फाल्गुण सधैं मेरो प्रिय महिना रह्यो। यही महिनामा मैले यो सुन्दर संसारमा पहिलो पाइला टेकेकी थिएँ तर २०८२ सालको फाल्गुण अलि फरक थियो। यस पटक म जन्मदिन मनाउने मात्र होइन, कसैलाई यो संसारमा स्वागत गर्ने तयारीमा थिएँ। एक जीवनले अर्को जीवनलाई जन्म दिन लागेको थियो।
जर्मनीको अस्पतालको त्यो कोठा आज पनि मेरो स्मृतिमा ताजै छ। घण्टौँको पीडा, थकान र प्रतीक्षापछि मैले एउटा सानो आवाज सुनें। डाक्टरले मेरी छोरीलाई मेरो छातीमा राख्दै भनिन्, “यहाँ छ, तपाईंकी छोरी।”
त्यो क्षणमा समय रोकिएको जस्तो लाग्यो। आँखा रसाए। मैले श्रीमानकाे हात समातें। हामी दुवैले एउटा बच्चा जन्मिएको मात्र देखिरहेका थिएनौँ। हामीले एउटा नयाँ परिवार जन्मिएको अनुभव गरिरहेका थियौँ।
तर केही समयपछि मैले बुझें, त्यो दिन मेरी छोरी मात्र जन्मिएकी थिइनन्। त्यही दिन म पनि फेरि जन्मिएकी थिएँ - एउटी आमाको रूपमा। मलाइ अर्को एक दम राम्रो लागेको पक्ष जर्मनीमा सुत्केरी बेथा लाग्दा स्रिमानलाइ पनि सँगै राखिदिने रहेछ जुन कुरा नेपालको प्राय अस्पतालमा पाइँदैन जसबाट उहाँले मेरो छटपटीलाइ नजिकबाट नियाल्न पाउनुभयो जसले हाम्रो सम्बन्ध जिम्मेवार र मजबुत भएको महसुस भएको छ।
मेरो डेलिभरी नर्मल थियो तर त्यसपछि जीवन नर्मल रहेन।
समाजले प्रायः बच्चाको जन्मलाई उत्सवका रूपमा हेर्छ तर आमाको पुनर्जन्मलाई कमै देख्छ। विशेषगरी अपाङ्गता भएका महिलाको मातृत्वबारे त झन् कम कुरा हुन्छ। हामीलाई अझै “हेरचाह पाउने व्यक्ति” का रूपमा बुझिन्छ, “हेरचाह गर्ने व्यक्ति” का रूपमा होइन। दृष्टिविहीन भएर आमा बन्ने निर्णय गर्दा मैले समाजका धेरै अदृश्य प्रश्नहरू सामना गरें। केही प्रश्न अरूले सोधे, धेरै प्रश्न मैले आफैंलाई सोधें।
“के म साँच्चै असल आमा बन्न सक्छु?”
“के म मेरी छोरीका आवश्यकता समयमै बुझ्न सकूँला?”
“के दृष्टिविहीनता मेरो मातृत्वको बाटोमा बाधा बन्छ?”
जब मेरी छोरी भोकले रुन्थी, म उसलाई दूध खुवाउन खोज्थें। कहिलेकाहीँ उसको मुख कहाँ छ भनेर पत्ता लगाउन समय लाग्थ्यो। कहिलेकाहीँ ऊ निदाइदिन्थी र म चुपचाप रोइरहेकी हुन्थें। मलाई लाग्थ्यो, सायद म पर्याप्त छैन तर समयसँगै मैले एउटा गहिरो सत्य बुझें, हरेक आमा सिक्दै आमा बन्छिन्। दृष्टिविहीन, दृष्टियुक्त, ग्रामीण, सहरी, सबै आमा सिकाइको यात्रामै हुन्छन्। फरक यति मात्र हो कि कसैका चुनौती देखिन्छन्, कसैका देखिँदैनन्। मेरो सबैभन्दा ठूलो शिक्षक मेरी आफ्नै छोरी बनिन्।
म उनको पहिलो मुस्कान देख्न सकिनँ। उनको आँखामा आएको चमक हेर्न सकिनँ तर मैले उनको सासको लय पढ्न सिकें। उनको रुवाइको अर्थ बुझ्न सिकें। उनको स्पर्शमा भावनाहरू महसुस गर्न सिकें।
त्यो अनुभवले मलाई सिकायो - हेर्नु भनेको सधैं आँखाले मात्र होइन। हृदयले पनि देख्छ। स्पर्शले पनि देख्छ। आवाजले पनि देख्छ।
यो यात्रामा मेरो परिवार मेरो शक्ति बन्यो। मेरी आमा नेपालबाट जर्मनी आउनुभयो। उहाँले मलाई डायपर बदल्नसिकाउनुभयो। बच्चालाई नुहाउन सिकाउनुभयो। तेल मालिस गर्न सिकाउनुभयो। कहिलेकाहीँ म फेरि सानी बच्चाजस्तै बनेर सोध्थें, “आमा, यसरी हो?”
र उहाँ मुस्कुराउँदै भन्नुहुन्थ्यो, “फेरि गर, अझ राम्रो हुन्छ।”
त्यो बेला मैले महसुस गरें - मेरी छोरी जन्मिँदा म आमा बनेकी थिएँ तर मेरी आमाले मलाई आमा बन्न सिकाइरहनुभएको थियो।
जर्मनीको स्वास्थ्य प्रणालीले पनि मलाई अर्को महत्त्वपूर्ण पाठ सिकायो। यहाँ बच्चा जन्मिएपछि नर्सहरू घरमै आउँछन्। उनीहरू बच्चाबारे मात्र होइन, आमाबारे पनि सोध्छन्।
“तपाईं भावनात्मक रूपमा ठीक हुनुहुन्छ?”
“तपाईंलाई सहयोग चाहिएको छ ?”
यी सामान्य प्रश्न होइनन्। यी मातृत्वलाई मानवताको दृष्टिले हेर्ने प्रश्न हुन्।
नेपालमा अझै पनि मातृ स्वास्थ्यको बहस गर्भावस्था र प्रसूतिसम्म सीमित छ तर बच्चा जन्मिएपछि सुरु हुने भावनात्मक, मानसिक र सामाजिक यात्राबारे हामी कम बोल्छौँ। अझ अपाङ्गता भएका महिलाहरूको यौन तथा
प्रजनन स्वास्थ्य अधिकारका विषयमा त झन् न्यून चर्चा हुन्छ।
हामीले अझै अपाङ्गता भएका महिलालाई पत्नी, प्रेमिका वा आमा बन्ने अधिकारसहितको पूर्ण नागरिकका रूपमा स्वीकारर्न सकेका छैनौँ।
नेपालमा दृष्टिविहीन महिलाले दृष्टियुक्त पुरुषसँग विवाह गर्दा अझै मानिसहरू त्यसलाई उपलब्धि मान्छन् तर मेरो विवाह उपलब्धि होइन। मेरो श्रीमान्ले मलाई रोज्नुभयो, मैले उहाँलाई रोजें। हामीले एकअर्कामा सम्मान, विश्वास र प्रेम देख्यौँ।
वास्तविक उपलब्धि त्यो दिन हुनेछ, जुन दिन अपाङ्गता भएका महिलाको विवाह, मातृत्व र परिवार निर्माणलाई “असाधारण” होइन, “सामान्य” मानिनेछ।
आज म आत्मविश्वासका साथ भन्न सक्छु - हो, दृष्टिविहीन आमाको रूपमा केही सीमितताहरू छन्। म मेरी छोरीको अनुहार पढ्न सक्दिनँ तर यसको अर्थ म असक्षम आमा हुँ भन्ने होइन।
म उसको मौनता बुझ्छु।
म उसको आवाज बुझ्छु।
म उसको स्पर्श बुझ्छु।
र मैले बुझिसकेकी छु कि सही सहयोग, परिवारको साथ, जीवनसाथीको साझेदारी र समाजको विश्वास भएमा अपाङ्गताले सम्भावनालाई रोक्न सक्दैन।
जर्मनीमा मैले अर्को प्रेरणादायी अभ्यास पनि देखें। यहाँ समुदायस्तरमा आमाहरूका लागि परिवार केन्द्रहरू छन्।
उनीहरू भेला हुन्छन्। अनुभव साट्छन्। डरहरू बाँड्छन्। सफलताहरू मनाउँछन्। कोही पनि एक्लो हुँदैन।
त्यस्ता केन्द्रहरूमा जाँदा मलाई बारम्बार लाग्थ्यो - नेपालमा पनि यस्ता समावेशी मातृत्व थलोहरूकिन नहोस्?
विशेषगरी अपाङ्गता भएका आमाहरूका लागि। जहाँ उनीहरूले खुलेर भन्न सकून् -
“म डराएकी छु।”
“म सिकिरहेकी छु।”
“मलाई सहयोग चाहिएको छ।”
र अर्को आमाले जवाफ दिन सकून्-
“म पनि यही बाटो भएर आएकी हुँ।”
यही अनुभवबाट प्रेरित भएर अब मेरो अर्को सपना जन्मिएको छ। म भविष्यमा Blind Rocks बाट सरोकारवालाहरूसँग मिलेर अपाङ्गता भएका आमाहरूका लागि समावेशी मातृत्व साझेदारी प्लेटफर्म निर्माण गर्न चाहन्छु।
त्यो केवल अनुभव सुनाउने समूह हुने छैन। त्यो सिकाइ, परामर्श, मानसिक स्वास्थ्य सहयोग, सहकर्मी समर्थन,अभिभावकत्व सीप विकास र यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्रवर्द्धनको साझा मञ्च हुनेछ।
नेपालमा यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा धेरै कार्यक्रमहरू सञ्चालन भइरहेका छन् तर अपाङ्गता भएका महिलाको मातृत्व अनुभव अझै पनि विकास साझेदार, दातृ निकाय र नीतिनिर्माताहरूको प्राथमिकतामा पर्याप्त रूपमा परेको देखिँदैन।
यदि हामी साँच्चै समावेशी समाज निर्माण गर्न चाहन्छौँ भने, अपाङ्गता भएका महिलाको मातृत्वलाई पनि विकासको एजेन्डा बनाउनुपर्छ।
हामीलाई अनुसन्धान चाहिएको छ।
हामीलाई सहकर्मी साझेदारि चाहिएको छ।
हामीलाई पहुँचयुक्त स्वास्थ्य सेवा चाहिएको छ।
हामीलाई मातृत्वबारे सकारात्मक कथाहरू चाहिएका छन्।
र सबैभन्दा बढी, हामीलाई विश्वास चाहिएको छ—अपाङ्गता भएका महिलाहरू पनि सक्षम आमा हुन् भन्ने विश्वास।
त्यसैले म आज यो लेखमार्फत सरकार, स्थानीय तह, स्वास्थ्य क्षेत्रका पेशाकर्मी, महिला अधिकारकर्मी, यौन तथा प्रजनन स्वास्थ्यमा काम गर्ने संघसंस्था, विकास साझेदार तथा दातृ निकायहरूलाई एउटा विनम्र आह्वान गर्न चाहन्छु-
आउनुहोस्, अपाङ्गता भएका महिलाको मातृत्वलाई पनि विकासको प्राथमिकतामा राखौँ।
आउनुहोस्, कुनै पनि महिला आफ्नो मातृत्व यात्रामा एक्लो महसुस नगर्ने वातावरण बनाऔँ।
आउनुहोस्, अनुभव बाँड्ने, सिक्ने र एकअर्कालाई साथ दिने समावेशी थलोनिर्माण गरौँ।
किनकि जब एउटी महिला आमा बन्छिन्, एउटा बच्चा मात्र जन्मिँदैन। एउटा नयाँ आत्मविश्वास जन्मिन्छ। एउटा
नयाँ सम्भावना जन्मिन्छ। एउटा नयाँ समाजको बीउ रोपिन्छ।
आज मेरी छोरीले मलाई एउटा ठूलो पाठ सिकाएकी छिन्—सीमितता जीवनको अन्तिम सत्य होइन। सही साथ,
सही अवसर र सही विश्वास भएमा सीमितताभन्दा ठूलो सम्भावना हुन्छ।
मेरो डेलिभरी नर्मल थियो। तर त्यसपछि जीवन नर्मल रहेन। र सायद त्यही असामान्य यात्राले मलाई केवल आमा मात्र बनाएन, समावेशी मातृत्वका लागि आवाज उठाउने एउटा जिम्मेवारी पनि दियो।
यो मेरो कथा हो तर सायद यो हजारौँ आमाको पनि कथा हो। र अब समय आएको छ - यी कथाहरू सुनिने, बुझिने र नीतिमा रूपान्तरण हुने।
(लेखक केसी ब्लाइन्ड रक्सको संस्थापक अध्यक्ष माेटिभेसन स्पिकर हुन्।)
प्रकाशित: २१ असार २०८३ ०८:५२ आइतबार





