१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

कथाकार मैनालीको ‘परालको आगो’ कथामा चलचित्र

नेपाली कथा साहित्यका लाेकप्रिय कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ मा आधारित सिनेमाको औपचारिक वर्कसप सुरु भएको छ। सिनेमालाई उत्कृष्ट बनाउन निर्माण पक्षले सबै कलाकारलाई एकै ठाउँमा भेला पारेर वर्कसप थालेको हो।

वर्कसपमा मुख्य कलाकारहरू सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपाने लगायत सहभागी छन्। कलाकारहरू आफ्नो चरित्र थप जीवन्त बनाउन अभ्यास गरिरहेका छन्।

सिनेमाका निर्माता सुशील पोखरेल र लेखक सुशील देवकोटा पनि वर्कसपमा उपस्थित छन्। निर्माता पोखरेलले सिनेमालाई उत्कृष्ट बनाउन आफू प्रत्यक्ष संलग्न भएको बताए। सिनेमाको निर्देशन लक्ष्मण सुनारले गर्दै छन्।

सिनेमामा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको गीत रहनेछ। त्यस्तै शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतकाे संगीत रहने भएकाे छ। निर्माण पक्षका अनुसार वरिष्ठ संगीतकार शान्ति ठटाललाई दुई महिनाअघि नै उनको निवासमा पुगेर संगीत प्रयोगको अनुमति लिइएको थियो।

‘परालको आगो’ को छायांकन आउँदाे भदौ २६ गतेदेखि म्याग्दीको रमणीयस्थलहरूमा सुरु हुनेछ। छायांकन संकल्प भुजेलले गर्नेछन्। सिनेमाको प्राविधिक टोलीमा रामजी लामिछाने नृत्य निर्देशन, सुलक्षण भारती स्क्रिप्ट डक्टोरिङ, सुशील देवकोटा लेखन र नगेन्द्र घिमिरे प्रोडक्सन म्यानेजरकाे रूपमा रहेका छन्।

मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश ‘परालको आगो’ कथालाई ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि सिनेमा बनाएका थिए। जुन सिनेमा व्यावसायिक रूपमा सफल भएको थियो। नयाँ संस्करणको प्रदर्शन मिति भने निर्माण पक्षले अझै सार्वजनिक गरेको छैन।

प्रकाशित: २ भाद्र २०८२ १२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App