पनीका उच्च ओहोदामा पनि काम गर्छन। र अहिले प्रवासमा व्यापार गर्नेहरूको कमी पनि छैन। यसैले लाहुरेको भाष्यमा उपन्यासले परिवर्तन गरिदिएको जस्तो लाग्छ। प्रवासी नेपालीहरूको विषयमा विभिन्न उपन्यास प्रकाशित भैसकेका छन्। यसै क्रममा राईको यो कृति आएको छ।

३२४ पेजमा समेटिएको उपन्यासले आजभन्दा साठी वर्ष पहिलेको यथार्थता उजागर गरेको छ। यसमा कल्पनाशीलता कम यथार्थता ज्यादा भेटिन्छ। जतिबेला गोर्खालीहरू पहिलो पटक विदेश पुगेर दुख गरे। तिनै गोर्खालीहरूका संघर्षका विभिन्न आयामलाई औपन्यासिकरण गरिएको छ।

शिर्षकीकरणको हिसावले उपन्यास  किराँती भाषामा किवाको अर्थ बाघ र हाङको अर्थ राजा हुन्छ। यो किवाहाङ किराँती पौराणिक पात्र हो। उपन्यासको विषयवस्तु ऐतिहासिक तथ्यको सन्निकट देखिन्छ जहाँ केही कल्पनाशीलता जोडिएको छ।

सर्सर्ती हेर्दा उपन्यासले लाहुरे जाने हाम्रो नेपालीपनमाथि दस्तावेजीकरण गरेको देखिन्छ। व्रिटिस साम्राज्यले आफ्नो फणा विश्वभर फैलाएको बेलामा नेपाली गोर्खालीहरूलाई उनीहरूको सेनामा प्रवेश गराई विभिन्न युद्धमा अग्रणी भूमिका र बहादुरीपूर्वक रणकौशल देखाउनेहरूको कथा चलचित्र जस्तै गरी छर्लङ्ग पार्ने राजकुमारको प्रयास स्तुत्य लाग्छ।

उपन्यासको चरित्र निर्माणको मूल आधार परिवेश हो। पूर्वी विकट पहाडी जिल्ला संखुवासभालाई आख्यान क्षेत्रको रूपमा उपन्यास सुरु गरिएको छ। त्यहाँको अङ्ला गाउँ, मालिङ्टारको समाज आख्यानको प्रारम्भिक क्षेत्र देखिएको छ। त्यसपछि गोर्खा भर्तीको लागि जाँदा इन्डियाको वर्णन छ।

 यसैगरी विभिन्न देश पनि आख्यानक्षेत्र छन्। तत्कालिन परिवेश उपन्यासले समेटेको छ। नेपाल भारत लडाईंमा गोर्खालीले देखाएको बहादुरीको सविस्तार तर रोचक वर्णन पनि उपन्यासले गर्छ। चन्द्र शमसेरले गोर्खाभर्तीका लागि स्वीकृति दिंदा पैसा खाएको जानकारी पनि उपन्यासले दिन्छ। यसले नेपालमा पहिलेदेखि नै कुनै न कुनै रूपमा पद वा शक्तिमा रहनेहरूले आर्थिक चलखेल हुने गरेको तथ्य प्रस्तुत गरेको छ। यसैगरी उपन्यासमा युद्धकथाको अलावा यौन र प्रेमका केही प्रसङ्ग पनि छन्।

हवल्दार बाजेका विभिन्न देशमा भएका युद्धमा भएको सहभागिताको बहादुरीगाथा पनि यहाँ छ। गोर्खाली सैनिकले हरेक युद्धमा आफ्नो ज्यानको बाजी लगाएर भिडेको वीरताको गाथा छ। यो विषयसँगै भोक भोकै, केही खान नपाउँदा विरुवाका मुन्टा खाएको,तिर्खा लाग्दा प्याँस मेट्न आफ्नै पिसाव पिउनुपरेको कुराहरूले मनै हल्लाउँछ। अझै घाइते र अंगभंग हुने गोर्खालीका बढो दर्दनाक व्यथा उपन्यासले बर्हियाएको छ। उनीहरुले समयमै उपचार नपाएको दर्दनाक पीडा छ। गोरा र गोर्खालीबिचको जातीय विभेदको विद्रुप पक्ष दर्शाइएको छ।

यसैगरी उनीहरुले पाउने सेवा सुविधामा विभेद गरिएको तीतोसत्यलाई उपन्यासले ओकलेको छ। उपन्यासको मूलपात्र किवाहाङ पनि त्यही भर्तिमा लामवद्ध भएर विभिन्न युद्धमा सहभागी भएको छ। लाउँखाउँ उमेरको युवावयको उ नेपाली र आफ्नो जातीय संस्कार र संस्कृतिप्रति प्रेमिल छ । श्रद्धा गर्छ तिनको उ। कृतिले विश्वयुद्धको वर्णन गरेको छ । गोर्खाली सैनिकको थुप्रै हताहत भएको प्रसंगले पाठकलाई झस्काउँछ । हवल्दार बाजेका विभिन्न देशमा भएका युद्धहरुका गाथाहरु यहाँ पढ्न पाइन्छ।

उपन्यासले पाठकलाई भावुक बनाउने अरु धेरै घट्ना छन्। आमाको देहान्त भएको तीन महिनापछि मात्र छोराले थाहा पाउनु जस्तो दर्दनाक व्यथा पढ्दा कसको मन थामिएला? हामीलाई विचलित गराउँछ ।

लाहुरेका दैनिकी र तिनका नियतिको कथा मात्र नभएर नेपाली बहुजातीय समाजमा किराँत राईहरुको संस्कार र संस्कृतिलाई उपन्यासले उधिनेको छ । उपन्यास नायकको २८ वर्षलामो गोर्खा पल्टनको जीवनको वरिपरिको कथाहरुमा घुमेको छ ।

चरित्र चित्रण गर्दा नायक सकारात्मक रुपमा गरिएको छ। मर्यादित,आफ्नो जातीय संस्कारयुक्त युवाको रुपमा छ उ।  जस्तो कसैसँग नझुक्ने,इमानमा पक्का,बाघको जस्तो शक्तिशाली किवाहाङकै वरिपरि उपन्यास घुमेको छ। उपन्यासका अन्य पात्रहरुमा हवल्दार बाजे, सान्ड”ा, मनमाया, हाङमाया,कर्णेल पावेल,एली जस्ता पात्रहरुको भूमिका कमजोर छ । उनीहरु यदाकदा झुल्किएका छन्। पात्रहरुलाई जीवन्त वनाउन स्थानीय परिवेश,लवजलाई ध्यान दिइएको पाइन्छ। प्रायः पात्रका चरित्रहरु सहज र स्वभाविक लाग्छन्।

कथानक र चरित्रलाई अनुकूल हुनेगरी परिवेशनिर्माण गरिएको छ। कथाको मूख्य विषयवस्तु युद्धलाई बनाइएको छ। चरित्र निर्माणमा नायककै मात्र वरिपरि ध्यान दिइएको छ । पात्रहरुको चयनमा सिमितता,भाषा र सम्बादको परम्परागत शैली प्रयुक्त भएको पाइन्छ । यसले नेपालको पूर्वको किराँती सौन्दर्यलाई पाठकसामु पस्केको छ ।

वर्णनात्मक कथा,सुललित भाषाशैली,स्थानीय किराँत भाषाका थुप्रै शब्दको प्रयोगले उपन्यासमा रोचकता थपेको छ। यति हुँदा पनि उपन्यासको बैठानमा पाठक कन्फ्यूज्ड हुन सक्छ। कथा अनावश्यक लम्बेजस्तो भान पर्नसक्छ। योबाहेक मेरो जन्मथलो आसपास कोही पनि गोर्खा सैनिकमा भर्ती नभएको हुँदा मजस्तो जिज्ञासु पाठकहरुलाई उपन्यासले धेरै तथ्यवारे जानकारी दिएको छ। मौलिक र मन छुने कथावस्तु भएको, कलात्मकताको लेपन लागेको,आञ्चलिकताको झल्को दिने यो उपन्यास पठनीय छ। यसले नयाँ पुस्तालाई हिजोको गोर्खा भर्तीबारे मात्र नभएर हिजोका पुस्ताको बहादुरीको गाथाबारे जानकारी दिन्छ। सुन्दर औपन्यासिक कृतिको लागि राजकुमार राईलाई हार्दिक बधाई।  

प्रकाशित: २५ चैत्र २०८२ १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App