२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

सामाजिक सञ्जालमा राखिएका चलचित्रको भाग तत्काल हटाउन चलचित्र विकास बोर्डको आग्रह

 चलचित्र विकास बोर्डले सामाजिक सञ्जालमा सिनेमाघरमा प्रदर्शनरत चलचित्रलाई मोबाइलमा खिचेर फेसबुक, टिकटकलगायतका सञ्जालमा हाल्नेहरुलाई दृश्य तत्काल हटाउन आग्रह गरेका छन्।

बोर्डले आइतबार विज्ञप्ति जारी गर्दै यसो गर्ने व्यक्तिलाई नगर्न अग्रह गरेको छ। प्रदर्शनमा रहेको चलचित्र ‘गौंथली’ लगायतका चलचित्रहरुको मुख्य भाग नै सामाजिक सञ्जालमा देखिन थालिएपछि यस्ता खालको क्रियाकलाप नगर्न चलचित्र निर्देशक कपिल रिजालले समेत केही दिन अगाडि आग्रह गरेका थिए।  

विज्ञप्तिमा लेखिएको छ, ‘ चलचित्रघरभित्र चलचित्रको कुनै पनि अंश खिच्ने, रेकर्ड गर्ने, प्रतिलिपि बनाउने, प्रसारण गर्ने वा सार्वजनिक रूपमा उपलब्ध गराउने कार्य प्रचलित प्रतिलिपि अधिकार ऐन, २०५९, विद्युतीय कारोबार ऐन, २०६३ तथा चलचित्रसम्बन्धी अन्य प्रचलित कानुनी व्यवस्थाविपरीत हुन सक्ने विषयप्रति बोर्ड सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ।’

नकारात्मक असर पर्ने भन्दै थप लेखिएको छ–‘अनधिकृत रेकर्डिङ तथा डिजिटल पाइरेसीका कारण निर्माता, निर्देशक, कलाकार, प्राविधिक, वितरक, प्रदर्शक तथा लगानीकर्तालाई प्रत्यक्ष आर्थिक क्षति पुग्नुका साथै नेपाली चलचित्र उद्योगको विकास, चलचित्र व्यवसाय तथा बौद्धिक सम्पत्तिको संरक्षणमा समेत गम्भीर नकारात्मक असर पर्ने गर्दछ।

यस सन्दर्भमा चलचित्र विकास बोर्ड सबै सरोकारवालाहरूसमक्ष देहायबमोजिम अनुरोध गर्दछः  

१. प्रदर्शनरत नेपाली, विदेशी तथा विभिन्न भाषाका चलचित्रहरूको अनधिकृत रूपमा रेकर्ड गरिएका दृश्य, क्लिप वा अन्य सामग्री सामाजिक सञ्जाल वा डिजिटल माध्यमहरूमा पोस्ट गरिएको भए त्यस्ता सामग्री तत्काल हटाइदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।  

२.चलचित्रघरभित्र कुनै पनि चलचित्रको भिडियो वा अडियो रेकर्डिङ नगर्न तथा यस्ता गतिविधिमा संलग्न नहुन सम्पूर्ण दर्शकमहानुभावहरूमा हार्दिक अनुरोध छ।  

३. सामाजिक सञ्जाल प्रयोगकर्ता, कन्टेन्ट क्रिएटर, पेज सञ्चालक तथा डिजिटल प्लेटफर्म प्रयोगकर्ताहरूले प्रतिलिपि अधिकारको सम्मान गर्दै जिम्मेवार र कानुनसम्मत व्यवहार अपनाइदिनुहुन अनुरोध छ ।  

४.चलचित्रघर सञ्चालक तथा प्रदर्शकहरूले क्याम ( रेकर्डिङ तथा पाइरेसी नियन्त्रणका लागि आन्तरिक निगरानी प्रणाली थप प्रभावकारी बनाउनुका साथै यस्ता गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराई आवश्यक सहयोग पुर्‍याइदिनुहुन अनुरोध छ ।  

५. अनधिकृत रेकर्डिङ, डिजिटल पाइरेसी तथा प्रतिलिपि अधिकार उल्लङ्घनसम्बन्धी गतिविधिमा संलग्न जो-कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही हुन सक्ने भएकाले यस्ता गैरकानुनी कार्यमा संलग्न नहुन चलचित्र विकास बोर्ड सबैमा आग्रह गर्दछ।  

प्रकाशित: १७ श्रावण २०८३ १५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App