१ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

नारी स्रष्टाहरूको भव्य उत्सव : २५ बढीलाई पुरस्कार र सम्मान

नारी स्रष्टा समाज, नेपालले वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। कार्यक्रममा देशभरका २५ भन्दा बढी स्रष्टालाई विभिन्न पुरस्कार र सम्मान प्रदान गरिएको छ। 

ममता मृदुलको अध्यक्षता र विवश पोखरेल तथा सावित्री कक्षपतिको प्रमुख आतिथ्यमा अनामनगरमा एक कार्यक्रमबिच सम्पन्न भएको हो। यस वर्ष ‘प्रभुभक्त छोरीनानी वर्ष पुस्तक–२०८१’ धरानका शुक्रराज कुँवरको लघुकथासंग्रह ‘बगैंचा’ लाई दिइयो। पुस्तक छनोटकर्ता रमेन्द्र कोइराला र रामकुमार पण्डितलाई पनि सम्मान गरियो।

‘मोहनलता स्रष्टा सम्मान’ ध्रुवराज थापा ‘पुरुष’, लिलानाथ सिलवाल, डम्बरुवल्लभ भण्डारी र धन्वन्तरी मिश्र ‘कात्यायन’ लाई अर्पण भयो। ‘नारी स्रष्टा सम्मान’ दिपा चौधरी (कैलाली), शारदा घिमिरे भैल (बनेपा), सुधा मैनाली, राधा सुवेदी, सत्या अधिकारी, निशिता जोशी (ललितपुर) र सेसेमी लिम्बूलाई प्रदान गरियो।

यसैगरी विश्वविमोहन श्रेष्ठले ‘मोहनलता विशिष्ट स्रष्टा सम्मान तथा पुरस्कार’, राजेन्द्र शलभले काफ्ले स्रष्टा सम्मान, प्रमोद प्रधानले कविराज कौशिला स्रष्टा सम्मान, शंकर खरेलले भिमलाल यशोदा स्रष्टा सम्मान र मोक्षदा दाहालले कालीगंगा बालस्रष्टा सम्मान प्राप्त गरे।

लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ लाई ‘रमेन्द्र सावित्री लघुकथा पुरस्कार’ प्रदान गरिएको थियो। पुरस्कार संस्थापक विक्रमभक्त जोशी, रोशन पराजुली लगायतलाई पनि सम्मान गरियो।

कार्यक्रममा अशेष मल्ल, विधान आचार्य, विष्णु केसी, रमेन्द्र कोइराला, ममता मृदुल लगायतले सम्मानित स्रष्टाको परिचय गराएका थिए। दिपक लोहनी, विनोद नेपाल, ललिता दोषी, राधेश्याम लेकाली, गोकुल अधिकारी, दिव्य गिरी, शान्ति भण्डारी दाहाल लगायत ठूलो सङ्ख्यामा स्रष्टाको उपस्थिति रहेको थियो।

प्रकाशित: २ मंसिर २०८२ ११:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App