१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

‘माया भनेकै यस्तो होला’ को पोस्टरमा मदनकृष्णदेखि सृष्टिसम्म

चलचित्र ‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। मुख्य कलाकार अटाउँदै निर्माण टिमले आज चलचित्रको पोस्टर सार्वजनिक गरेको हो।

पोस्टरको केन्द्रमा सिनेमाका नायक दील श्रेष्ठ छन्। उनी हल्दी डे मनाइरहेका छन्। उनको हल्दी डेमा छन्, मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठ छन्।

विवाहपूर्व मनाइने यो हल्दी डेमा उस्थिति सबै प्रफुल्ल मुद्रामा छन्। हल्दी डेका लागि सजाइएको झकिझकाउ स्पेस र उपस्थितहरूको पहिरनले खानदानी परिवारको छोराको बिहे भइरहेको प्रस्ट पारेको छ। नम्राताको हातमा बधाइका लागि हुनेवाला दुलाहालाई दिन ल्याएको बुके छ।

मदनकृष्ण भने ह्विलचेयरमा छन्। यसले उनी शारीरिक रूपमा अशक्त रहेको देखाउँछ। पूर्ण पारिवारिक यो पोस्टरले सिनेमा फेमेली ड्रामा रहेको बताएको छ। पोस्टरले सपरिवार सिनेमा हेर्न हलमा आउन दर्शकलाई अपिल पनि गरेको छ।

अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको यो चलचित्र भदौ २६ गते रिलिज हुँदै छ। हाल यो सिनेमा पोस्ट प्रोडक्सनको चरणमा छ।

चलचित्र ‘माया भनेकै यस्तो होला’ मार्फत अभिनेत्री रेखा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सिनेमा निर्देशन गरिसकेकी उनको यो तेस्रो निर्देशकीय फिचर फिल्म हो।

निर्देशनमा केन्द्रित रेखाले यसपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ भन्दा बाहिर आएर चलचित्र निर्देशन गरेकी हुन्। ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ। विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ। लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन्।

यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्नेछ। ध्रुव लम्सालको पटकथा लेखन रहेको छ।

सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन्।

यो चलचित्रलाई देशभरका प्रमुख वितरक कम्पनीहरू रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।

प्रकाशित: २७ असार २०८३ १२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App