स्थानीय घरपझोङ गाउँपालिकाको आयोजनामा भएको ‘घरपझोङ काव्ययात्रा-२०८३’ मा पुर्ख्याैली सिप संरक्षण गरेकाेमा तीन जनालाई सम्मान अर्पिएकाे छ।
जोमसोम बजारस्थित गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा आरनको माध्यमबाट फलाम र तामाका भाँडावर्तन एवं औजार बनाउँदै आएका चिमाङ गाउँका ७५ वर्षे साइला विक, परम्परागत सिलाइकटाइ गर्दै आएकी जोमसोमकी ६२ वर्षे कुमारी नेपाली र कलात्मक काष्ठकलामा समर्पित स्याङगाउँका ७२ वर्षे मनप्रसाद विकलाई जनही १० हजार नगदसहित सम्मान अर्पिएको हो।
काव्ययात्राको अन्तिम दिन प्रमुख अतिथि राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाले उनीहरूलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्। त्यसैगरी गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले नगद र उपाध्यक्ष जमुना थकाली थापामगरले खादा प्रदान गरेका थिए।
‘पुर्ख्याैली सिप संरक्षण गरेर गाउँघर सिंगार्दै आएका भुइँमान्छेको अनुहारमा खुसी बढाउन हामीले सम्मान गरेका हौं’, काव्ययात्राका संयोजक एवं पर्यटन पत्रकार अमृत भादगाउँले भन्छन्, ‘यसरी श्रमजीवीको सम्मान गर्न पाउँदा हामी हर्षित छौं।’
कार्यक्रमको सुरुमा घरपझोङको पर्यटकीय चिनारी दिने वृत्तचित्र देखाइएको थियो। लगत्तै ‘जलवायु परिवर्तनले हिमाली जिल्ला मुस्ताङको कृषि, पर्यटन र जनजीवनमा पारेको प्रभाव’ बारे विमर्श चलाइएको थियो। घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थापामगरसँग सहजकर्ताको भूमिका निर्वाह गरेका थिए चर्चित कवि भूपिनले। जलवायू परिवर्तनले धेरै कुरामा प्रभाव पारेको चर्चा गरिएकाे थियाे।
कार्यक्रमको दोस्रो खण्डमा भुइँमान्छेको सम्मानसँग कविता वाचन गरिएकाे थियाे। काव्ययात्रीले आआफ्ना रचना र अनुभूति त सुनाए नै, जोमसोमका पत्रकार भिमबहादुर रसाइली र जनहित माध्यमिक विद्यालयका सहायक प्रिन्सिपल कर्णबहादुर थकालीले पनि मिठा कविता प्रस्तुत गरेका थिए। त्यसैगरी नागरिक अगुवा चन्द्रबहादुर थकालीले जोमसोमको इतिहासको चर्चा गरेका थिए।
काव्ययात्राकै दौरानमा राष्ट्रिय गानका सर्जकसँगै जनहित माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीले राष्ट्रिय गान ‘सयौं थुङ्गा फुलका हामी’ गाएका थिए। यति मात्र होइन, जोमसोमकै गुम्बाका विद्यार्थीसँग पनि उनले राष्ट्रिय गान गाए।
त्यसैगरी मार्फामा समेत काव्ययात्रीले गाएका थिए। सर्जक माइलाले विद्यार्थीलाई पढाइमा ध्यान केन्द्रित गरी असल नागरिक बन्न प्रेरणा दिएका थिए। घरआँगनमै राष्ट्रिय गानका सर्जक पाउँदा फोटो खिच्नेहरूको तँछाडमछाड भएको थियो।
कक्षा ९ को नेपाली पुस्तकमा कवि भूपिनको ‘आमाको तस्बिर’ शीर्षक कविता छ। त्यसैले उनले जनहित मावि, कक्षा ९ का विद्यार्थीसँग कुराकानी गरेर उत्प्रेरित गरेका थिए।

घरपझोङ काव्ययात्रा–२०८३
घरपझोङ काव्ययात्राको आयोजना घरपझोङ गाउँपालिकाले गरेको हो भने कार्यक्रम संयोजन काठमाडौंको कन्सेप्ट नेपालले।
काव्ययात्रामा मुलुकका प्रभावशाली १५ लेखकको सहभागिता थियो। उनीहरू हुन्–राष्ट्रिय गानका लेखक व्याकुल माइला, अभय श्रेष्ठ, भूपिन, शिव प्रकाश, सागर उदास, लक्ष्मण थापा, प्रगति राई, अनुपम रोशी, सुमन थापा ‘सङ्गम’, कल्पना ‘पलक’, दीपेन्द्रसिंह थापा, बाल्कुराम पुन, घनश्याम पौडेल, राजकुमार गजुरेल र अमृत भादगाउँले।
काठमाडौंबाट मुस्ताङको मार्फा गाउँमा पुगेका उनीहरू जोमसोमबाट र घरपझोङ गाउँपालिकाका सबै गाउँबस्ती र पर्यटकीयस्थलकाे भ्रमण गरेका थिए।
मार्फा, छैरो, चिमाङ, ढुम्बाताल, ठिनी, जोमसोम र स्याङ गाउँ घुमाएका थिए। साथै उनीहरूलाई हिन्दू र बौद्ध धर्मावलम्बीको आस्था केन्द्र मुक्तिनाथ र कागबेनी पनि भ्रमण गराइएकाे थियाे।
थकाली सभ्यताको उद्गम थलोमा पुगेर प्रकृति, संस्कृति र जीवनशैली अध्ययन गर्न पाउँदा लेखकहरू गद्गद भए।
‘मुस्ताङको भूगोल, यहाँको संस्कृति, जीवनशैली र गाउँलेहरूको आत्मीयले भावुक बनायो’, राष्ट्रिय गानका लेखक व्याकुल माइलाले भने, ‘पर्यटन नै घरपझोङको आर्थिक मेरुदण्ड बन्न सक्ने देखियो। ज्यादै सुन्दर ठाउँ रहेछ। यहाँका मान्छे पनि उत्तिकै सुन्दर पाएँ।’
लेखकहरूले काव्ययात्राका अनुभूतिहरू यात्रा संस्मरणका रूपमा विभिन्न स्थानमा प्रकाशन गर्नेछन्। पछि ती सबै लेखहरू सँगालेर पुस्तक प्रकाशन गरिने गाउँपालिकाका अध्यक्ष लालचनले बताए। ‘यो यात्राको हामी डकुमेन्ट्री पनि बनाउने छौं’, उनले भने।
प्रकाशित: १८ असार २०८३ १३:१९ बिहीबार





