साहित्यकार तथा सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको पाँचौं स्मृति दिवसमा मनाइएकाे छ।
सिद्धार्थ वनस्थली इन्स्टिच्यूटले आयोजना गरेकाे कार्यक्रममा वक्ताहरूले लक्ष्मण राजवंशीको साहित्यिक तथा बहुआयामिक व्यक्तित्वबारे चर्चा गरेका थिए।
उक्त अवसरमा समाजसेवी तथा इन्स्टिच्यूटमा पूर्व शिक्षिका शारदा मरहट्ठालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठ र प्राचार्य रूपक राजवंशीले नगद २५ हजार रुपैयाँसहित सम्मान गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा इन्स्टिच्यूटका पूर्व विद्यार्थी डा. सर्वोत्तम श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा इन्स्टिच्यूटका कर्मचारी सन्तपाल डङ्गोलले राजवंशीको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरेका थिए। संस्थाप्रति लक्ष्मण राजवंशीको समर्पण, श्रम र निष्ठाको मुक्त कण्ठले प्रशंसा गर्दै डङ्गोलले उनको साहित्यिक योगदानबारे चर्चा गरेका थिए। उनकै परिश्रम र दूरदर्शिताका कारण इन्स्टिच्यूटले सक्षम जनशक्ति निर्माणमा सकारात्मक भूमिका खेल्न सकेको बताए।
समारोहमा इन्स्टिच्यूटका प्राचार्य रूपक राजवंशीले संस्थापक प्राचार्य तथा आफ्ना पिताको सम्झना गर्दै उनको त्याग र समर्पणका कारण विद्यालयबाट दीक्षित विद्यार्थीहरू विश्वभरि फैलिएर रहेका छन्; विद्यालयको ख्याति विश्वव्यापी बनेको छ भने।
कार्यक्रमका सभाध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले लक्ष्मण राजवंशीको योगदानको चर्चा गर्दै पुरस्कृत व्यक्तित्व शारदा मरहट्ठाबारे चर्चा गरेका थिए।
छहत्तर वर्षीया सम्मानित व्यक्तित्व शारदा मरहट्ठाले आफू सम्मानित भएकामा खुसी व्यक्त गर्दै लक्ष्मण राजवंशीको कुशल र सक्षम अभिभावकीय नेतृत्वको चर्चा गरेका थिए।
लाेकप्रिय साहित्यकार इन्स्टिच्यूटका पूर्व विद्यार्थी यादव भट्टराईले झण्डै तीन दर्जन कृतिका स्रष्टा लक्ष्मण राजवंशीको बहुआयामिक व्यक्तित्वबारे चर्चा गरेका थिए। यस दिनले हामीलाई उनकै पदचिह्नमा हिँड्न प्रेरित गरेको बताए। यसका साथै भट्टराईले गुरुआमा शारदा मरहट्ठाको व्यक्तित्वमाथि प्रकाश पार्दै उनी स्पष्टवक्ता र प्रेरक व्यक्तित्व भएको बताए।
समारोहमा भाइस प्रिन्सिपल सुनीता सिंह, सिद्धार्थ वनस्थली इन्स्टिच्यूट एलुम्नाइ एसोसिएसनका अध्यक्ष राजेश रौनियार, इस्टुका अध्यक्ष अर्जुन केसी, शिक्षक ऋषिराम उपाध्याय लगायतले लक्ष्मण राजवंशीको योगदानको स्मरण गर्दै श्रद्धा व्यक्त गरेका थिए।
शिक्षा, साहित्य, समाजसेवा, प्रशासन एवं राजनीतिका क्षेत्रमा सुपरिचित सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका संस्थापक प्राचार्य लक्ष्मण राजवंशी नेपाली भाषा, नेपाल भाषा र अङ्ग्रेजी भाषामा कलम चलाउने स्रष्टाका रूपमा ख्यातिप्राप्त छन्।
प्रकाशित: १२ वैशाख २०८३ ०६:५५ शनिबार





