गोलभेडाको अचार पिस्ने विद्युतीय भाँडो बजारमा आइसक्ता पनि मलाई ढुङ्गाको सिलौटोमा ढुङ्गाकै लोहोरोले पिसेको चटनी मनपर्छ।
किनभने यो सिलौटो र लोहोरो मेरा आदिम पूर्खाका आविष्कारहरू थिए। यी चिज कुँद्ने पुर्खा आदिम युगका सँच्चा वैज्ञानिक थिए।
अहिले पनि भस्मेको जङ्गल फाँडेर बारी बिराउने महाशेर बाबै आफ्नो मकैबारीमा आउने बाँदरलाई ढुङ्गाकै हतियारले पुक्लुक पुक्लुक ढालिरहेका छन्। उनको हातमा गुलेली र ढुङ्गाकै मट्याङ्ग्राले अहिले पनि साथ छोडेको छैन। अझै तिनै ढुङ्गे मट्याङ्ग्राले जङ्गलका कालिज ढुकुरको शिकार गरिरहेका छन् उनी।
यी दुई साना कुरा प्रतिनिधि घटना मात्र हुन्। अहिले पनि कतिपय सन्दर्भमा हामी एक विकट आदिम युगमै छौँ। मानव विज्ञानले भन्छ– आजभन्दा छब्बीस लाख वर्षअघि मान्छेले पहिलोचोटि ढुङ्गाको हतियार प्रयोग गर्न जानेको हो अरे। त्यही समयमा ढुङ्गाको हतियार बनाउन सिकेको हो अरे। भनिन्छ त्यो युगको ढुङ्गे हतियार पहिलोचोटि केन्याको भूमिमा फेला परेको थियो अरे।
विज्ञानले जतिसुकै वैभवको चुली नाघे पनि अहिले हामी गाउँमा विलकुल ढुङ्गेयुगमा नै छौँ। यसको ज्वलन्त उदाहरण अहिले गाउँगाउँमा बाँदर आतङ्क बढेको छ। धेरै पहाडी गाउँमा बाँदरले खेतबारीको अन्नपात नोक्सान गर्ने मात्र होइन। घरमै पसेर मकैको झुत्ता चोर्न थालेका छन्। बाँदर धपाउन ढुङ्गाबाहेक अर्काे सुलभ उपकरण र हतियारको विकल्प हामीसित छैन। छब्बीस लाख वर्षअघि पनि हाम्रा आदिम पुर्खाहरूले त्यही ढुङ्गाले बाँदर लखेटेका थिए; अहिले हामीले पनि त्यही ढुङ्गाको प्रयोग गरिरहेको छौँ। परिवर्तनको तूफानी दौडमा हामी कहाँ छौ? भनी प्रश्न गर्दा जवाफ भेट्छु हामी जाहीँको ताहीँ छौं। हामी ढुङ्गादेखि ढुङ्गामै छौँ।
आज हतियारको नाममा शक्ति राष्ट्रले बडेबडे सुपरसोनिक फाइटर जेट बनाऊन् या स्टील्थ विमान या एके फोर्टिसेभन बनाऊन्। नापाल्म बम बनाऊन् या स्नाइपर राइफल्स बनाऊन्। त्योदेखि हामी हजार कोश टाढा छौँ। हामीसित त आदिम पूर्खाको नासो ढुङ्गा नै काफी छन्।
मान्छेको निम्ति ढुङ्गे युगमा ढुङ्गा जति प्यारो थियो, अरू चिज त्यति प्यारो थिएन। ढुङ्गा प्यारो हुने कारण ढुङ्गा अति उपयोगी बस्तुपनि थियो। ढुङ्गाकै हतियारले शिकार मार्थ्याे र भुँडीको भोक मेटाउँथ्यो। ढुङ्गाकै गुफामा सुत्थ्यो। ढुङ्गाकै सिरानी लाउँथ्यो। ढुङ्गालाई नै बिच्छ्याउना बनाउँथ्यो। ढुङ्गाबाटै आगो झिक्थ्यो। ढुङ्गाकै ताउलोमा खाने चिज पकाउँथ्यो, सेकाउँथ्यो। ढुङ्गाकै चुलोचम्को गाड्थ्यो। ढुङ्गाकै थालमा चिजविज भाग लाएर खान्थ्यो। हिंस्रक जीवजन्तुले आक्रमण गरे, ढुङ्गा हानेरै त्यसलाई लखेट्थ्यो। शत्रुसित मुकाविला गर्नुपर्यो भने ढुङ्गाबाटै मुकाविला गर्थ्याे। गु पुछ्नदेखि देउता पुज्ने प्रतिमासम्म ढुङ्गालाई नै प्रयोग गर्थ्याे। अहिले पो हामी ढुङ्गालाई विना कामको नाथे ढुङ्गा भन्छौँ तर त्यस युगमा ढुङ्गाको गरिमा र महत्त्व अर्कै थियो।
अहिले पनि हाम्रो गाउँका माइला बा अँगेनामा आगो निभ्यो भने खिसाबाट झुलो चकमक झिकेर दर्शिनढुङ्गो ठोस्न थालिहाल्छन्। सलाई कोरेर आगो झिक्नु जत्तिकै सजिलो मान्छन्, चकमक ठोसेर आगो पार्न।
विज्ञानले भन्छ– आगोको आविष्कार भएको समयदेखि अहिलेसम्म चौध लाख बीस हजार वर्ष समय हामीले पार गरिसक्यौँ। अर्थात् आजभन्दा लगभग चौध लाख बीस हजार वर्ष पहिले आगोको आविष्कार गरेको थियो मान्छेले। त्यो पनि अफ्रिकामा अवस्थित मानव पूर्खाले पहिलोचोटि आगोको आविष्कार गरेका थिए अरे। कालान्तरमा त्यही आगो संसारभरि फैलियो।
अहिले आगो उब्जाउने अनेकन् यन्त्र, उपकरण र सामाग्री छन् हामीसित तर हामीसित अझै यस्ता गाउँहरू पनि छन्; जहाँको अँगेनामा दस पुस्ता, बीस पुस्ता अघि पूर्खाले जोरेको आगो अझै अँगेनामा जीवित छ। अँगेनामा आगो निभ्नु अशुभ ठान्ने मानिसहरू पनि छन् जसले आगोलाई जतनसाथ अँगेनामा कहिल्यै ननिभाइ आएका छन्। आगो निभी नै हाल्यो भनेपनि झुलो चकमक र दर्शिन ढुङ्गो ठोसेर आगो निकाल्ने प्रविधि अझ गाउँबस्तीमा कायम छ।
अरू विद्युतिय युगको वायुवेगी रफ्तारमा दौडे पनि हामी अझै अगुल्टे युगमा छौँ। दियाले युगमा छौं। टुकी, कुपी र सलेदे युगमा धिपधिप गरिहेका छौँ। नाति पुस्ताले आधुनिकताको डङ्क बजारे पनि हामी चकमके युगमा नै ढुङ्गो ठोसिरहेका छौँ।झुलो,चकमक र दर्शिन ढुङ्गो हाम्रै पूर्खाहरूका प्राङ्गारिक आविष्कारहरू थिए। ती वैज्ञानिक पूर्खाको बुद्धि र खोजलाई हृदयबाट नमन गर्न मन लाग्छ। उनीहरूको वैज्ञानिक बुद्धि देखेर हृदयमा श्रद्धाभाव उम्लिन्छ। भलै हामी तिनका सन्ततिहरूले समयको वेगअनुसार आविष्कार र उन्नयनको दिशामा पाइला चाल्न भुल्यौँ। उनका आविष्कारहरूलाई समयको परिवर्तन अनुसार नव पाइन हाल्न भुल्यौँ। नयाँ धार उमार्न बिस्र्यौँ। बदलिँदो युग अनुरुप नव बान्कीमा त्यसलाई सिँगार्ने, तिखार्ने नव प्रवर्तनको कला भुल्यौँ। त्यसलाई समृद्ध र परिमार्जन गर्ने सीप हामी भुल्यौँ, जसले गर्दा अरु सलाई लाइटरको जुगमा पुसिक्ता हामी भने ढुङ्गो नै ठोसिरहेका छौँ। ठोस्नु पनि पर्छ किनभने हाम्रो आफ्नो आगो पार्ने प्रविधि यही नै हो।
अहिले पनि तल्लाघरे जेठा बा बारीको पाटामा वस्तु बाँध्न हिउँदे कटेरो तुन्दैछन्। भोर्लाका पातहरू खिलेर पाडाबाछा बाँध्ने न्यानो गोठ बनाउँदैछन्। आजभन्दा चार लाख वर्षअघि नै हाम्रा पूर्खाहरूले यसरी ओत र छानो बनाउने कला सिकेका थिए। घामपानी, हिमपात र तुषारोबाट छलिन यस्तो अक्किल कल्पेका थिए।
जनावरको मासुले पेट भर्ने र त्यसको छालालाई कपडा बनाई शरीर ढाक्ने प्रविधि झिकेका थिए। पूर्खाले बनाएको ओता लाग्ने छाप्रोमै छौँ आज हामी। चार लाख वर्षको लम्बे–यात्रामा हामीले के चाहिँ नयाँ प्रविधि झिक्न सक्याैं र? भित्रैदेखि कुरीकुरी लागेर आउँछ।
अहिलेको आधुनिक युगको मान्छेले ढुङ्गेयुगको मान्छेलाई खिज्याएको पनि देखेको छु । उनीहरूको लवाइखुवाइप्रति नाक चेप्रयाएर खिसी बोलेको पनि सुनेको छु।
खिसी बोल्नु पनि बेकार छ। समयअनुसार उनीहरूको चेतना त धेरैअघि गएको थियो तर हामी नेपालीहरूको चेतना जहीँको ताहीँ कुवा–युगमा जमिरहेको छ। अहिले पनि तिनै पूर्खाले कुँदेको जाँतोमा जौ पिसिरहेका छाैं, कोदो मकै पिसेर पिठो खाइरहेका छौं। तिनै पुर्खाले आविष्कार गरेको ओखलमा चामल फलिरहेका छाैं। पूर्खाले कुँदेकै ठेको, घुर्राे र मदानीले मोही पारिरहेका छौँ। घिउ झिकिरहेका छौंँ। उनैले कुँदेको लोहोरा र सिलौटो, उनैले खोपेको ओख्ली मुस्लीले काम चलाइरहेको छौँ।
यी सबै चिज उनै पूर्खाका अनुदान थिए। यी चिजप्रति आदर छ, यी चिजप्रति सम्मान छ। एक अक्षर विज्ञान नपढी वैज्ञानिक बनेका थिए हाम्रा पूर्खा। एक लाइन शास्त्र र सिद्धान्त नरटी आविष्कारक भएका थिए हाम्रा पूर्खा। तिनै पूर्खाको छालामा त अहिले पनि रजाइँ गरिरहेछौँ हामी। ढुङ्गेयुगको तिनै ढुङ्गे आविष्कारमा अडिएका छौँ। त्यही काठेयुगका काठे आविष्कारमा आङ टेकाइरहेका छौँ। हामीले पुज्ने महादेवको हातमा अहिले पनि त्रिशूल छ। महादेवको आङ अहिले पनि बाघको छालाले ढाकिएकै छ। हाम्रा आराध्यदेव रामको काँधमा वाणको ठोक्रो लट्किएकै छ। उनले काँधमा धनुष भिरेकै छन्। त्यस युगमा त्रिशूल नै महान हतियार थियो होला। त्यस युगमा धनुवाण नै ठूलो अस्त्र थियो होला। व्याघ्रचर्मको परिधान नै उत्कृष्ट वस्त्र आभूषण थियो होला, सहज अनुमान लगाउन सकिन्छ।
यस युगमा पुनः शिवको अवतरण भएमा हातमा त्रिशूलै बोक्थे कि मेशिनगन र टारानिस बोक्थे होलान् ? यस युगमा रामको अवतरण भएमा काँधमा धनुकाँडको ठोक्रो भिर्थे होला कि एसल्ट राइफल भिर्थे होला ? अनगिन्ति प्रश्न उब्जिन्छन्।
राम र शिवको युगमा किन पुगूँ म ? विसं १९९० मा ठूलो भूकम्प गयो। तत्कालीन समयमा शासन सत्ताको वागडोर राजा प्रधानमन्त्री श्री ३ जुद्धशमशेरको हातमा संकेन्द्रित थियो। संयोगवश भूकम्प आएको बखत उनी शिकार यात्रामा रहेछन्। शिकार खेल्नकै लागि सुदूरपश्चिमको कञ्चनपुरको वनवासा जङ्गलमा पुगेका रहेछन्। भूकम्पबाट सबभन्दा ठूलो क्षति काठमाडाैं उपत्यकाले व्यहो¥यो। देशैभरि ठूलो जनधनको क्षति भयो। उता श्री ३ महाराजलाई जीवित र घाइतेहरूको त्यति ठूलो चिन्ता चासो रहेन। बरु मरेका मानिसहरू नर्कमा पर्ने हुन् कि त्यसको डर भयो। जीवितलाई उद्दार भन्दा पनि मृतकलाई कसरी स्वर्ग पु¥याउने त्यस कुराको चिन्ता भएछ।
महाकाली नदीमा एक हजार गाई बाहुनहरूलाई दान गरी भूकम्पमा मर्ने मृतकगणलाई वैतरणी नदी तार्ने काम गरे। यति गरेपछि अनि विस्तारै आफ्नो ताकले काठमाडौँ आएर उद्दारको काममा जुटेछन्। यो घटना सिर्फ पचासीछयासी वर्ष अघिको घटना हो। चार लाख वर्षअघिको छाप्रे युग त धेरै अघिको समय भयो। अझ छब्बीस लाख वर्ष अगाडिको ढुङ्गेयुग त कता हो कता भैहाल्यो। अहिले पनि लिखुरे गाईको बाछी समातेर बैतरणी नदी तार्ने चलनमा अलिकति पनि फेरबदल आएको छैन।
मेरो घर नजिकै चियापसल छ । चियापसलमा किसिम किसिमका मान्छेहरूको जमघट हुन्छ। संसारभरिका गफ त्यही चिया दोकानमा चल्छन्। एउटा भाइ एकसुरमा विज्ञानको बखान गर्दैथिए– “मान्छेले मंगल टेकिसक्यो! मान्छेले बनाएको यान त्यहाँ पुगेर फोटो खिचेर पठाइसक्यो। हामी कहाँदेखि कहाँ पुगिसक्यौँ बुझ्नु भो ?”
मैले अघि सर्दै उनलाई भनेँ, “अरू जहाँजहाँ पुगे पनि हामी विलकुल यहीँको ढुङ्गे युगमा छौँ भाइ! ढुङ्गेयुगमा ढुङ्गाकै पूजा गरेर भुजा खाइरहेका छौँ भाइ!”
मेरो जवाफमा कुनै प्रतिवाद नगरी उनी बाटो लागे। म पनि यही लेख कोर्न कोठातिर उक्लेँ। जय ढुङ्गेयुग!!
प्रकाशित: ५ वैशाख २०८३ ०७:३९ शनिबार





