ठूलो लगानी र नाम चलेका कलाकारहरूको जमघटका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ। छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले चलचित्रको कलाकार टोलीमा थप दुई पात्रलाई भित्र्याएको छ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरीको प्रवेश भएको हो।
छायांकनको १४ औं दिनमा उनीहरू सेटमा जोडिएसँगै चलचित्रको क्यानभास अझ फराकिलो बनेको निर्देशक वसन्त निरौलाले बताए।
गत चैत २ गते नेपाल–भारत सीमावर्ती शहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूको समिश्रण छ।
चलचित्रका मुख्य ‘पाँच पाण्डव’ को भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) छन्।
यी पाँच पात्र केन्द्रमा राखेर बुनिएको कथामा महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र जनी गुरुङ देखिनेछन्।
चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै पौराणिक वा धार्मिक कथा नभई पूर्ण रूपमा ‘सोसल ड्रामा’ (सामाजिक कथा) भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन्। चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्ब प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।
प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार चलचित्रलाई भव्य बनाउन बजेटमा कुनै पनि कम्प्रमाइज गरिएको छैन। ‘हामीसँग हरिवंश दाइ जस्ता दिग्गज कलाकारदेखि नयाँ पुस्ताका प्रिय कलाकारहरू हुनुहुन्छ। यो यस वर्षकै प्रतिक्षित चलचित्र बन्नेमा हामी ढुक्क छौं,’ श्रेष्ठले भने। नवीनले यसअघि गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए।
चलचित्रको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छन्। ४० दिनको छायांकन तालिका तय गरिएको यस चलचित्रको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछ। झापाको सेड्युल सकिएपछि टोलीले अन्य स्थानको लागि यात्रा तय गर्ने निर्देशक निरौलाले बताए।
कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो चलचित्रलाई श्याम तामाङले खिच्दै छन्। प्राविधिक रूपमा पनि ‘पाँच पाण्डव’ विशेष हुने देखिएको छ। दर्शकले यो चलचित्रमा ‘फुल डल्बी एट्मस’ साउन्डको गुणस्तरीय अनुभव गर्न पाउनेछन्।
म्युजिक नेपालले भर्खरै सञ्चालनमा ल्याएको अत्याधुनिक डल्बी एट्मस साउन्ड स्टुडियोमा यसको साउन्ड डिजाइन र मिक्सिङको काम हुने निर्माण टिमले जनाएको छ।
दिग्गज कलाकारहरूको अभिनय, सामाजिक कथावस्तु र अत्याधुनिक प्रविधिको प्रयोगका कारण ‘पाँच पाण्डव’ ले सिने वृत्तमा अहिलेदेखि नै निकै चर्चा कमाउन सफल भएको छ।
प्रकाशित: १५ चैत्र २०८२ १३:४५ आइतबार





