भारतीय सिनेमा इतिहासमा ‘हरे राम हरे कृष्ण’ सांगीतिक, सामाजिक र सांस्कृतिक कोसेढुंगाका रूपमा स्थापित भएको छ। देव आनन्द निर्देशित तथा अभिनित यस चलचित्रमा ७० को दशकको हिप्पी प्रवृत्ति र पारिवारिक विखण्डनको मनोवैज्ञानिक असरको चित्रण छ।
चलचित्रमा देव आनन्द स्वयंले मुख्य पात्र प्रशान्तको भूमिका निर्वाह गरेका छन् भने झन्डै नवअभिनेत्रीका रूपमा देखा परेकी जिनत अमानले ‘जस्बिर’ (जनिस) को भूमिका निर्वाह गरेकी छन्। जिनतले यसै चलचित्रबाट पहिलो पटक ‘फिल्मफेयर अवार्ड’ जितिन्। कथामा छुट्टिएका दुई दाजुबहिनीको पुनर्मिलन प्रयासका क्रममा सामाजिक रूपान्तरण, लागुपदार्थ दुव्र्यसन र सांस्कृतिक टकरावको चित्रण गरिएको छ।
चलचित्रको अधिकांश दृश्य काठमाडौंमा खिचिएको हो। त्यतिबेलाको शान्त काठमाडौं, पर्यटकीय जीवनशैली, पशुपतिनाथ र स्वयम्भू परिसर तथा रंगीचंगी हिप्पीहरू चलचित्रका पृष्ठभूमि बनेका छन्। निर्देशक आनन्दले भारतीय सिनेमामा पहिलोपटक नेपाललाई यति व्यापक प्रस्तुत गरेका थिए।
चलचित्रको सबैभन्दा चर्चित पक्ष यसको संगीत थियो। आरडी बर्मनद्वारा संगीतबद्ध ‘दम मारो दम’ गीत त्यो समयको यथार्थ बोकेको, हिप्पी संस्कृति झल्काउने र कालजयी बन्न पुगेको थियो। आशा भोसलेको स्वर र जिनत अमानको निर्भीक प्रस्तुतिले गीतलाई सामाजिक सन्देशमा रूपान्तरण गरेको थियो। त्यस्तै ‘फूलों का तारों का’ जस्ता गीतले दर्शकलाई भावनात्मक रूपमा छुन्छन् र दाजुबहिनी सम्बन्धमा केन्द्रित कथालाई भावनात्मक गहिराइ दिन सहयोग गरेको छ।
‘हरे राम हरे कृष्ण’ एकैसाथ संगीत, समाज, संस्कृति र परिवारको विषय उठान गरेको चलचित्र हो। यसले लागुपदार्थ दुव्र्यसनविरुद्ध चेतना मात्रै फैलाएन, भारतीय सिनेमामा नारी पात्रको नयाँ प्रस्तुतिलाई पनि स्थापित गरायो। नेपालको सन्दर्भमा समेत चलचित्रले पर्यटन र काठमाडौंको अन्तर्राष्ट्रिय पहिचान फैलाउन योगदान दियो।
काठमाडौंको तत्कालीन परिवेश
सन् १९७१ मा सार्वजनिक यो चलचित्रमा काठमाडौंलाई कुनै साधारण पृष्ठभूमिमा मात्र होइन, कथाको प्रवाहसँगै जीवित पात्रझैं प्रस्तुत गरिएको छ। हिप्पी संस्कृति, धार्मिक स्थल, खुला समाज र बदलिँदो जीवनशैलीलाई निर्देशकले एउटै फ्रेमभित्र समेट्ने प्रयास गरेका छन्।
चलचित्रले प्रारम्भदेखि नै दर्शकलाई काठमाडौंको गल्ली, मन्दिर र भौगोलिक बनावटसँग परिचित गराउँछ। पशुपतिनाथ मन्दिर परिसर, स्वयम्भू, झोसे क्षेत्र, दरबारमार्ग र पुराना गल्लीहरू दृश्यमा प्रस्ट रूपमा देखिन्छन्।
चलचित्रको कथाअनुसार पश्चिमा जीवनशैलीबाट विरक्त युवाहरू काठमाडौं आइपुग्छन् र यहाँ ध्यान, संगीत तथा लागुपदार्थमा हराइरहेका देखिन्छन्। यसले काठमाडौंलाई ‘हिप्पीहरूको आश्रयस्थल’का रूपमा चित्रण गर्छ। चलचित्रमा देखिएको त्यो समयको काठमाडौं खुला समाज भएको संकेत गर्छ। जहाँ विविध संस्कृति र जीवनशैली स्वाभाविक रूपमा सहअस्तित्वमा थिए।
चलचित्रमा पशुपतिनाथ मन्दिर र बौद्ध धर्मसँग सम्बन्धित स्थानहरूलाई विशेष प्राथमिकता दिइएको छ। यसले काठमाडौंलाई आत्म–खोज र धार्मिक शुद्धीकरणको थलोका रूपमा चित्रित गरेको देखिन्छ। पात्रहरू आध्यात्मिक मोक्षको खोजमा यहीं आइपुगेका हुन्छन्।
चलचित्रले काठमाडौंको दृश्य–वस्तु मात्र प्रस्तुत गरेको छैन, त्यसभित्रको विरोधाभास पनि उजागर गरेको छ। एकातिर शान्ति र आध्यात्मिकता, अर्कोतर्फ ड्रग्स, अस्थिरता र सामाजिक विचलन, दुवै पक्ष चलचित्रमा समानान्तर रूपमा अघि बढेका छन्। चलचित्रमा काठमाडौं दृश्यमा सजावट मात्र होइन, कथावाचनको मेरुदण्ड बनेर प्रस्तुत भएको छ। शान्त सहर, आध्यात्मिक आकर्षण र सांस्कृतिक द्वन्द्व, यी सबै विशेषता चलचित्रले प्रभावकारी रूपमा उजागर गरेको देखिन्छ।
पात्र र चरित्रहरू
७० को दशकमा निर्माण गरिएको चलचित्र ‘हरे राम हरे कृष्ण’ नायक–नायिकाको पारम्परिक ढाँचाबाट फरक, सामाजिक र सांस्कृतिक मुद्दा उठाउने कथामा आधारित छ। चलचित्रका पात्रहरूले समग्र कथाको भावनात्मक गहिराइ बोकेको छ। फिल्मका मुख्य पात्रहरूलाई केवल कथावाहक नभई त्यो समयको सांस्कृतिक र मनोवैज्ञानिक स्थितिको प्रतिनिधि पात्रका रूपमा बुझ्न सकिन्छ। तिनले सांस्कृतिक रूपान्तरण, पारिवारिक मूल्य र सामाजिक मनोविज्ञानको बहसलाई पर्दामा उतार्ने माध्यमको काम गरेका छन्।
जिम्मेवारी र परम्पराको प्रतिनिधि प्रशान्त अर्थात् देव आनन्द
चलचित्रका मुख्य पात्र प्रशान्तको भूमिकामा देव आनन्द छन्। प्रशान्तले आधुनिक शिक्षामा पाएका र पारिवारिक मूल्य विमुख नभएका युवकको प्रतिनिधित्व गरेका छन्। उनी पारिवारिक मूल्य र सम्बन्धप्रतिको आस्थाको प्रतीकका रूपमा प्रस्तुत छन्। सानैमा छुट्टिएकी बहिनी जनिसलाई फिर्ता ल्याउने उद्देश्यले नेपाल आएका प्रशान्तले सामाजिक विकृति र वैयक्तिक द्वन्द्वबिचको सङ्घर्ष चित्रण गर्छन्। उनले आफ्नी छुट्टिएकी बहिनी जनिसलाई फिर्ता ल्याउने प्रयास गर्दै नेपाली संस्कृति, हिन्दु परम्परा र आत्मीय सम्बन्धको महत्त्व दर्शाउँछन्।
प्रशान्तको पात्रले युवापुस्तामा जीवित रहेको पारिवारिक कर्तव्यबोध र सहानुभूतिलाई उजागर गरेको छ। चलचित्रको प्रमुख पात्र प्रशान्त जिम्मेवार, विवेकी र संवेदनशील युवकका रूपमा प्रस्तुत छन्। सानै उमेरमा बहिनी जस्बिरबाट टाढा परेका उनी अमेरिकाबाट नेपाल आइपुगेकी बहिनीलाई खोज्छन्।
पारिवारिक मूल्यको प्रतीकका रूपमा प्रशान्तले आधुनिक जीवनशैलीबिच पनि परम्परा, धर्म र सम्बन्धमा आस्था राख्ने काम गरेका छन्। एकातिर बहिनीलाई फिर्ता ल्याउने चाहना, अर्कातिर उसको अस्तित्व र जीवनशैलीलाई सम्मान गर्ने द्विविधामा प्रशान्त देखिन्छन्। यसकारण उनी नायकीय भूमिकाभन्दा मार्गदर्शक र संयोजकको भूमिकामा देखिन्छन्। उनको पात्रले पूर्वीय समाजमा परिवारप्रतिको कर्तव्यबोध, निष्ठा र मूल्य संरक्षणको सन्देश दिन्छ।
जस्बिर/ जनिस– विद्रोह, सांस्कृतिक विचलन र अस्थिर पहिचानको बिम्ब
चलचित्रको सबैभन्दा शक्तिशाली पात्रमध्ये एक जस्बिरले पश्चिमी नाम ‘जनिस’ अपनाएकी छन्। जनिसको चरित्र सांस्कृतिक विचलन र आत्मखोजमा हराएको पुस्ताको प्रतिनिधित्व गर्छ। पाश्चात्य जीवनशैलीको आकर्षण, स्वतन्त्रता र विद्रोह खोज्दै उनी हिप्पी संस्कृति अँगाल्छिन्, तर अन्ततः मानसिक रूपमा भित्रैदेखि चोइटिएको अवस्थामा पुग्छिन्। जनिसको चरित्रले आधुनिकता र स्वतन्त्रताको नाममा समाजबाट टाढिएको जीवनले आत्मविनाशतर्फ लैजान सक्छ भन्ने देखाउँछ।
उनी पारिवारिक विखण्डनपछिको मानसिक आघातले हिप्पी जीवनमा लिप्त भएकी हुन्छिन्। जिनत अमानको अभिनयले यो चरित्रलाई बलियो बनाएको र भारतीय सिनेमामा नयाँ प्रकारको महिला चरित्रको स्थापनामा मिलको पत्थर बनेको मानिन्छ।
जनिस चलचित्रका भावनात्मक केन्द्रबिन्दु हुन्। बाल्यकालमा भएको पारिवारिक विखण्डनले गहिरो मानसिक असर परेकी जनिस काठमाडौंमा हिप्पी जीवनशैलीमा रमाउँछिन्। उनको चरित्रले समाजमा आत्मपहिचान गुमाएका युवाहरूको जीवन–यथार्थ प्रस्तुत गर्छ। जनिसको पतन र विद्रोहको कथा केवल व्यक्तिगत नभई एक पुस्ताको सांस्कृतिक संकटको प्रतीक हो। जीवनमा गुमाएको माया र सम्बन्धको खोजमा लागेकी जनिस अस्तित्वकै खोजीमा भड्किरहेकी युवती हुन्।
हिप्पी संस्कृति र आत्मविनाशको प्रतीकका रूपमा देखिएकी जनिस स्वतन्त्रता खोज्दा दुव्र्यसनमा लिप्त हुन्छिन् र त्यहींबाट पलायनको बाटोमा अगाडि बढ्छिन्।
शान्ति: सादगी र स्थायित्वको छाया
प्रशान्तसँग सम्बन्धित पात्र शान्ति चलचित्रमा परम्परागत, संयमी र संस्कारप्रति निष्ठावान नारीको भूमिका निर्वाह गर्छिन्। जनिसको विद्रोही जीवनशैलीको ठिक विपरीत शान्तिको पात्रले चलचित्रमा सन्तुलन र नैतिक मान्यतालाई पुनःस्थापित गर्न मद्दत पु¥याएको देखिन्छ। शान्ति चलचित्रको पारम्परिक प्रेम–रुचि भएकी पात्र हुन्।
जनिसको विद्रोही चरित्रसँग शान्तिको ठाडो विरोध नगरी संयमी, पारिवारिक र सादगीपूर्ण व्यवहारले समाधानको बाटो देखाउने प्रयास गर्छ। जसले चलचित्रलाई सन्तुलनमा ल्याउँछ। परम्परागत नारीको प्रतिनिधित्व गर्दै शान्तिको चरित्रले समाजले आदर्श ठान्ने नारी भूमिकाको प्रतिनिधित्व गर्छिन्।
सहायक पात्रहरू: बहुसांस्कृतिक समाजको प्रतिबिम्ब
अन्य सहायक पात्रले चलचित्रमा विदेशी हिप्पीहरू, नेपाली गाइड र विभिन्न साना भूमिकामा देखिएका छन्। ती पात्रहरूले काठमाडौंको सामाजिक परिवेशलाई चित्रण गर्न सहयोग गरेका छन्। चलचित्रमा देखिएका विदेशी हिप्पी, स्थानीय नेपाली पात्रहरू र अन्य सहायक भूमिकाले काठमाडौंको बहुसांस्कृतिक वातावरणलाई चित्रण गर्न सहयोग गरेका छन्। यी पात्रले पश्चिमी र पूर्वीय जीवनशैलीबिचको भिन्नता र द्वन्द्वलाई स्पष्ट रूपमा उजागर गर्छन्।
‘हरे राम हरे कृष्ण’ का पात्रहरू केवल कथा सुन्दरताका लागि होइनन्। ती समकालीन समाजको भावनात्मक र वैचारिक प्रतिविम्ब हुन्। प्रशान्तले परिवारप्रतिको प्रतिबद्धता देखाउँछ भने जनिसले आत्म–विचलन र सांस्कृतिक टकरावको पीडा भोगेकी छन्। चलचित्रले पात्रका माध्यमबाट समाजको गहिरो मनोविज्ञान र मूल्य–संकटलाई पर्दामा उतारेको छ। चलचित्रले पारिवारिक विखण्डन, सांस्कृतिक सङ्क्रमण र आत्मपहिचानको खोजलाई केन्द्रमा राख्दै पात्रका माध्यमबाट सामाजिक सन्देश प्रवाह गरेको देखिन्छ।
चलचित्रमा देखिएका विदेशी हिप्पी, नेपाली गाइड र स्थानीय पात्रहरूले नेपालमा रहेको सांस्कृतिक सहिष्णुता, खुलापन र अन्तरसंवादको वातावरणलाई देखाउँछन्। यी पात्रहरूको माध्यमबाट काठमाडौंलाई पश्चिम र पूर्वको संगमस्थलका रूपमा प्रस्तुत गरिएको छ, जहाँ आस्था र भ्रम दुवैको सहअस्तित्व देखिन्छ।
फिल्मी पात्र र समकालीन नेपाली समाज
सन् १९७१ मा रिलिज भएको बलिउड चलचित्र ‘हरे राम हरे कृष्ण’ तत्कालीन समाजमा फैलिएको सांस्कृतिक संक्रमण, पारिवारिक विखण्डन र आत्म–पहिचानको खोजबारे उठाइएका प्रश्नहरूको उत्तर दिन खोज्ने चलचित्र हो। कथामा प्रस्तुत पात्रले तत्कालीन र वर्तमान समाजका मनोवैज्ञानिक र सांस्कृतिक मुद्दाहरूको प्रतिनिधित्व गर्छन्। मुख्य तीन पात्र प्रशान्त, जनिस र शान्तिले मानसिक अवस्थाको विविध पक्षलाई चित्रित गरेका छन्। जसले दर्शकमा गहिरो प्रभाव पारेको छ।
आजको सन्दर्भमा पनि ती पात्रहरू गहिरो अर्थ राख्छन्। विशेषगरी पारिवारिक विघटन, वैचारिक द्वन्द्व, आत्मसम्बन्धी अनिश्चय र सांस्कृतिक टकरावका यी सबै मुद्दा आज पनि उत्तिकै सान्दर्भिक छन्।
जनिस आजका धेरै किशोरकिशोरीको कथा हो, जसले सामाजिक दबाब र भावनात्मक असहजता भोगिरहेका छन्। प्रशान्त आजको नेपाली/भारतीय प्रवासी युवाको प्रतिनिधि हो, जसले मूल्य बिर्सेको छैन। शान्ति त्यो आवाज हो, जो विद्रोह नगरी पनि परिवर्तन सम्भव छ भन्छिन्।
जनिसले बाल्यकालमा आमाबुबाको डिभोर्सपछि गहिरो मानसिक आघात भोगेकी हुन्छिन्। उनी पहिचानको खोजीमा तड्पिरहेकी छन्। उनी मानसिक विछिप्तता, विद्रोह र आत्मविनाशको मनोदशाबाट संघर्षरत छिन्। जसबाट मुक्ति पाउन उनी लागुपदार्थमा लाग्छिन्, ध्यान, संगीत र हिप्पी जीवनशैलीमा शरण लिन्छिन् तर शान्ति भेट्दिनन्। जीवन झनै जटिल हुँदै जान्छ।
समकालीन सान्दर्भिकतामा पनि मानसिक स्वास्थ्य समस्या, विछोड वा सामाजिक अस्वीकारका कारण धेरै युवा आत्मपहिचान खोज्दै भुलावामा जान्छन्। यसको प्रभाव आजको युवा वर्गमा बढ्दो मानसिक स्वास्थ्य समस्यासँग जोडिएको छ।
आज पनि विदेशमा बसेका नेपाली वा भारतीय युवाहरूमा पारिवारिक सम्बन्धप्रतिको गहिरो बन्धन देखिन्छ। प्रशान्तजस्ता पात्रले परम्परागत मूल्यप्रति बफादार रहेर पनि आधुनिक सोच राख्न सकिन्छ भन्ने देखाउँछन्। प्रशान्तले नेपाली समाजमा अझै जीवित रहेको पारिवारिक मूल्य र जिम्मेवारीको भावना झल्काउँछ। नेपाली समाजमा सम्बन्ध र परिवारलाई अत्यन्त महत्त्व दिइन्छ र यसले आज पनि सामाजिक व्यवहारमा ठुलो प्रभाव पारिरहेको छ।
शान्तिको चरित्रअनुसार आजको समाजमा मानसिक रूपमा स्थिर, सहिष्णु र समझदार महिलाको आवश्यकता झनै छ। शान्तिमार्फत नारी पात्र केवल प्रेमिका होइनन्, समाजमा सन्तुलन कायम गर्ने शक्तिशाली स्तम्भ हुन् भन्ने दर्साइएको छ। शान्ति पात्रले स्थिरता, सहिष्णुता र परम्परागत मूल्यहरूको संरक्षण गर्छ। उनी चलचित्रमा सन्तुलनको भूमिका निभाउँदै परिवार र समाजबिच मेलमिलापको प्रतिनिधित्व गर्छिन्।
चलचित्रमा देखाइएका पात्रहरूले सामाजिक मनोविज्ञानको वास्तविक चित्रण गरेका छन् र आजको समयमा पनि यिनको प्रभाव एवं सान्दर्भिकता कायमै छ। मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र सांस्कृतिक द्वन्द्व जस्ता विषयमा चलचित्रले उठाएका प्रश्नहरू हालको समाजका लागि पनि महत्त्वपूर्ण संकेत हुन्।
अतिथिलाई देवता मान्ने नेपाली संस्कृतिको चित्रण
‘हरे राम हरे कृष्ण’मा राजधानी काठमाडौंको पृष्ठभूमिमा प्रस्तुत गरिएको नेपाली संस्कृतिमा अतिथिको विशेष महत्त्व झल्किन्छ। चलचित्रले नेपाली समाजमा अतिथिलाई देवता बराबर मान्ने भावनालाई सद्भाव र मानवता भर्न खोजिएको छ।
चलचित्रमा देखाइएका स्थानीय पात्रहरू विदेशी हिप्पी र अन्य आगन्तुकलाई सम्मानपूर्वक स्वागत गर्दैछन्। उनीहरूले आफ्ना पाहुनालाई आतिथ्य प्रदान गर्न कुनै कमी देखाउँदैनन्। साझेदारी, सहिष्णुता र मैत्रीभाव प्रमुख रूपमा प्रस्तुत गरिएको छ।
पशुपतिनाथ, स्वयम्भू लगायत धार्मिक र सांस्कृतिक स्थलहरूको दृश्यमार्फत नेपालको धार्मिक सहिष्णुता र आतिथ्य संस्कृतिलाई पनि उजागर गरिएको छ। चलचित्रले नेपालको सांस्कृतिक मूल्यमान्यता, अतिथिलाई देवता मान्ने परम्परालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने महत्त्वपूर्ण काम गरेको छ। यसले नेपाली समाजको गहिरो सामाजिक र सांस्कृतिक पक्षलाई परिचय गराएको छ।
५० वर्षअघिको काठमाडौं: शान्त, सफा र हरियो सहर
आजको व्यस्त र धुलोले भरिएको काठमाडौंलाई हेर्दा करिब ५० वर्षअघि अर्थात् १९७० को दशकको काठमाडौं सम्झनु एक सपनाजस्तै लाग्छ। यही समयका केही दुर्लभ चलचित्रहरूमध्ये ‘हरे राम हरे कृष्ण’ ले देखाएको काठमाडौं, त्यो समयको शान्त, हरियाली र खुला भूभाग भएको राजधानीको जीवन्त दस्ताबेज हो।
त्यसबेला काठमाडौंको जनसंख्या कम थियो। सवारीसाधन सीमित थिए। ट्राफिकको कोलाहल थिएन। फिल्ममा देखिने खुला सडक, ठुला बगैंचा र मान्छेको अभ्यस्त हिँडाइले त्यो शान्त वातावरण स्पष्ट देखाउँछ।
काठमाडौंका गल्ली सफा देखिन्छन्। धुलो र फोहोरको नामोनिसान छैन। रानीपोखरी, पशुपतिनाथ मन्दिर, स्वयम्भू परिसर, बागमती किनार र दरबारमार्ग क्षेत्रमा हरियालीले भरिएका दृश्य देखिन्छन्। चोक चोकमा बगैंचा छन्। आज हिलो हुने ठाउँमा घाँस, पिपल र बकाइनाका रुखले दिइरहेका छाया देखिन्छन्।
चलचित्रमा देखिएका दृश्यमा काठमाडौं खुला भूभागले भरिएका देखिन्छन्। कुनै अपार्टमेन्ट होइन, परम्परागत घरहरू, टिनको छाना र टाढासम्म देखिने हरियालीले भरिएका डाँडाकाँडा स्पष्ट देखिन्छन्। त्यो समय आकाश निलो देखिन्थ्यो, अहिलेको जस्तो धुवाँले ढाकिएको थिएन।
‘हरे राम हरे कृष्ण’मार्फत प्रस्तुत काठमाडौंको छायाङ्कनले एउटा ऐतिहासिक समयलाई जस्ताको तस्तै कैद गरेको छ। चलचित्रले त्यो समयको काठमाडौंको स्वाभाविक सौन्दर्य, धार्मिक शान्ति र सामाजिकीकरणलाई दस्ताबेजीकरण गरेको छ।
पचास वर्षअघि काठमाडौं केवल नेपालको राजधानी थिएन। त्यो साँच्चिकै बगैंचाजस्तो सहर थियो। हरेक सडक, चौतारा र मन्दिरमा मौनता र शुद्धता थियो। त्यो काठमाडौं आज हराउँदै गएको छ तर पुराना चलचित्रले त्यसलाई सम्झन योग्य बनाइदिएका छन्।
मूर्ति चोरीको दृश्य: सांस्कृतिक सन्देशसहितको चेतावनी
‘हरे राम हरे कृष्ण’मा एउटा महत्त्वपूर्ण तर छोटो दृश्य देखिन्छ, काठमाडौंको ऐतिहासिक मन्दिरबाट चोरी भइरहेका मूर्तिहरू। उक्त दृश्य केवल नाटकीय रोचकता बढाउने उद्देश्यका लागि मात्र नभई नेपालका सांस्कृतिक सम्पदामाथिको खतरा र त्यसबेला सुरु भइसकेको ऐतिहासिक सम्पत्ति तस्करीप्रति संकेत गर्न खडा गरिएको देखिन्छ।
चलचित्रमा विदेशी हिप्पी समुदाय र केही स्थानीयबिचको सम्पर्क देखाइन्छ। कसरी नेपाली मन्दिरबाट पुराना मूर्तिहरू चोरी हुन्छन् र ती गुपचुप रूपमा विदेशी बजारमा पु¥याइन्छन् ? शान्त काठमाडौंको धार्मिक स्थलबाट रातारात हराउने मूर्तिले दर्शकमा भावनात्मक झड्का दिन्छ।
त्यो दृश्य नेपाली सम्पदा र पहिचानमाथिको अतिक्रमणको प्रतीक हो। चलचित्रले तत्कालीन राज्य संयन्त्रको कमजोरी, जनचेतनाको अभाव र विदेशी प्रभावको गलत प्रयोगलाई सजग ढंगले चित्रण गरेको छ। यो मूर्ति चोरीलाई पहिलोपटक जनचेतनाको विषय बनाएको सम्भवतः पहिलो बलिउड प्रयास हो।
आज पनि नेपालबाट पुराना मूर्ति चोरी हुने क्रम रोकिएको छैन। सन् १९७० को दशकमा उठाइएको मुद्दा अझै पुरानो घाउजस्तै ताजै छ। चलचित्रले दिएको सांस्कृतिक चेतावनी अझै पनि नेपालको सांस्कृतिक सम्पदा संरक्षणका दृष्टिले उत्तिकै अर्थपूर्ण छ।
‘हरे राम हरे कृष्ण’ चलचित्रको मूर्ति चोरीको दृश्य छोटो भए पनि सशक्त छ। यसले दर्शकलाई स्मरण गराउँछ– धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको रक्षा केवल राज्यको होइन, आम नागरिकको पनि जिम्मेवारी हो।
प्रकाशित: २८ असार २०८२ ०८:०५ शनिबार





