२० असार २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

साइबर उत्पीडनका कारण देश छाड्न बाध्य भएँ: अभिनेत्री उषा रजक

अभिनेत्री उषा रजकले सञ्जोक कार्की नामक व्यक्तिको निरन्तरको साइबर ह्यारेसमेन्ट र धम्कीपूर्ण व्यवहारका कारण आफ्नो सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया जानु परेको दाबी गरेकी छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक लामो पोस्ट लेख्दै उनले आफू असुरक्षित महसुस गरेर विदेशिनु परेको उल्लेख गर्दै न्यायका लागि गृहमन्त्री सुधन गुरुङसँग अपिल समेत गरेकी छन्।

केही समयअघि नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई अनलाइन ह्यारेसमेन्टको मुद्दा दर्ता गर्न बोलाएको भए पनि सो समयमा आरोपित कार्कीले फोन र म्यासेज गर्न छाडेका कारण आफू प्रहरी कार्यालय नगएको उनले बताएकी छन्।

‘अब त ह्यारेसमेन्ट गर्न बन्द गर्छ होला भन्ने सोचेर म प्रहरीकहाँ गइनँ, तर हिजो रातिदेखि उसले मलाई फेरि मेसेन्जरमा म्यासेज पठाउन र राति राति फोन गर्न थालेको छ,’ उनले लेखेकी छन्।

आफू नेपालमा एक्लै बस्ने भएकाले सुरक्षाको गम्भीर खतरा महसुस गरी परिवारको सल्लाह र निर्देशन बमोजिम अस्ट्रेलिया प्रस्थान गरेको उनले खुलाएकी छन्।

‘सामाजिक सञ्जालमा मलाई आएका गाली र धम्कीहरू हेरेर परिवारमा सल्लाह भयो। नेपालमा म एक्लै भएकाले मेरो सुरक्षाका लागि विदेशमा रहेका मेरी छोरीको बुबा, दिदी र भिनाजुहरूको निर्देशन अनुसार म अहिले अस्ट्रेलिया आएकी छु,’ रजकले उल्लेख गरेकी छन्।

सञ्जोक कार्कीको राजनीतिक पहुँचका कारण आफू झन् त्रसित बन्नु परेको उनको दाबी छ। वर्तमान गृहमन्त्री सुधन गुरुङका स्वकीय सचिव (पीए) जेम्स कार्कीसँग सञ्जोकको निकट सम्बन्ध रहेकाले उनी कारबाहीबाट जोगिँदै आएको उषाको आरोप छ।

उनले गृहमन्त्री गुरुङलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘कृपया यो मान्छेलाई मलाई हैरानी गर्नबाट रोक्नुहोस्। उसले ममाथि हिंसा मात्र गरिरहेको छैन, तपाईं र हाम्रो नयाँ सरकारलाई पनि बदनाम गरिरहेको छ।’

यो घटनाका कारण आफ्नो व्यावसायिक काममा ठूलो धक्का पुगेको उनले बताएकी छन्। विगत दुई महिनादेखि तयारी गरिरहेको एउटा समिटमा वक्ताको रूपमा सहभागी हुन नपाएको र आगामी हप्तादेखि सुरु हुन लागेको चलचित्रको छायाङ्कन समेत रद्द गर्नुपरेको उनले जानकारी दिएकी छन्।

आफूले सञ्जोक कार्कीविरुद्ध आवाज उठाएका कारण अन्य केही महिलाहरूले पनि आफूमाथि सोही प्रकृतिको उत्पीडन भएको स्क्रिनसट पठाएको रजकको भनाइ छ।

उनले ती पीडित महिलाहरूको अनुमति लिएर नेपाल फर्किएलगत्तै ती प्रमाणहरू साइबर प्रहरीमा बुझाउने र कानुनी लडाइँ लड्ने बताएकी छन्।

प्रकाशित: २० असार २०८३ १४:३४ शनिबार