साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’ विस्तारै प्रतिक्षित बन्दै गएको छ। टिजर र ट्रेलरले हाइप बढाउँदै जाँदा सिनेमा प्रतिक्षित बन्दै गएको हो।
चार दिनअघि सार्वजनिक गरिएको ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्नुले सिनेमा हेर्न दर्शक प्रतिक्षित रहेको देखाउँछ। अहिले सिनेमाको ट्रेलर नेपालमा सिनेमातर्फको ट्रेन्डिङ चार्टको दोस्रो स्थानमा छ।
यो चलचित्रको बजारमा बढ्दो हाइप र ट्रेलरमा देखिएको भावनात्मक गहिराइले ‘गौँथली’ साउन १ गतेदेखि बक्स अफिसमा राम्रो व्यापार गर्ने संकेत देखाएको छ।
ट्रेलर हेरेर यस चलचित्रलाई दर्शकले व्यापारिक सफलताको शुभकामना दिँदै छन्। युट्युबमा ट्रेलर हेरेर अकेन्द्र ठकुरी लेख्छन्, “यो चलचित्रले पूर्णबहादुरको सारङ्गीको रेकर्ड तोड्नुपर्छ।”
पूर्णबहादुरको सारङ्गी नेपाली सिनेमा उद्योगमा हालसम्मकै सबैभन्दा धेरै पैसा कमाउने चलचित्र हो।
“नेपाली फिल्म भनेको त यस्तो पो हुनुपर्छ मनै छुने। ट्रेलरमै अग्रीम शुभकामना फिल्म सुपरहिट होस्,” ट्रेलर हेरेपछि अकेन्द्र नामक फेसबुक प्रोफाइलबाट युट्युबमा कमेन्ट गर्छन्।
यो चलचित्रमा अटिजम भएको युवकको भूमिकामा रहेका अरुण क्षेत्री र उनको अपोजिटमा रहेकी सिम्रन खड्को अभिनयको धेरै तारिफ भइरहेको छ। यससँगै उनीहरूले प्रचारका क्रममा गरेको मेहनतलाई दर्शकले तारिफ गरिरहेका छन्।
अञ्जु थापालाई ट्रेलरले नै रुवायो। उनी लेख्छिन्, “ट्रेलरले नै रुवायो, पूरा सिनेमाले त के गर्ला?”
ट्रेलरमा विशेषगरी अरुणको अबाेधपन र सिम्रनले बिनाकारण भोगिरहेको दुःखले दर्शकको मन जितिरहेको छ। छवि ओलीलाई पनि यसको सम्बेदनाले मन छोएको छ। “चलचित्र पूरै त हेर्न सकिन्न होला, हलमै आँसुले बगाएर। सशक्त अभिनय, उस्तै सम्बाद र भावले हरपल हृदय रसाए। सानो अंश हेर्दै त आङ जिरिङ भयो हर शब्द सम्बादले,” उनले लेखेका छन्।
कलाकारको अबाेधपन र इमोस्नल पक्षले दर्शकको ध्यान तानिरहेको छ। यही नै चलचित्र ‘गौँथली’ को सबल पक्ष हो।
अटिजमबाट पीडित युवकसँग भर्खरै विवाह गरेकी दुलहीले झेलिरहेको समस्या, उनले पढ्नका लागि गरेको संघर्ष, परम्परागत मान्यता र विश्वासमा अडिरहेको सोच र त्यसले भत्काइरहेको सुन्दर सपनाको प्रस्तुतिलाई दर्शकले मन पराइहेका छन्।
‘गौँथली’ लाई डा. कपिल रिजालले निर्देशन गरेका हुन्। चलचित्रमा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ। अंशु ओली र प्रिन्स नेपालीले बालकलाकारकाे अभिनय गरेका छन्।
डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन्। निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सहनिर्माताको रूपमा छन्। शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पार्श्वसंगीत एलिस कार्कीको छ।
चलचित्रलाई हरि हुमागाईंले खिचेका छन्। मिलन श्रेष्ठले सम्पादन गरेका छन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ।
यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्ने छन्। डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ।
‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए। उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ। ‘गौथली’ ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो।
अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका हुन्।
प्रकाशित: २४ असार २०८३ १२:४५ बुधबार





