संसदमा बैठक चल्दा सेयर कारोबार नगर्न सभामुख डोलप्रसाद अर्यालको निर्देशनबारे कलाकार खगेन्द्र लामिछानेले सहमती जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले सांसदहरुको ध्यान सेयर बजारमा भन्दा देश बनाउने तिर हुनुपर्ने बताए।
उनले भने,‘संसदीय बैठकमा सांसद ज्यूहरुको ध्यान नै सेयर बजारमा गयो भने देश निर्माणमा कसले ध्यान दिने भन्ने विषय एकदमै टड्कारो बन्यो है माननीय ज्यूहरु। कृपया त्यसो नगरौँ।’
यस्ता समस्या सुटिङको बेला पनि हुने गरेको बताउँदै उनले भने, ‘केही बर्ष अगाडि सेयर कारोबारबाट एकदमै फाइदा भैरहेको समयमा फिल्ममा काम गर्ने असिस्टेन्ट डाइरेक्टरदेखि कतिपय कलाकारसम्म डाइरेक्टरले कट भन्नेबित्तिकै मोबाइल लिएर एउटा कुनामा गैहाल्ने प्रचलन थियो।’
अहिले सेयर बजार डाउन भएका कारण फिल्मकर्मीको रुचि पनि घटेको उनको भनाइ छ। उनले थपे, ‘अहिले सेयर बजार डाउन भएकोले त्यसमा फिल्मकर्मीको खासै रुची देखिँदैन।
प्रकाशित: २२ श्रावण २०८३ ११:१७ शुक्रबार





