बेलबारीका हेमप्रसाद तिवारी (हेमन्त) ले आफ्ना मातापिताका नाममा कला–साहित्य पुरस्कार घोषणा गरिदिएका छन्।
बेलबारी नगरपालिका –२, लालभित्ती, मोरङ मूल ठेगाना भई पछिल्लो समय अमेरिकामा बसोबास गरिरहेका तिवारीले स्व. पिता गणनाथ तिवारी र माता विष्णुमाया तिवारीका नाममा ‘गणनाथ +विष्णुमाया साहित्य कला पुरस्कार’ को स्थापना गरिदिएका हुन्। पिताको वार्षिकीका लागि नेपाल आएका तिवारीले फिर्ने क्रममा उक्त पुरस्कार घोषणा गरिदिएका हुन्।
१५,५५५।– राशिको उक्त पुरस्कार हरेक वर्ष एक जना कला साधकलाई प्रदान गरिनेछ । कोसी साहित्य–कला परिषद् नेपाल संरक्षक रहने गरी घोषणा गरिएको उक्त पुरस्कारको सम्झौता पत्रमा बिहीबार मात्र हस्ताक्षर भएको हो। सम्झौता पत्रमा कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही र दाता हेमन्तले हस्ताक्षर गरेका थिए। हेमन्तकी श्रीमती रिजु चापागाईं तिवारीलाई साक्षीका रूपमा राखिएको उक्त पुरस्कार घोषणका कार्यक्रममा हेमन्तकी माता विष्णुमाया तिवारी दाजु तीर्थ तिवारी, कान्छा भाइ रेवती तिवारी र उनीहरूका परिवारका सदस्य तथा कोसी साहित्य–कला परिषद् नेपालका सचिव नवराज पोखरेल ‘नवशिला’ को समेत उपस्थिति रहेको थियो।
पुरस्कारका लागि ‘गणनाथ +विष्णुमाया कला साहित्य पुरस्कार अक्षयकोष’ को स्थापना गरिने र पुरस्कारलाई समय सापेक्ष बनाउँदै लैजान यसको राशिमा पनि वृद्धि गरिँदै लगिने सम्झौता पत्रमा उल्लेख गरिएको छ।
यो पुरस्कार कोसी साहित्य–कला परिषद् नेपालको वार्षिक उत्सवका दिन वितरण गरिने छ।
स्मरण रहोस् कोसी साहित्य कला परिषद् नेपालले यसअघि नै २५,५५५।– ‘कोसी साहित्य पुरस्कार’ र ५,५५५।– राशिको ‘कोसी नवसिर्जनशील पुरस्कार’ को घोषणा भइसकेको छ।
प्रकाशित: २० कार्तिक २०८३ १०:२७ शुक्रबार





