चर्चित अमेरिकी अभिनेत्री हेडेन प्यानेटिएरको ३६ वर्षको उमेरमा निधन भएको छ।
लोकप्रिय टेलिभिजन शृंखला 'हिरोज' र 'न्यासभिल' मा समेत भूमिका निभाएकी उनको निधनको खबर उनका बुबा स्किप प्यानेटिएरले एक विज्ञप्ति मार्फत सार्वजनिक गरेका हुन्।
प्रहरीका अनुसार दक्षिण क्यारोलिनाको ग्रिनभिलमा उनको निधन भएको हो। घटनास्थलमा पुगेका आपत्कालीन सेवाका कर्मचारी र चिकित्सकहरूले उनलाई बचाउने प्रयास गरे पनि सफल भएनन्।
ग्रिनभिल प्रहरी विभाग र कोरोनरको कार्यालयले संयुक्त रूपमा घटनाको अनुसन्धान गरिरहेको बताउँदै प्रारम्भिक अनुसन्धानमा कुनै पनि शंकास्पद परिस्थिति नदेखिएको जनाएको छ।
प्यानेटिएरले यसअघि नै प्रसवोत्तर डिप्रेसन र लागुपदार्थको लतसँगको आफ्नो संघर्षका बारेमा खुलाएकी थिइन्। केही समय अगाडि मात्रै उनले आफ्नो संस्मरण 'दिस इज मी: ए रेकनिंग' प्रकाशित गरेकी थिइन्, जसमा उनले आफ्ना जीवनका उतारचढावबारे खुलेर कुरा गरेकी थिइन्।
उनका भाइ ज्यान प्यानेटिएरको पनि सन् २०२३ मा हृदयघातका कारण निधन भएको थियो। सन् १९९४ देखि स्क्रिन कलाकारहरूको युनियनकी सदस्य रहेकी प्यानेटिएरले ११ महिनाको उमेरबाटै विज्ञापनमा काम गर्न थालेकी थिइन्।
उनले 'वन लाइफ टु लिभ', 'हिरोज', 'न्यासभिल' जस्ता चर्चित टेलिभिजन शृंखलाका साथै 'रिमेम्बर द टाइटन्स' र 'ए बग्स लाइफ' जस्ता चलचित्रमा आफ्नो अभिनय र स्वरमार्फत दर्शकको मन जितेकी थिइन्।
उनको निधनप्रति हलिउड कलाकारहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रकाशित: १ भाद्र २०८३ १६:१२ सोमबार





