२९ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

सडक सञ्जालमा जोडिँदै रसुवा, चिलिमेमा उद्धार प्रयास जारी

सदरमुकाम धुन्चेबाट स्याफ्रुबेंसीतर्फ जाँदा करिब १३ किलोमिर सडक सुरक्षित नै छ। १२ घुम्तीभन्दा माथिका बस्ती र सडक खण्डहर बनेका छन्।पैदल हिँड्नसमेत अत्यन्तै जोखिम छ। यही क्षेत्रमा चिलिमे जलविद्युत् आयोजना छ।आयोजना बाढीबाट तहसनहस छ।आयोजनाको सुरुङमा कर्मचारी फसेको आशंकमा उद्धार प्रयास भइरहेको छ।सुरुङमा ६ जना फसेको आयोजनाका कर्मचारीहरूको भनाइ छ ।

बिहानको काममा गएका सरोज पाण्डे, मेकानिकल सुपरभाइजर सन्तोष पाण्डे, इलेक्ट्रिकल सुपरभाइजर मीनराज मोक्तान, चौकीदार तिलकबहादुर थापा मगर र पावरहाउस सहायक श्यामबहादुर थापा मगर आयोजनाभित्र फसेको बताइन्छ।

नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङ पनि भित्रै फसेको आशंका छ।उनीहरू भोटेकोसी नदीमा भदौ १० गतेको बाढीपछि सम्पर्कबाहिर छन्। बाढीले पुरेको र बगाएको आयोजनामा पुग्ने सकस छ। उद्धारका लागि प्रयास जारी छ ।

स्याफ्रुबेंसीतर्फ जाने सबै सडक ध्वस्त छ। सडक क्षेत्रमा भोटेकोसी बगिरहेको छ। चिलिमे जलविद्युत् आयोजनास्थलमा करिब २० मिटरको ढिस्को मात्रै बाँकी छ।आयोजानको सुरुङ भएको स्थानमा मान्छे उभिन सक्ने त्यही ढिस्कोबाहेक अरू केही छैन, दुवैतिर पहरो छ, सानो हेलिकोप्टर मुस्किलले अवतरण गर्न सक्छ।सुरुङभित्र भरिएको लेदो र गे्रगान हटाउन आवश्यक उपकरण लैजान नयाँ सडक निर्माण गरिएको छ। सडक निर्माणमै समय लागेकाले शनिबारदेखि सुरुङभित्र लेदो पन्छाउने काम सुरु भएको छ।

नेपाली सेना र भारतीय सेनाका ३५ जना तथा अन्य प्राविधिकसमेत गरी १०२ जना उद्धारमा परिचालित छन्।चिलिमे आयोजनाका एक कर्मचारीका अनुसार बाढीभन्दा विद्युत् गृहमा कार्यरत कर्मचारीका लागि खाना र खाजा दैनिक गाडीमा लगेर छाड्ने गरिन्थ्यो।बाढीपछि त्यहाँ फसेकालाई कुनै खानेकुरा नभएको ती कर्मचारीले बताए।

कहिलेकाहीं कर्मचारीले आफैं पनि खाना र खाजा लैजान्थे। ती कर्मचारीका अनुसार भित्र पिउने पानी भने छ तर सबै काम बिजुलीबाट हुने भएकाले खाना पकाउने ग्याँस भने थिएन ।

स्याफ्रुबेंसी जोड्ने विकल्प तयार हुँदै धुन्चेबाट स्याफ्रुबेंसी जाने सबै सडक ध्वस्त भएकाले वैकल्पिक उपाय गरिँदै छ।

चिलिमे आयोजनातर्फ सुरुङको मुखसम्म उद्धार उपकरण लैजान सडक बनाइएको छ। त्यहाँबाट पारिसम्म तुइन बनाइँदै छ।धुन्चेलाई स्याफ्रुबेंसी र आमाछोदिङमो गाउँपालिकासँग जोडन तुइन बनाउन लागिएको हो ।

रसुवाका प्रजिअ कमलप्रसाद पाण्डेका अनुसार धुन्चेलाई अहिलेका लागि तुइनमार्फत र बेलिब्रिज राखेर स्याफ्रुबेंसीसँग जोड्न सकियो भने त्यसले टिमुरेसम्म जान केही हदसम्म सहज हुन सक्छ। सुरक्षाकर्मी र प्राविधिकले तुइन राख्ने काम अन्तिम चरणमा पुर्‍याएका छन्। रसुवालाई सडक सञ्जालसँग जोडन बेत्रावतीमा पनि वैकल्पिक उपाय अपनाउनुपर्छ।‘रसुवाका लागि अहिले सबैभन्दा आवश्यक भनेको कनेक्टिभिटी हो। यसका लागि बेत्रावतीमा बेलिब्रिज अथवा अर्को कुनै विकल्प अपनाउन सकियो भने धुन्चेसम्म आउन सकिन्छ। धुन्चेलाई स्याफ्रुबेंसी र त्योभन्दा माथिसम्म जोड्न हामीले तत्कालका लागि तुइन निर्माण गरेका छौं,’ पाण्डेले भने, ‘यसले केही नभए पनि स्थानीय सडक मार्गबाटै आउनजान सक्छन् भन्ने हाम्रो विश्वास हो। नत्र त आउजाउका लागि हवाईबाहेक विकल्प छैन ।’

रसुवा र नुवाकोट जोड्ने बेत्रातीमा बेलिब्रिज राख्न पनि समस्या छ।बाढीले नदी वारिपारिको सबै क्षेत्र कटान गरेपछि विदुरबाट तिरतिरे, ढुंगे हुँदै बेत्रावतीसम्म जान वैकल्पिक सडक निर्माण भैरहेको छ।

बेलिब्रिज नराख्दासम्मका लागि रसुवासँग जोडिन काठ र बाँस राखेर पैदल हिँडन सकिने संरचना बनाउने काम भइरहेको छ। बेत्रावतीबाट पैदल नदीवारपार गर्न सकिने विकल्प तयार भयो भने नुवाकोटतर्फबाट बेत्रावतीसम्म जान सकिने अवस्था हुन्छ भने पारि रसुवातर्फ धुन्चेसम्म सजिलै सवारीसाधन जान सक्ने सडक छ। यसबाट कम्तीमा रसुवाको सदरमुकामसँगको सडक सम्पर्क जोडिएर केही सहज हुन सक्छ।

प्रकाशित: २९ भाद्र २०८३ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App