१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

गीतकार कमलाले ल्याइन् ‘कलम’

गीतकार कमला घिमिरे अधिकारीले सांगीतिक यात्रामा ‘कलम’ लिएर सक्रियताकाे पहिचान बनाएकी छन्।

बलराम समाल मगरको मीठो संगीत र रेयान्स अधिकारीको मधुर स्वरले गीतलाई जीवन्त बनाएको छ।

स्रष्टा घिमिरे अधिकारीकाे आफ्नै युटुब च्यानल हनी बि कमला घिमिरे मार्फत सार्वजनिक भएकाे हाे। रामप्रसाद अधिकारी उक्त गीतकाे संरक्षककाे रूपमा रहेका छन्।

‘कलम’ बालगीतकाे शब्द यस्ताे रहेकाे छ,

हेर्दा सानो फुच्चे फुच्चे, कलम हो नाम मेरो।

ज्ञानगुनका कुराहरू, सिकाउने काम मेरो।

 

सुनेका कुराहरू पक्का हुन्छन् देखेपछि,

भविष्यमा पढ्न मिल्छ राम्रो बनाई लेखेपछि।

त्यसका लागि अत्यावश्यक साधन म बनिदिन्छु,

कापी साथी चाहिन्छ लेखिदिन्छु, भनिदिन्छु।

हेर्दा सानो...

खल्तीमा नि अटाउँछु, झोलामा नि बसिदिन्छु।

ख्याल राख्न नसके हराउँछु, खसिदिन्छु।

सहारामा चल्दछु म, आफ्नै चले बानी छैन।

फुच्चे फुच्चे, तिखो चुच्चे, धेरै ठाँउ चाहिँदैन।

हेर्दा सानो …

थरिथरि विशेषता छन् धेरै काम गर्न सक्छु।

चित्रलाई राम्रो पार्न रेखा पनि भर्न सक्छु।

शब्दलाई आकार दिन पेटभरि हुन्छ।

तिखो चुच्चे भागले कापीलाई छुन्छु।

हेर्दा सानो फुच्चेफुच्चे, कलम हो नाम मेरो।

ज्ञानगुनका कुराहरू सिकाउने काम मेरो।।

गीतकार घिमिरे शिक्षा क्षेत्रमा आबद्ध छिन्। उनका यसअघि साथी, पुतली र मादलको ताल जस्ता दर्जनाै बालगीत रेकर्ड भएका छन्।

गीत, बालगीत, मुक्तक, हाइकु, लघुकथा, गजल आदिमा कलम चलाउने साहित्यकार घिमिरे लमजुङमा जन्मिएर काठमाडौंमा बसोबास गर्दै आएकी छन्।

हाइकुसङ्ग्रह ‘महको महलमा’ (२०७९), बालकवितासङ्ग्रह ‘मामाघर’ (२०७९) र मुक्तकसङ्ग्रह ‘रश्मि’ (२०८०) उनका प्रकाशित कृति हुन्।    

प्रकाशित: २ पुस २०८२ ११:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App