सामान्य बजेटमा बनेको बलिउड चलचित्र ‘हनुमान अंश’ले बक्स अफिसमा अप्रत्याशित कमाइ गर्दै तहल्का मच्चाइरहेको छ। प्रदर्शनको ४३औँ दिनमा आइपुग्दा चलचित्रले विश्वव्यापी रूपमा ३१६.३० करोड भारु कमाइसकेको छ।
नीम करौली बाबाको जीवनमा आधारित भनिएको यो चलचित्र ७ अगस्टमा प्रदर्शनमा आएको हो। सुरुवाती दिनमा अपेक्षाकृत कमजोर देखिए पनि दर्शकको सकारात्मक प्रतिक्रियापछि चलचित्रले बक्स अफिसमा निरन्तर गति लिएको हो।
यसबीच ‘हनुमान अंश’ले ‘बटवारा १९४७’, ‘अवारापन २’, ‘टक्सिक’, ‘हैवान’ हुँदै अहिले करीना कपूर अभिनीत **‘दायरा’**सम्मका नयाँ चलचित्रसँग प्रतिस्पर्धा गरिसकेको छ। ठूला कलाकार र ठूलो लगानीका चलचित्रले अपेक्षाअनुसार दर्शक तान्न नसकिरहेका बेला ‘हनुमान अंश’ले भने हलमा आफ्नो पकड कायम राखेको छ।
उद्योग ट्र्याकर स्याकनिल्कका अनुसार चलचित्रले ४३औँ दिनमा भारतमा मात्रै ५ करोड भारु कमाएको छ। विदेशबाट समेत १.२५ करोड भारु आम्दानी गरेको बताइएको छ।
अझ रोचक कुरा, करीना कपूरको ‘दायरा’ले प्रदर्शनको पहिलो दिन ९० लाख भारु कमाउँदा ‘हनुमान अंश’ले ४३औँ दिनमै त्यसको करिब पाँच गुणाभन्दा बढी कमाइ गरेको हो।
‘दायरा’ र कुनाल केमू–प्रिटी जिन्टा अभिनीत ‘भाइब’लाई हलमा स्थान दिन ‘हनुमान अंश’का शो संख्या ९,१६० बाट घटाएर ६,४६२ मा झारिएको थियो। तर शो घट्दा पनि चलचित्रको कमाइमा उल्लेख्य असर परेको देखिएको छैन। अहिले पनि ‘हनुमान अंश’का शो संख्या ‘दायरा’ र ‘भाइब’को संयुक्त शोभन्दा बढी रहेको दाबी गरिएको छ।
करिब २ करोड भारुमा निर्माण भएको ‘हनुमान अंश’को बक्स अफिस यात्रा व्यापार विश्लेषकहरूका लागि समेत आश्चर्यको विषय बनेको छ। कमजोर सुरुवातबाट यात्रा थालेको चलचित्रले दर्शकको सकारात्मक प्रतिक्रियाकै बलमा भारतमा मात्र ३१६ करोड भारुभन्दा बढी कमाएको हो।
नेपालमा पनि ‘हनुमान अंश’ले राम्रो व्यापार गरिरहेको स्रोतको दाबी छ।
प्रकाशित: ३ आश्विन २०८३ १४:५० शनिबार





