सिनेमा क्षेत्रमा कलाकार तथा प्राविधिक टिमले पारिश्रमिक नपाएको गुनासो हामी सबैले सुन्दै आएका छौँ। यो घटनाको सिकार यस पटक अभिनेत्री गरिमा शर्मा भएकी छन्।
सुरुमा चलचित्र निर्माण गर्नका लागि निर्माण टिम कलाकार तथा प्राविधिक टिमलाई काम गरिदिन पछि पर्ने र त्यही काम सकिएपछि निर्माण टिम सम्पर्कविहीन भइदिने। कलाकार तथा आफूले पैसा तिर्नुपर्ने व्यक्तिको म्यासेज फोन नउठाउनु सिनेमा क्षेत्रमा यो गम्भीर रोग हो।
यी नै विषयवस्तुलाई लिएर अभिनेत्री गरिमा शर्मा खनिएकी छन्। उनले मंगलबार सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘कलाकारको शोषण भन्नाले कलाकारको प्रतिभा, मेहनत, समय, लोकप्रियता र सिर्जनात्मक क्षमताको अनुचित फाइदा उठाउनु हो। सरल भाषामा भन्नुपर्दा, कलाकारले आफ्नो समय, सीप र मेहनत लगानी गर्ने तर त्यसको उचित सम्मान, पारिश्रमिक र अधिकार नपाउनु नै कलाकारको शोषण हो।’
चेतावनी दिँदै उनले लेखिन्,‘यो बुझ्नु भयो भने सबैले जिम्मेवारी के के बाँकी छ गरिदिनुहोला, अनि सम्पर्कविहीन भएकाहरू कृपया सम्पर्कमा आइदिनुहोला। अर्को पोस्ट अझै राम्रो आउने छ, तस्बिरसहित।’
हालको लागि भने उनले उक्त पोस्टमा कसैलाई ट्याग गरेकी छैन। उनले भनिन्,‘अहिले ट्याग गरिन है, सबै जना उचित अवसर पाउन योग्य छन्।’
प्रकाशित: १ मंसिर २०८३ १७:२४ मंगलबार


-600x400.jpg)


