जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा सहभागी भएको भन्दै चौतर्फी आलोचना भएपछि कलाकार दीपकराज गिरीले खण्डन गरेका छन्। सामाजिक सञ्जालमा तस्बिरहरू भाइरल भएर आफ्नो संलग्नताको आरोप लागेपछि उनले सामाजिक सञ्जालमा स्पष्टीकरण दिएका छन्।
गिरीले नेपालका हरेक परिवर्तन सम्बन्धी आन्दोलनलाई समर्थन गरेझैँ जेन-जी आन्दोलनलाई पनि समर्थन गरेको स्वीकारेका छन्। उनले भनेका छन्, ‘यदि त्यो अपराध हो भने अपराध त भयो नै।’ आन्दोलनपछि भाइरल भएको फोटोको विषयमा स्पष्ट पार्दै उनले लेखेका छन्, ‘अब मुख्य कुरामा जाऔँ, त्यो दिन गणेश कार्की भाइले फोन गरेर सर्वपक्षीय सानो भेला छ बानेश्वरमा, कलाकारको रूपमा तपाईंहरू पनि आउनुस् भन्नुभयो, त्यसपछि म घरबाट हिँडे, त्यतिबेला बाहिर सामान्य तोडफोड सुरु भइसकेको थियो, मेरो घरबाट बानेश्वर जाने बाटोमा पर्दो रहेछ त्यो घर, कसको घर हो त्यो पनि थाहा थिएन।’
छलफलमा गएपछि व्यापक तोडफोड र आगजनी सुरु भएपछि आफूहरूले तोडफोड नगरौँ भन्दै एउटा भिडियो बनाएको र घर आएर निरन्तर तोडफोड नगरौँ, राष्ट्रको सम्पत्ति जोगाऔँ भन्ने स्टाटसहरू पोस्ट गरेको उनले बताएका छन्। ती स्टाटसहरू साक्षीका रूपमा रहेको उनको भनाइ छ।
आफूले तोडफोड नगर्न भनेको कुरा उल्लेख गर्दै उनले भनेका छन्, ‘त्यसपछि छलफलमा गइयो व्यापक तोडफोड र आगजनी सुरु भयो त्यसपछि हामीले तोडफोड नगरौँ भन्ने एउटा भिडियो पनि बनायौँ, त्यसपछि घर आएर निरन्तर तोडफोड नगरौँ, राष्ट्रको सम्पत्ति जोगाऔँ भन्ने स्टाटस हालिरहेँ, त्यो स्टाटसहरू साक्षीको रूपमा छन्।’ गिरीले आरोप लगाउँदै भनेका छन्, ‘वास्तवमा त्यो आन्दोलन एउटा पाटो थियो र आगजनी र विध्वंस अर्को पाटो, त्यो दोस्रो पाटोमा चाहिँ दलहरूकै मान्छे लगायत अनेकौँ स्वार्थ समूह छिरेको त प्रमाणित नै भइसक्यो!’
गिरीले आन्दोलन एउटा पाटो र आगजनी र विध्वंस अर्को पाटो भएको उल्लेख गरेका छन्। आगजनीमा दलहरूकै मान्छे लगायत अनेकौँ स्वार्थ समूह छिरेको प्रमाणित भइसकेको उनले दाबी गरेका छन्। साथै आफू कुनै समूहमा आबद्ध नभएको कलाकार भएको बताउँदै उनले यदि तोडफोड र आगजनीमा आफ्नो संलग्नता प्रमाणित हुन्छ भने हदैसम्मको कारबाहीका लागि तयार रहेको बताएका छन्।
यस्तो छ उनको स्टाटस
सकेसम्म नबोलौँ भन्ने नै थियो तर धेरैले यो फोटो पठाएर सोध्नु भो
दीपकजी ,के यो तपाइ नै हो?
अब जिम्मेवार नागरिकको हिसाबले त बोल्नै पर्यो !
पहिलो कुरा त के सत्य हो भने ,नेपालका हरेक परिवर्तन सम्बन्धी आन्दोलनलाई समर्थन गरे झैँ यसलाईई पनि समर्थन गरेकै हो।
यदि त्यो अपराध हो भने अपराध त भयो नै….
अब मुख्य कुरामा जाँऊ , त्यो दिन गणेश कार्की भाइले फोन गरेर सर्वपक्षीय सानो भेला छ बानेश्वरमा , कलाकारको रूपमा तपाइहरू पनि आउनुस् भन्नु भो , त्यसपछि म घर बाट हिँडे ,त्यतिबेला बाहिर सामान्य तोडफोड सुरु भैसकेको थियो , मेरो घर बाट बानेश्वर जाने बाटोमा पर्दो रहेछ त्यो घर ,कसको घर हो त्यो पनि थाहा थिएन, त्यहाँ केही रमिते केटाहरूले त्यो तोडफोड भैसकेको घर हेरिरहेका थिए , मलाई हात हल्लाए फोटो पनि खिची नै रहेकै थिए , भएको त त्यति नै थियो तर अहिले ,त्यो बाटोमा हिँडिरहेको फोटो हालेर आफ्नै शैलीको राम्रो कथा बुनेछन् ……
दोस्रो फोटो …..त्यसपछि छलफलमा गइयो व्यापक तोडफोड आगजनी सुरु भो त्यसपछि हामीले तोडफोड नगरौँ भन्ने एउटा भिडियो पनि बनायौ , त्यसपछि घर आएर निरन्तर तोडफोड नगरौँ , राष्ट्रको सम्पत्ति जोगाऔँ भन्ने स्ट्याटस हालिरहे , त्यो स्ट्याटसहरू साक्षीको रूपमा छँदैछैन …….वास्तवमा त्यो आन्दोलन एउटा पाटो थियो र आगजनी र विध्वंस अर्को पाटो , त्यो दोस्रो पाटोमा चाहिँ दलहरूकै मान्छे लगायत अनेकौँ स्वार्थ समूह छिरेको त प्रमाणित नै भइसक्यो !
मेरो सवालमा चाहिँ , म कुनै समूहमा आबद्ध नभएको कलाकार
देशमा भएको त्यो तोडफोड र आगजनीमा मेरो सहभागिता छैन!
यदि प्रमाणित हुन्छ भने हदै सम्मको कारबाहीको लागि तयार छु !
जय नेपाल!!
प्रकाशित: ८ कार्तिक २०८२ ०८:३३ शनिबार





