१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

असामान्य जोडीको कथामा ‘गौँथली’

असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार गरिएको छ। चलचित्रको प्रचारप्रसारका लागि सार्वजनिक गरिएको श्रव्यदृश्यमा अभिनेता अरुण क्षेत्री असामान्य देखिएका छन्। अभिनेता क्षेत्रीको असामान्य व्यवहार हेर्दा उनी कुनै रोगले पीडित देखिएका छन् भने उनको विवाह कम उमेरकी युवतीसँग भएको देखाइएको छ। स्कुले विद्यार्थीझैँ देखिने उक्त युवतीको भूमिका अभिनेत्री सिम्रन खड्काले निर्वाह गरेकी छन्।

हेर्दा असामान्य लाग्ने जोडीले विवाहपछि सामना गर्ने चुनौतीकै कथामा चलचित्र तयार गरिएको अभिनेता क्षेत्रीले बताए। उनले भने, “पढ्ने रहर हुँदाहुँदै कम उमेरमै विवाह गर्नुपरेकी युवती र असामान्य व्यवहार देखाउने जोडीको कथामा चलचित्र तयार भएको छ। झट्ट हेर्दा असामान्य देखिने जोडीले जीवनमा भोग्ने उतारचढावमा शिक्षाले पार्ने प्रभाव चलचित्रमा देखाइएको छ। गम्भीर विषयमा सरल चलचित्र बनाउने कोसिस गरेका छौँ।”

चलचित्र सामाजिक विषयमा तयार गरिएको छ। उक्त चलचित्रमा अभिनेता क्षेत्रीसँगै सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गरेका छन्।

डा. भोला रिजालको कथामा आधारित उक्त चलचित्रलाई डा. कपिल रिजालले निर्देशन गरेका छन्। निर्देशक रिजालकै पटकथा रहेको उक्त चलचित्रको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। निर्देशक रिजालले ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यको प्रतीकात्मक अर्थ बोकेको बताए।

“हामीले चलचित्रमा घर र परिवारको महत्व देखाउन खोजेका छौँ, जहाँ शिक्षाको महत्त्वपूर्ण भूमिका छ”, निर्देशक रिजालले भने।

उक्त चलचित्रलाई सुमन गिरी र निर्देशक रिजालले संयुक्त रूपमा निर्माण गरेका छन्। सङ्गीतकार शम्भुजीत बाँस्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीले सङ्गीत सृजना गर्नुभएको चलचित्र ‘गौँथली’मा एलिस कार्कीले पार्श्वसङ्गीत सृजना, मिलन श्रेष्ठले सम्पादन गरेका छन्।

प्रकाशित: १७ जेष्ठ २०८३ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App