करिब तीन दशकपछि चर्चित हलिउड फिल्म ‘प्र्याक्टिकल म्याजिक’ को दोस्रो भाग दर्शकमाझ आउने तयारीमा छ। सन् १९९८ मा प्रदर्शनमा आएको यो फिल्म सुरुवातमा मिश्रित प्रतिक्रिया पाए पनि पछिल्लो समय नयाँ पुस्तामाझ लोकप्रिय बनेको थियो।
फिल्मका मुख्य कलाकार सान्ड्रा बुलक र निकोल किडम्यान फेरि आफ्ना पुराना भूमिकामा फर्किएका छन्। उनीहरूसँगै जोई किङ र मैसी विलियम्स नयाँ पुस्ताका पात्रका रूपमा फिल्ममा जोडिएका छन्।
जोई किङका अनुसार अहिले प्रविधि र जीवनशैली अत्यन्त तीव्र गतिमा परिवर्तन भइरहेकाले मानिसहरू विगतको सरल जीवनप्रति आकर्षित हुन थालेका छन्। उनका अनुसार पहिले मानिसहरू कुनै समस्या समाधान गर्न नसक्दा केही समय चुपचाप बसेर सोच्ने गर्थे, तर अहिले निरन्तर प्रविधि र सूचनाको पहुँचमा रहनुपर्ने अवस्था छ।
मैसी विलियम्सले पनि अहिलेको समयलाई मानिसहरू सरल जीवनको खोजीमा रहेको अवस्था का रूपमा हेरेकी छन्। तर उनी पुराना फिल्मलाई जस्ताको तस्तै पुनर्निर्माण गर्नेभन्दा नयाँ कथा अघि बढाउनुपर्ने पक्षमा छिन्।
‘प्र्याक्टिकल म्याजिक २’ मा ओवेन्स परिवारसँग जोडिएको पुस्तौँ पुरानो जादु र श्रापको कथा फेरि अगाडि बढ्नेछ। फिल्ममा प्रेम, परिवार र दिदीबहिनीबीचको सम्बन्धसँगै महिला एकता र सशक्तीकरणका विषयलाई समेत प्राथमिकता दिइएको छ।
फिल्ममा पुराना कलाकारसँगै ली पेस, जोलो मारिदुएना र सोली म्याकलियोडजस्ता नयाँ कलाकार पनि देखिनेछन्। पुरानो फिल्मको भावनात्मक पक्षलाई कायम राख्दै नयाँ पुस्ताका दर्शकलाई जोड्ने प्रयास गरिएको निर्माण पक्षको उद्देश्य देखिन्छ।
कलाकारहरूका अनुसार फिल्मप्रतिको दर्शकको उत्साहले एउटा कुरा स्पष्ट पार्छ, तीव्र रूपमा बदलिँदो आधुनिक संसारबीच मानिसहरू अझै पनि आत्मीयता, सम्बन्ध र सरल समयको अनुभूति खोजिरहेका छन्।
प्रकाशित: २६ भाद्र २०८३ १४:०३ शुक्रबार





-600x400.jpg)