चलचित्र विकास बोर्डले अगामी कान्स फिल्म फेस्टिभलमा नेपालको तर्फबाट औपचारिक सहभागिता जनाउँदैछ।
७१ औँ कान्स फेस्टिभल अगामी १२ देखी २३ सम्म फ्रान्सको कान्स शहरमा आयोजना हुने भएको छ। बोर्डका अनुसार नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य विस्तार तथा नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्व स्तरमा पहुँच दिलाउने उद्देश्यले यो सहभागिता तय गरिएको हो। उक्तm फेस्टिभलमा चलचित्र विकास बोर्ड र पर्यटन बोर्डको सहकार्यमा नेपालको एक स्टल पनि राखिँदैछ।
कान्समा गएर आफै व्यक्तिगत रूपमा सहभागी हुने नेपाली चलचित्रकर्मीहरूले बोर्डको स्टल साझा गर्न पाउने छन्। साथै आफ्नो चलचित्र, पोस्टर, ट्रेलर तथा अन्य प्रचार सामग्री अन्तर्राष्ट्रिय दर्शक, वितरक तथा सहकार्यकर्तासमक्ष प्रदर्शन तथा प्रचार–प्रसार गर्न सक्नेछन्।
उक्त फेस्टिभलमा व्यक्तिगत रुपमा उपस्थित हुन नसक्ने चलचित्रकर्मीले भने आफ्ना प्रचार सामग्री बोर्डमार्फत पेश गर्नुपर्ने जनाइएको छ। फेस्टिभलमा सहभागी हुन इच्छुक चलचित्रकर्मीहरूलाई चलचित्र विकास बोर्डसँग समन्वय गर्न पनि अनुरोध गरिएको बोर्डले सोमबार जानकारी दिएको छ।
प्रकाशित: २६ फाल्गुन २०८२ १२:१२ मंगलबार

