११ कार्तिक २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

नेपोटिज्म बहसबारे सारा- मेरो लागि बुबाले निर्मातासँग कहिल्यै काम माग्नुभएन

बलिउड अभिनेत्री सारा अली खानले आफ्नो करिअरमा बुबा सैफ अली खानले कहिल्यै कुनै निर्मातासँग काम माग्ने वा सम्झौता गरिदिने काम नगरेको बताएकी छन्।

बलिउडमा प्रवेश गरेको आठ वर्ष पुगिसक्दा पनि ‘नेपोटिज्म’ को आरोप खेपिरहेकी साराले पारिवारिक पृष्ठभूमिका कारण पहुँच पाएको स्वीकार गर्दै आफ्नो मेहनतलाई पनि अवमूल्यन नगर्न आग्रह गरेकी हुन्।

अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंहकी छोरी साराले डेब्युअघि आफूलाई बुबाको कुनै ‘गडफादर’ जस्तो आड नरहेको बताएकी छन्।

उनका बुबा-आमाको सन् २००४ मा सम्बन्धविच्छेद हुँदा उनी नौ वर्षकी मात्र थिइन्। त्यसपछि उनी आफ्नी एकल आमा अमृतासँग बस्दै आएकी थिइन्। त्यतिबेलासम्म सैफले अभिनेत्री करिना कपूरसँग दोस्रो विवाह गरिसकेका थिए।

आफ्नो पारिवारिक पृष्ठभूमिबारे खुल्दै साराले भनेकी छन्, ‘म एकल आमासँग बस्छु। मेरा बुबा मेरा लागि विभिन्न कार्यालय धाउँदै, सम्झौताहरू मिलाउँदै र फिल्ममा लिन मानिसहरूसँग अनुनयविनय गर्दै हिँड्नुभएको थिएन। फिल्म उद्योगमा मेरो कुनै शक्तिशाली अभिभावक वा सहयोगी थिएन।’

सन् २०१८ मा अभिषेक कपूर निर्देशित फिल्म ‘केदारनाथ’ बाट डेब्यु गर्दा निर्माणमा भएको ढिलाइका कारण विवाद उत्पन्न भएको थियो। सोही समयमा अर्को फिल्म साइन गरेपछि केदारनाथका निर्माताहरूले साराविरुद्ध पाँच करोड भारतीय रूपैयाँ क्षतिपूर्ति माग्दै अदालतमा मुद्दा दायर गरेका थिए।

उक्त विवाद बुबा सैफले मिलाइदिएको भनी बाहिर आएका समाचारहरूको खण्डन गर्दै साराले भनिन्, ‘केदारनाथको समस्या आउँदा मैले आफैँ समाधान गर्ने प्रयास गरेँ, त्यतिबेला मसँग कोही थिएन।’ पछि निर्देशक रोहित शेट्टीले आफ्नो फिल्म ‘सिम्बा’ को सुटिङ तालिका मिलाइदिएपछि उनले केदारनाथको छायाङ्कन पूरा गरेकी थिइन् र मुद्दा अदालतबाहिरै टुङ्गिएको थियो।

नातावादको बहसलाई स्वीकार गर्दै साराले पारिवारिक पृष्ठभूमिले सजिलै अवसर दिलाउने कुरा लुकाउन नहुने बताइन्। ‘म यति अज्ञानी वा भ्रममा परेको छैन कि यसले अवसरका ढोकाहरू खोलिदियो भन्ने स्वीकार नगरूँ। यसले मलाई अभिनेत्री बन्नुअघि नै पहुँच, पहिचान र प्रसिद्धि दियो,’ उनले भनिन्।

फिल्म ‘केदारनाथ’ रिलिज हुनुभन्दा चार महिनाअघि मात्र इन्स्टाग्राम खाता खोलेकी साराका २४ घण्टाभित्रै २ लाख ४६ हजारभन्दा बढी फलोअर पुगेका थिए।

तर, पारिवारिक नामले पहिलो फिल्म दिलाउन सजिलो भए पनि उद्योगमा आठ वर्ष टिक्न आफ्नै योग्यता चाहिने उनको तर्क छ। ‘कहिलेकाहीँ हामीबाट अपेक्षा गरिने मापदण्ड निकै उच्च हुन्छ। नेपोटिज्म एउटा नराम्रो शब्द जस्तै बनेको छ, जसले हाम्रो मेहनतको महत्त्वलाई ओझेलमा पारिदिन्छ,’ उनले भनिन्।

यसै क्रममा साराले फिल्मी परिवारबाटै आएका आफ्ना समकालीन अभिनेत्रीहरू जाह्नवी कपूर र अनन्या पाण्डेको पनि बचाउ गरेकी छन्। जाह्नवी दिवङ्गत अभिनेत्री श्रीदेवी र निर्माता बोनी कपूरकी छोरी हुन् भने अनन्या अभिनेता चंकी पाण्डेकी छोरी हुन्।

‘जाह्नवी, अनन्या वा म कसैले पनि कस्तो परिवारमा जन्मिने भन्ने रोजेका होइनौं। हामी भाग्यमानी मात्र हौं,’ साराले थपिन्, ‘हाम्रो कुनै गल्ती नै नभएको विषयमा हामीलाई दोषी ठहर गर्नु उचित होइन।’

आफ्नो योग्यता पटक-पटक प्रमाणित गरिरहनु नपर्ने धारणा राख्ने सारा यस वर्ष अभिनेता आयुष्मान खुरानासँग दुईवटा फिल्ममा देखिँदै छिन्। उनीहरूले मुदस्सर अजिजको रोमान्टिक कमेडी ‘पति पत्नी और वो दो’ र आकाश कौशिकको स्पाइ कमेडी ‘उडता तीर’ मा एकसाथ अभिनय गरेका थिए।

प्रकाशित: ११ कार्तिक २०८३ १५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App