बलिउड अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजादबीच ब्रेकअप भएको हल्ला चर्चामा छ। सामाजिक सञ्जालमा ऋतिकको डेटिङ एप ‘राया’मा रहेको भनिएको प्रोफाइलका स्क्रिनसट भाइरल भएपछि यो विषय चर्चामा आएको हो।
भाइरल स्क्रिनसटमा ऋतिकको प्रोफाइलको बायोमा ‘अभिनेता, निर्माता र उद्यमी’ लेखिएको देखिन्छ। तर यस विषयमा ऋतिक वा सबाको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
अभिनेत्री उर्वशी रौतेलाले हालै एक अन्तर्वार्तामा आफूले सेलिब्रिटी डेटिङ एप ‘राया’मा ऋतिक रोशन र आदित्य रॉय कपूरको प्रोफाइल देखेको दाबी गरेकी थिइन्।
उर्वशीको यो भनाइ ऋतिकको सम्बन्ध अवस्थासँग प्रत्यक्ष रूपमा जोडिएको थिएन। तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई ऋतिक र सबाबीच सम्बन्ध टुटेको संकेतका रूपमा व्याख्या गरिरहेका छन्।
सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भइरहे पनि ऋतिक रोशन र सबा आजाद दुवैले ब्रेकअपबारे कुनै आधिकारिक बयान दिएका छैनन्।
प्रायः ऋतिक आफ्नो व्यक्तिगत जीवनलाई निजी राख्ने गर्दछन्। उनी आफ्नो निजी विषयमा सार्वजनिक रूपमा बोल्न प्रायः टाढा रहने गरेका छन्।
ऋतिकको पहिलो विवाह २०१४ मा सम्बन्ध विच्छेद भएपछि, २०२० देखि ऋतिक र सबाबीच डेटिङको चर्चा सुरु भएको थियो। उनीहरूलाई डिनर डेटमा सँगै देखिएपछि उनीहरूको सम्बन्धबारे चर्चा बढेको थियो। त्यसपछि सबालाई ऋतिकको परिवारसँग पनि पटक–पटक देखिएको थियो।
प्रकाशित: ३० श्रावण २०८३ ११:४२ शनिबार





