चलचित्र विकास बोर्डले माग्यो वृत्तचित्र, लघु चलचित्र प्रतियोगितालाई आवेदन माग गरेको छ ।
कला, संस्कृति, भाषा र साहित्यको संरक्षण, सुशासन प्रवर्द्धन, पर्यटन विकास तथा सामाजिक रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले वृत्तचित्र तथा लघु चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने गरी प्रतियोगिता गर्न लागेको बोर्डले जनाएको छ।
बोर्डले शिक्षामूलक, सन्देशमूलक र सचेतनामूलक विषयवस्तुमा आधारित वृत्तचित्र तथा लघु चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने लक्ष्यसहित इच्छुक स्रष्टाहरूबाट आवेदन माग गरेको हो । सो प्रतियोगितामा सहभागी हुन चलचित्र विकास बोर्डबाट स्वीकृत ढाँचाको आवेदन फाराम भरी सूचना प्रकाशित भएको मितिले ७५ दिनभित्र बोर्डको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।
‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता सम्बन्धी कार्यविधि, २०८२’ को दफा ३ बमोजिम प्रकाशित सूचनामा प्रतियोगितासम्बन्धी थप विवरण बोर्डको सूचना पाटी तथा आधिकारिक वेबसाइटमार्फत उपलब्ध गराइने जनाइएको छ ।
बोर्डले यो कार्यक्रममार्फत स्वदेशमै सिर्जनात्मक अवसर, उत्प्रेरणा र जागरण अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित: ७ मंसिर २०८२ १९:१५ आइतबार





