" बुढा आज म माइतीमा जान्छु है? "सिमाले आफ्नो पतिसँग सोधी। ऊ भर्खरै कतैबाट आएकी थिई।
"ओहो माइतीमा पनि कति जान्छौँ। केही दिन पहिले पनि गएकै हौ। " रविले अलि चर्को स्वरमा भन्यो।
" रवि, तिमीलाई त थाहा नै छ! हाम्रो आमा वृद्धा हुनुहुन्छ। आमा छँदासम्मको त हो नि माइत।" सिमाले भावुक हुँदै भनी।
"धेरै सिरियस न बन काम विषयले हो क्या माइतमा जाने। तिमीलाई थाहा छ पेट्रोलको दाम बढेको छ अनाहकमा पैसा खर्च गर्न हुँदैन।" रविले सिमालाई सम्झाउँदै भन्यो।
" तर आजको दिन विशेष भएकाले एकछिनलाई भए पनि जान्छु। हजुरलाई हिंड्नुस् भनेकी छैन म एक्लै पनि जान्छु।" सिमाले मलिन हुँदै भनी।
"आजको दिन कसरी विशेष भयो त तिम्रो?" रविले अचम्म मान्दै साेध्याे।
"आज आमाको मुख हेर्ने दिन हो। तिमीलाई थाहा छैन?" सिमाले उल्टै प्रश्न गरी।
"एकदिन आमाको मुख हेरेर के गर्छ्यौ तिमीले?" उसले फेरि साेध्याे।
"हजुर बिहानै कहाँ जानुभाको थियो आफ्नो आमा नभए पनि अरूलाई आमा बनाएर भेट गर्न जानुहुन्छ। मेरो त आफ्नै आमा हुनुहुन्छ म नजाने मुख हेर्न? सिमा रिसाउँदै भनी।
"सिमा मैले आमालाई भेट्न नजाउ भनेको होइन बरू समय समयमा सुसार गरौँ घर लिएर आउ भनेको हो।" रविले भन्यो।
"छोराहरू हुँदाहुँदै छोरीका घरमा आउन मान्नु हुँदैन हाम्रो आमाले मेरा दाइहरूले अघात माया गर्छन् आमालाई।"सिमाले सफाइमा भनी।
"बस् सिमा झुट कसैको फाइदाका लागि बोलेको भए त म पनि खुसी हुने थिएं।" रविले व्यङ्ग्यात्मक लयमा भन्यो।
" के भन्न खोजेको तिमीले?" सिमा चर्को बोली।
" आउ भित्र!"-सिमाको हात छोपेर भित्र अर्को रूममा लिएर गयो।
" आमा हजुर!"-सिमा आफ्नो आमालाई भित्र देखेर आश्चर्य भई र अँगालोमा बेर्दै रून थाली।
"बिहान म तिम्रो आमालाई लिन वृद्धाश्रममा गएको थिएँ। तिमीले मलाई जति ढाँटे पनि मलाई सबै थाहा थियो।" रविले सिमातिर हेर्दै भन्यो। उसले रविलाई सुस्तरी आभार व्यक्त गरी।
प्रकाशित: ४ वैशाख २०८३ १०:०३ शुक्रबार





