१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

काठमाडौं फिल्म फेस्टिभलमा विदेशीलाई निम्तो

काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको काठमाडौं फिल्म फेस्टिभलमा विदेशी पाहुनालाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिभलको आयोजना गर्ने भएको छ ।

आइतबार महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले आर्थिक वर्ष २०८३, ८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै फेस्टिभलको आयोजना गर्ने बताइन । 

डंगोलले भनिन्, ‘विदेशी पाहुना समेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको काठमाडौं फिल्म फेस्टिभलको आयोजना गरिनेछ। मौलिक तथा परम्परागत सिप, कला र ज्ञानको जगेर्ना, पुस्तान्तरण एवम पुनरोत्थानको लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, तथा वास्तुकलात्मक महत्वका निजी तथा संस्थागत भवन पुननिर्माण गर्न र सम्पदा बस्ती संरक्षण गर्न प्रोत्साहित गरिनेछ।’

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डंगोलले भनिन्, ‘काठमाडौंलाई खुला तथा जीवन्त संग्रहालय र रचनात्मक सहरको रूपमा विकास गरिनेछ। यहाँका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, सामाजिक महत्वका मठ, मन्दिर, चैत्य द्योस्छें, वहा– वहि, हिती, पोखरी, गुम्बा, स्तुपा, चोक, ननि, डबली, फल्चा लगायतका संरचना तथा सम्पदा स्थलहरूको अध्ययन, डिजिटल अभिलेखीकरण, मौलिक नामाकरण, नक्सांकन, मर्मत, जिर्णोद्धार, पुननिर्माण गरी संरक्षण, सम्वर्धन र प्रवर्धन गरिनेछ।’

यसले काठमाडौंलाई खुला तथा जीवन्त सङ्ग्रहालय र रचनात्मक सहरको रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।

महानगरपालिकाले इन्द्रजात्रा तथा सेतो मछिन्द्रनाथ जात्रा लगायतका अन्य ऐतिहासिक तथा साँस्कृतिक जात्रा मार्गमा सम्पदामैत्री भवनको फसाड (अगाडिको मोहडा) निर्माण गर्न प्रोत्साहन गर्ने नीति लिएको छ।

प्रकाशित: ३१ जेष्ठ २०८३ १५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App