७ पुस २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

खेलै खेल हो कहिले ढुङ्गा कहिले पानीको धारमा थियो!

मुक्तक

१) मुक्तक

जिन्दगी पनि सतह झैं जस्तै सरेर जान्छ

सायद इच्छा पनि सुस्तसुस्त मरेर जान्छ

को कहाँ  थिए अनि को आफ्नो नै थिए

सँगै हिँड्ने छाया नि अँध्यारोमा हरेर जान्छ।

२) मुक्तक

काँडासँग त झुल्न मन लाग्छ

हावासँग त हुल्न मन लाग्छ

ढुङ्गा हुँ म छिनाले कुँड्नु मलाई

आकार बनेर खुल्न मन लाग्छ।

३) मुक्तक

पत्थरै भैसके अब चेत अचेतको कुरा नसुनाऊ

रात नै भैसक्यो उज्यालोको कुनै अर्थ नसुझाऊ

छ खुलेआम यहाँ न्याय बलात्कारी हुँदा पनि

मुखै नखोल्ने मुर्कट्टाको अगाडि आँसु नचुहाऊ।

४) मुक्तक

बैगुनी नथान है गुनको कदर गरेको छु

नुनै खाएँ त्यसैले आत्मसात् भरेको छु

ठाडो हुकुम त झैं लाग्छ मन त रुन्छ नै

विमति हैन हाँ मा हाँ मिलाई सरेको छु।

५) मुक्तक

निमित्त मान्छे यहाँ यतिसम्म झर्न नि सक्छन्

नाम र दामका लागि आखिर मर्न नि सक्छन्

नितान्त आफ्नै आत्मरतिका स्तुति गुनगुनाएर

शून्यमा साथ दिनेको मर्यादा हर्न नि सक्छन!

६) मुक्तक

अवसरवादी पो हुन थाल्छन् अवसर खोज्नेहरू।

भुईको साथ पो बिर्सन थाल्छ्न् मै भनी रोज्नेहरू

सायद एकाध शिखरको मातले अहं चढेर होला

विरासत नै भन्न थाल्छन् सिधासाधालाई घोच्नेहरू!

७) मुक्तक

खेलै खेल हो कहिले ढुङ्गा कहिले पानीको धारमा थियो

सपना जित्नकै लागि कुल्ची हिँड्नुपर्ने हारमा थियो

बुझेर थकित नहोऊ निराशाको नाउँ केवल हरेस भनेर

अविरल अविश्राम नै संघर्ष, त्यो जीवनको पारमा थियो।

प्रकाशित: ५ पुस २०८२ १४:४० शनिबार