गत असोज २ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘झिँगेदाउ २’ले दोस्रो सातामा पनि दर्शकको उत्साहजनक साथ पाइरहेको छ । पारिवारिक कथा, मनोरञ्जनात्मक प्रस्तुति र कलाकारको अभिनयका कारण चलचित्र दर्शकको रोजाइमा परेको निर्माण पक्षको दाबी छ ।
चलचित्रले प्रदर्शनको पहिलो सातामा करिब डेढ करोड रुपैयाँको व्यापार गरेको वितरकले जनाएको छ । दोस्रो साताको शनिबार पनि विभिन्न हलमा दर्शकको उल्लेख्य उपस्थिति रहेको र मागअनुसार केही हलमा शो संख्या बढाइएको वितरकको भनाइ छ ।
दोस्रो सातामा पनि हलमा दर्शकको चाप देखिएपछि निर्माण टिम थप उत्साहित बनेको छ । पहिलो साताको व्यापारसँगै दोस्रो सातामा कायम रहेको दर्शकको साथले चलचित्रको प्रदर्शनलाई सकारात्मक गति दिएको निर्माण पक्षले जनाएको छ ।
चलचित्र हेरेका दर्शकले यसको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति तथा गीतसंगीतको प्रशंसा गरिरहेका छन् । पारिवारिक सम्बन्धमा आउने झगडा र मनमुटावलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको भन्दै दर्शकले चलचित्र रुचाएको निर्माण पक्षको भनाइ छ ।
चलचित्रमा पारिवारिक सम्बन्धभित्र सामान्य रूपमा देखिने विवाद कसरी ठूलो द्वन्द्वमा परिणत हुन्छ र त्यसले परिवारका सदस्यबीचको सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई हास्य तथा भावनात्मक प्रसंगसँग जोडेर प्रस्तुत गरिएको छ । विशेषगरी जेठानी र देउरानीबीचको झगडाबाट सुरु हुने पारिवारिक कलह चलचित्रको कथाको मुख्य आधार हो ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल र उत्तम केसी, आशा भुसाल लगायतका कलाकारको अभिनय छ ।
पहिलो साताको व्यापारपछि दोस्रो सातामा पनि दर्शकको साथ निरन्तर रहनुले ‘झिँगेदाउ २’को प्रदर्शन अझै बलियो रहने अपेक्षा निर्माण पक्षले गरेको छ ।
प्रकाशित: १० आश्विन २०८३ १६:१४ शनिबार





