१९ असार २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘कालो आँधी’ मनालापमा अस्तित्ववादी चिन्तन

पुस्तक

प्रस्तुत ‘कालो आँधी मनालापमा अस्तित्ववादी चिन्तन’ शीर्षकको लेख मनालाप शैलीमा लेखिएको कालो आँधी निबन्धसङ्ग्रहमा अस्तित्ववादको खोजी गर्ने कार्यमा केन्द्रित छ।  प्रस्तुत विश्लेष्य पाठमा प्रयुक्त पात्रहरूमा स्वअस्तित्वको चेतना कसरी र कुन रूपमा उद्बुद्ध भएको छ भन्ने प्राज्ञिक जिज्ञासाको समाधान खोजिएको छ।  प्रस्तुत कालो आँधीमा प्रयोग भएका पात्रहरू चेतनशील र चिन्तनशील भएकाले आफ्नो जीवनका बारेमा स्वतन्त्र निर्णय गर्न र स्वकर्तव्यको चयन र परिणामको उत्तरदायित्व वहन गर्न सचेत छन्।  अरूका दबाब र प्रभावबाट मुक्त रही सामाजिक विसङ्गतिसँग सङ्घर्ष गर्दै अस्तित्वकायम गर्न सफल भएका छन्।  रोग र समस्याग्रस्त पात्रहरूले भोगेका जीवनका कठिन अवस्था र  तिता अनुभूतिबाट  विसङ्गतिको झलक देखाएर समस्याबाट पलायन होइन जीवनमुखी बनेर अस्तित्वको खोजी गर्न उत्प्रेरित गर्न सक्षम भएको छ। विशेष गरी समाख्याता पात्रले भोगेका र अनुभूत गरेका जीवनका विसङ्गत स्थितिका माध्यमबाट अस्तित्ववादी चिन्तन प्रस्तुत गर्न यो कृति सफल भएको छ।  कृतिभित्रको सामाजिक परिवेश र पात्रहरूका क्रियाकलापको समग्र विश्लेषण गर्दा कालो आँधी अस्तित्ववादी चिन्तन प्रवाहगर्न सफल उत्कृष्ट रचना सिद्ध भएको छ।

शब्दकुञ्जी: आत्मालाप, अस्तित्वबोध, अन्तर्सङ्घर्ष, पलायनमुखी,निरीश्वरवाद।  

विषय परिचय

कालो आँधी दामोदर पुडासैनी ‘कशिोर’द्वारा रचित मनालाप शैली प्रयोग भएको निबन्ध सङ्ग्रह हो।  लेखकका निजी जीवनमा अचानक आइपरेको अकल्पित क्यान्सररूपी कालो आँधीका कारण उत्पन्न भएका भावनात्मक ज्वारभाटाहरूलाई मनालाप शैलीमा प्रस्तुत गरिएको छ। रोगको आक्रमणले मन र शरीर क्षतविक्षत बनाएर मृत्युसँग सङ्घर्ष गरिरहेका परिस्थितिमा समाजलाई नजिकबाट चिनेपछि उत्पन्न भएको उकुसमुकुस र छटपटीलाई आत्मालापका रूपमा पोखिएको छ। जीवनका उतारचढाबका परिदृश्यमा विसङ्गति र मृत्युबोधसमेत अनुभूत भएपछि बाँच्नका लागि गरेका प्रयास र सङ्घर्षको विवरण यसमा प्रस्तुत गरिएको छ।  पुडासैनी कविता र यात्रा साहित्यका फाँटमा झाङ्गिएको विशाल वटवृक्ष हुन्।  बाल्यकालदेखि नै कविता विधामार्फत साहित्ययात्रा सुरु गरेर एघार ओटा कविता सङ्ग्रह र सात ओटा नियात्रा सङ्ग्रह प्रकाशित गरेका पुडासैनीको स्थापित विधा भने नियात्रा (निबन्ध) नै हो। यही निबन्ध लेखन शृङ्खलाका अर्को सिँडीका रूपमा प्रस्तुत कालो आँधी अस्तित्ववादी मनालाप आठौँ कृतिका रूपमा आएको छ।  यसलाई कोष्ठकमा ‘अस्तित्ववादी मनालाप’ विशेषण दिई लेखकले प्रस्तुत गर्न खोजेको जीवनदर्शनलाई पहिले नै प्रस्ट पारिदएिकाले उक्त अस्तित्ववादी विशेषण उपयुक्त छ कि छैन भन्ने प्राज्ञिक जिज्ञासाको मापन पर्ने उद्देश्य यस लेखले राखेको छ।  यही उद्देश्यपूर्तिका लागि अस्तित्ववादका सैद्धान्तिक पृष्ठभूमिमा स्वतन्त्र चयन, उत्तरदायित्व वहन, विसङ्गति बोध, सङ्घर्षमय जीवन, मृत्युबोध, ईश्वरीय शक्तिप्रतिका दृष्टिकोण र पहिचान र अस्तित्व स्थापना आदि केही अवधारणा निर्माण गरी कृतिको विश्लेषण गरिएको छ।  अस्तित्ववादी सैद्धान्तिक आधारमा विश्लेषण गरी निष्कर्षसमेत निकालिएकाले यस अध्ययनको उपादेयता पनि सिद्ध हुन्छ।

अध्ययनविधि

प्रस्तुत लेखमा अस्तित्ववादी सिद्धान्तलाई मुख्य आधार बनाएर कालो आँधी निबन्ध सङ्ग्रहको विश्लेषण गरिएको छ।  यसमा प्राथमिक सामग्रीका रुपमा दामोदर पुडासैनी ‘कशिोर‘ को कालो आँधीलाई लिइएको छ भने द्वितीयक सामग्रीका रुपमा अस्तित्ववाद सम्बन्धी पुस्तकहरूलाई लिइएको छ। गुणात्मक प्रकृतिको अध्ययन भएकाले यसका सामग्री पुस्तकालयीय विधिबाट सङ्कलन गरिएको छ।  उद्देश्यमूलक नमुना छनोट विधिबाट कृतिभित्रका साक्ष्यहरूको चयन गरी विश्लेषण गरेर निष्कर्षमा पुगिएको छ।

सैद्धान्तिक पर्याधार

अस्तित्ववाद दोस्रो विश्व युद्धको मध्य समयमा सन् १९४३ देखि पश्चिमी जगत्मा विकसित भएको नवीन चिन्तनधारा हो।  यसका मुख्य संस्थापक किर्के गाडलाई मानिन्छ।  यसका अन्य चिन्तकहरूमा जा पाल सार्त्र, फ्रेडरिक नित्से र अल्बर्ट कामु विशेष उल्लेखनीय छन्। उनीहरूले प्रवर्धन र विकसित गरेको यस अस्तित्ववादको मूल विशेषता परम्परित मूल्यमान्यता र आस्थाको विरुद्धमा उभिएर मानवजीवनलाई विसङ्गत र निरर्थक ठान्नु र अन्तर्जीवनको प्रत्येक क्षण महत्त्वपूर्ण मान्नु हो। मानवीय निस्सारता, व्यर्थता र विवशतालाई समाप्त पार्न मानवीय अस्तित्वको प्रबल समर्थनमा यसको ध्यान केन्द्रित भएको छ।  यसले व्यक्ति चैतन्यलाई सर्वोपरि स्थान दिएर मानव अस्मिताको खोजी गर्दछ। अस्तित्ववादीहरूको अस्तित्व परमसत्ताभन्दा सत्यसँग सम्बन्धित छ।  अस्तित्ववाद कुनै आन्तरिक परमसत्ता वा आत्मालाई नमानी व्यक्तिको सही निर्णय शक्ति वा स्वतन्त्र सङ्कल्पलाई नै मान्छेको अस्तित्व वा सत्ता मान्दछ  (त्रिपाठी, २०५८,पृ.१२१)।

संसारका अन्य भौतिक वस्तुजस्तो मनुष्यको निर्माणको मूलमा कुनै खास प्रयोजन निर्धारण गरिएको छैन। ऊ जन्मसँगै सहजात मृत्युलाई पनि लिएर आएको हुन्छ। मान्छे आफ्नो इच्छाबिना नै यस संसारमा ल्याइएको छ र सहजात मृत्युलाई अवश्यम्भावी ठानी वैयक्तिक जीवनलाई अधिकाधिक सार्थक, विशिष्ट र स्थापित तुल्याउन क्रियाशील हुनु छ।  यस कारण व्यक्तिको स्वतन्त्र इच्छा, स्वतन्त्र निर्णय, स्वतन्त्र चयन, स्वतन्त्र सङ्कल्प आदिका आधारमा यसले व्यक्ति स्वतन्त्रताको अत्यधिक महत्त्व स्थापित गरेको छ (शर्मा र लुइँटेल, २०७६ पृ. ३५०)।

अस्तित्ववादको ध्येय कुनै अनिश्चित अपरिमित शक्तिका निर्देशित सीमामा जकडिएर भ्रमित र गन्तव्यहीन बनेको निरीह मान्छेलाई निरीहताबाट मुक्त गराई स्वतन्त्र निर्णयसहित स्वकर्तव्यको बोध गर्न सक्ने बनाउनमा छ। जगत्को सत्ता मूलतः शून्य निष्क्रिय र निरपेक्ष छ, मान्छेले आफ्ना चेतनाद्वारा त्यसमा मूल्य आरोपित गर्छ।  भ्रम र अज्ञानबाट मुक्त सचेत मनुष्य नवीन सत्यको निर्माणका निम्ति सधैँ सङ्घर्षरत छ र यही सङ्घर्ष नै अस्तित्वको धर्म हो   (पोखरेल,२०४० पृ. ८३)।

परम्परित दर्शनहरूले मान्छे जन्मनु अगाडि नै उसको उद्देश्य निधारित भएको हुन्छ भन्छन् तर अस्तित्ववादी चिन्तनले यस विचारको खण्डन गर्दै मानिस पहिले जन्मिन्छ अनि आफ्नो उद्देश्य आफैँ बनाउँछ भन्छ (सार्त्र, सन् २००७, पृ. २०)।  यसरी आफ्नो अस्तित्व निर्माण गर्न सम्पूर्ण विकल्पहरूको छनोटमा मानिस स्वतन्त्र छ तर यो स्वतन्त्रता जिम्मेवारीपूर्ण भएकाले उत्तरदायित्व वहन गर्न बाध्य पनि छ।

अस्तित्ववादले व्यक्तिलाई उन्मुक्त स्वतन्त्रतामात्र होइन जिम्मेवारी र जवाफ देहिताको पनि बोझ बोक्नु पर्ने दायित्वप्रति सचेत गराउँछ। यही उत्तरदायित्वपूर्ण असीमित चयन स्वतन्त्रताका कारण मानिस सधैँ त्रस्त रहन्छ। आफूले गरेका र भोगेका कर्म र परिणामहरूको तर्क र जवाफ मानिसले खोज्छ तर संसारले त्यसको जिम्मा नलिने भएकाले विसङ्गतिको बोध गर्दछ  (कामु, १९९५, पृ. २५)।  यस्तो जटिल परिस्थितिमा आत्महत्या र पलायन होइन विद्रोह गर्दै बाँच्ने प्रयास गर्नुपर्छ भन्ने मान्यता अस्तित्ववादको रहेको छ। यो निराशा र नकारात्मकताको सिद्धान्त होइन, यो बरु आशाको सिद्धान्त हो, अन्धकारका बिचमा यसले आशा देखाउँछ, यसले मानवलाई नर्कबाट स्वर्गतर्फ तान्दछ (भट्टराई,२०४९,पृ. ४५)।

समाजको अनावश्यक दबाब, अन्य व्यक्तिहरूसँगको अपेक्षा र भीँडको मानसिकताबाट प्रभावित भएर होइन आफ्नै मूल्य र स्वतन्त्र छनोटबाट बाँच्नुपर्छ भन्ने विचारको कसीमा प्रस्तुत कृतिको विश्लेषण गर्न निम्न आधार निर्माण गरिएको छ ःक) स्वतन्त्र छनोटख) अस्तित्व र पहिचान ग) निरर्थकता र एक्लोपन घ) डर र चिन्ता ङ) जिम्मेबारी र नैतिकता च) समाजसँगको अन्तर्सङ्घर्ष छ) मृत्युबोध ज) विसङ्गति बोध झ) निरीश्वरवादी चिन्तन।  यिनै सैद्धान्तिक अवधारणाका आधारमा कालो आँधी मनालापको विश्लेषण गरिएको छ।

विमर्श र परिणाम

कालो आँधी निबन्धमा अस्तित्ववादी चिन्तनको प्रयोग भएको छ।  बिनादोष सजाय भोग्न वाध्य मानवहरूका विवशताको अटुट शृङ्खलाबाट जीवनप्रति विसङ्गत अनुभूति गरेका पात्रहरूका अन्तश्चेतनामा स्वकर्तव्यको बोध गराई जीवनबाट पलायन होइन स्वतन्त्र छनोटमार्फत अस्तित्व र पहिचान स्थापना, दायित्व ग्रहण र जिम्मेवारी बोध गरी जन्ममरण इच्छाधीन नभए पनि समस्याबाट नभागी आशावादी बनेर सङ्घर्ष गर्नुपर्छ भन्ने भाव अभिव्यक्त गरेको  पाइन्छ।  यिनै तथ्यको सत्यापन निम्नलिखित आधारमा गरिएको छ।

क) स्वतन्त्र छनोट

कालो आँधी निबन्धलाई अस्तित्ववादी  चिन्तनको व्यक्ति स्वतन्त्रता र स्वतन्त्र छनोटका आधारमा विश्लेषण गर्दा यसमा वर्णन गरिएका घटना र चित्रित गरिएका पात्रका क्रियाकलाप स्वतन्त्र चयनका रूपमा आएका छन्। यस कृतिमा पात्रका रूपमा आएका हरेक व्यक्ति आफ्नो जीवन र जीवन बाँच्ने तरिका छनोट गर्न पूर्ण स्वतन्त्र रहेका छन्।  पुडासैनीले आफ्नो वंशावली वा पुस्तावर्णनका क्रममा पूर्वजहरूले चयन गरेका जीवन यात्राका बाटाहरूको चयन स्वनिर्णयमा गरेको देखिन्छ। जीवनमा नवीन बाटो र नवीन गन्तव्यका लागि मान्छेले सही छनोट गर्यो भने मात्र आफू अनुकूल संसार निर्माण गर्न सक्छ।  “हामी मान्छेले गरेर नै हो यो संसारको अनुहार मान्छे अनुकूल बदल्ने।  अन्यथा नीरस उभिन्छ प्रकृति, नीरस उभिन्छ मान्छे।  जतिसुकै दुख बेहोरेर भए पनि नयाँ मार्गतिर शरीर जोड्न सकियो भने मात्र देखापर्ने हो नवीन बाटो (पुडासैनी,२०८२, पृ. ४)। ” प्रस्तुत भनाइबाट व्यक्तिले कर्तव्याकर्तव्यको द्विविधामा सही छनोट गरी अगाडि बढ्यो भने जीवनले सही गति लिन सक्छ।

मान्छेले संसार बदल्ने सही छनोट गर्न सकेन भने सिङ्गो वातावरणमानवजीवन नीरस र मरुभूमितुल्य बन्छ।  यसबाट आजको व्यक्ति सामाजिक बन्धन मुक्त, स्वतन्त्र र विकल्प चयनमा अङ्कुशरहित भएकाले उसले आफूलाई हिँडाउने बाटो र आफूले निर्वाह गर्नु पर्ने भूमिकाको निर्माण र निर्धारण गरी समग्र मानव समाजलाई सरस र हरियाली बनाउ सक्छ भन्ने पुष्टि भएको छ। जीवनमा आइपर्ने कठोर आँधीलाई जित्न जतिसुकै कठिन परिस्थितिमा पनि कुनै बहाना नबनाई आफ्नै बलबुतामा स्वतन्त्र निर्णयपूर्वक विकल्पहरूको छनोटबाट नै जीवनलाई सार्थक र अस्तित्वशाली बनाउन सकिन्छ। हरेक परिस्थितिमा अरूलाई जिम्मेवार बनाएर बहानाबाजीमा बाँच्ने व्यक्तिले आफैँलाई ठगिरहेको हुन्छ।  व्यक्तिका स्वनिर्णित कर्म, ज्ञान र विवेकको प्रयोगले अस्तित्वशाली भएर संसार जित्न सक्छ।  

प्रस्तुत कालो आँधीमा समाख्याताका हजुरबुबाकी आमा सामान्य नारी, अधबैँसमै पति गुमाएर विधवा बनेकी, घरपरिवारबाट अपहेलित र तिरस्कृत, पतिको अंशमा परेको सम्पत्तिसमेत खोसिएकी, कलिला दुई सन्तानकी किशोरी आमा भएर पनि आफ्ना दुख र कर्मप्रति कसैलाई गुनासो नगरी सन्तान र आफ्नो जीवनका बारेमा गरेको स्वतन्त्र निर्णयबाट अस्तित्वशालीबनेकी छन्।

झाडापखालाबाट अल्पायुमै पतिको निधन भएपछि सहारा र सहानुभूति प्रदान गर्नु पर्ने परिवार र समाजले गरेका अभद्र व्यवहार, टोकेसो तथा जीविकोपार्जनको आधार जायजेथामाथिको स्वामित्व हरण र रोजगार वञ्चितिबाट आहत भई कलिला बच्चालाई काखी च्यापेर आमाले मध्यरातमा गाउँ छोड्न लिएको निर्णय अस्तित्वका दृष्टिले महत्त्वपूर्ण छनोट थियो। 

गन्तव्य र परिणामको पूर्वानुमानसम्म गर्न नसकिने त्यस जटिल परिस्थितिमा स्वविवेक प्रयोग गरी घरपरिवार र माइतीमावलीप्रति विद्रोहको छनोट र नयाँ जीवनमार्गको यात्रा प्रारम्भ गर्नु त्यस परिवेशकी एकल महिलाका लागि सरल र सहज परिस्थिति थिएन तापनि सन्तानको भविष्य निर्माण र आफूमाथिका निराधार लाञ्छनाको विद्रोहका निम्ति निर्बल र निस्सहाय ठानिएकी विधवा आमाले आफू र सन्तानको भविष्यका निम्ति गरेको स्वतन्त्र छनोटले उनको जीवनलाई अस्तित्वशाली बनाएको छ।

सम्पूर्ण सामाजिक सम्बन्ध र बन्धनलाई तिरस्कार गरेर मध्यरातमा अबोध जोडी शिशु काखी च्यापेर पूर्व निर्धारित गन्तव्यबिना निर्जन जङ्गलको गोरेटोमा अचानक पाइला चाल्दा सांसारिक झन्झटबाट मुक्त हुन कलिला सन्तानसहित कोल्पु खोलामा हामफालेर आत्महत्या गर्ने विचार नआएको होइन तर सन्तानसहित लाचारी आत्महत्याको सरल बाटोभन्दा आफू र सन्तानलाई बचाई सङ्घर्षपूर्ण,असहज तर अमूल्य साझा जीवनको छनोट आमाको प्राथमिकतामा पर्यो। हजुरबुबाकी आमाको यही स्वतन्त्र र अस्तित्वपूर्ण जीवनको छनोट नै यस कृतिका लेखकको संसार देख्ने माध्यम बनेको छ।  यसरी एक व्यक्तिका जीवनमार्गमा आइपर्ने असङ्ख्य छनोटका विकल्पहरू मध्ये उपयुक्त विकल्पको छनोट गर्न व्यक्ति स्वतन्त्र छ र त्यही छनोटले उसको जीवनको मूल्य निर्धारण गर्दछ। 

“घनघोर कालो आँधीले हल्लाइरह्यो आमालाई।  अँधेरी रातमा दुई प्युसा लिएर गाउँबाट भागिन्। तर, कहाँ जाने केही थाहा छैन।  एक मन लाग्थ्यो यी दुई लालाबाला लिएर हामफालौँ।  धादिङ  जिल्लामा बगिरहेको कोल्पुको किनारैकिनार हिँड्दा पटकपटक प्रयास पनि गरिन् उनले आत्महत्याको। तर, हिम्मत हारिनन्।  सोचिन्— यो गाउँबाट पो निकाले मलाई, कतै न कतै न त भेटिएला नि  यी लालाबाला र म उभिने जमिन।  रात हिँडिन् दिन हिँडिन्।  घनघोर जङ्गलबाट हिँडिन्, अलल्ले भेल नाघेर हिँडिन् .......(पुडासैनी, पृ. ८)।”

प्रस्तुत साक्ष्यमा वर्णित आमाको निर्णयमा कसैको निर्देशन छैन, कसैको सहयोग पनि छैन।  पतिको निधनपछि सहारा बन्नु पर्ने परिवारका सदस्यबाट आफू र सन्तानप्रति भएगरेका अभद्र र अमानवीय व्यवहारले आफ्नो अस्तित्व रक्षाको तीव्र भोक र सन्तानको जीवन रक्षाको वाध्यताका कारण उनीभित्रकोविद्रोही नारीत्व र घायल मातृत्वले उपर्युक्त निर्णय गर्न प्रेरित गरेको छ।  सङ्घर्षमय अन्योलपूर्ण जीवन कि पलायनमुखी सामूहिक आत्महत्या भन्ने द्विविधामा कठिन सङ्घर्षयुक्त जीवनको छनोट गर्नु अस्तित्ववादी दृष्टिकोणबाट उपयुक्त चयन देखिन्छ।

यसरी नै आफ्नै परिवारबाट अपमानपूर्वक धपाइएकी विधवा आमाको विकल्पका सङ्घर्षपूर्ण छनोटबाट जोगाइएका र स्यालको सिकार हुनबाट जोगिएका समाख्याताका हजुरबुबा आफ्नै स्वतन्त्र छनोटले समाजमा अलग्गै पहिचान स्थापित गर्न सफल भएका छन्।  तिनचार वर्षको उमेरमा पिता, छ वर्षको उमेरमा भाइ र नौ वर्षको उमेरमा आमा गुमाउँदा पनि विचलित नभई मातृस्वभावलाई अवलम्बन गरी सङ्घर्षमय जीवनको छनोट गरेका छन्।

सम्पत्तिका लागि विधवा भाउजूर कलिला टुहुरा भतिजाको जीवनसँग खेलबाड गर्ने काका र ठुलोबुबाप्रति मायामोह र रिसराग नराखी एक्लै आफ्नै बलबुतामा खोरिया फाँडेर नयाँ जिन्दगीको आधार तयार गर्दै नवसिर्जनातिर लाग्नुले उनले जीवनको वास्तविकतालाई बुझेको देखिन्छ। अरूको आश्रय र निर्देशनबिना कलिलो टुहुराले स्वतन्त्र जीवन निर्वाह गर्नु, जे गर्नु छ मैले गर्नुपर्छ भनी जग्गाजमिन जोड्नु, पर्याप्त सम्पत्ति आर्जन गर्नु, आर्जित धनलाई समाजसेवा र धार्मिक कार्यमा खर्च गर्नु चयनको स्वतन्त्रता हो।  हजुरबुबा हरिचरण र उनकी धर्मपत्नीले जीवन बाँच्ने क्रममा जग्गाजमिन जोड्नु र बेच्नु, नयाँ ठाउँमा नवसिर्जना गर्नु, धर्मकर्म र समाजसेवा गर्नु, भोजभतेरमार्फत सामूहिक भावनाको विकास गर्नु र अन्त्यमा मृत्युलाई नियमित र स्वाभाविक रुपमा स्वीकार गर्नु पनि स्वतन्त्र निर्णयको नमुना हो।  “उहाँहरूले आफू र आफन्तहरूको जीवन उद्देश्यपूर्ण र उज्यालो होस् भनेर काम गर्नु भयो। त्यसै भएर पनि कुनै पश्चात्ताप बेगर मृत्युलाई हाँसीहाँसी स्वीकार गर्नुभयो (पुडासैनी, पृ. ३५)। ”

समाख्याताका पिताको जीवनमा छनोटको स्वतन्त्रता कम मिलेको देखिन्छ।  हजुरबुबाको प्रकर्ष व्यक्तित्वका अगाडि पिताले चयनको अवसर गुमाएका छन्।  विवाहजस्तो जीवनको महत्त्वपूर्ण मोडमा पनि पिताले आफू अनुकूल छनोट गर्न पाएका छैनन्। अझ बुबा र ससुराको व्यक्तित्वको टकरावका बिचमा दोस्रो विवाहको बोझ बोक्नु परेको छ।  यस घटनाले उनका जीवनमा दीर्घकालीन नकारात्मक असरहरू परेका छन् तापनि त्यसप्रति ठिक र बेठिकको जिम्मेवारी बोध गर्न सकेका छैनन्।

सायद उनले स्वतन्त्रता र छनोटको विकल्प रोज्न पाएको भए दोस्रो विवाह गर्ने थिएनन् र अबोध बालिकामाथि सौताको बोझ बोकाएर आफू पनि एउटा टाउकामा दुइटा नाम्लो भिर्ने दुस्साहासगर्ने थिएनन्।  दुवै आमाहरूको जीवनमा पनि स्वतन्त्रता र छनोटको सुविधा देखिँदैन।  यदि चयनको सुविधा हुँदो हो त पति बाँडेर गुजारा गर्नु पर्ने जीवनमार्ग रोज्ने गल्तीको सम्भावना हुने थिएन।  यहाँ तिनैजना आफ्ना जीवनका बारेमा अरूले गरिदिएको निर्णय वा छनोटको बोझ बोकेर बाँच्न विवश छन् भन्ने कुरा समयसमयमा पत्नीहरूका बिचमा हुने मनमुटाव र पतिको मध्यस्थताको आवश्यकताले स्पष्ट सङ्केत गर्छ।

समाख्याताका जीवनमा पनि स्वतन्त्रता र छनोटका अवसरहरू प्रशस्त मात्रामा आएका छन्।  उच्च शिक्षा अध्ययन गर्ने सन्दर्भमा रुचीको विषय छनोट गर्न पारिवारिक परिस्थितिले उनी नियन्त्रित थिए।  डाक्टर र इन्जिनियर पढ्न प्रवेश परीक्षा उत्तीर्ण गरे पनि अभिभावक र अग्रजका सल्लाह र सुझावका कारण आफ्नो चाहनाबाट पछि हटेका छन्।  यदि छनोटको स्वतन्त्रता उपयोग गरेका भए हजुरबुबाले जोडेको जायजेथा, बुबाको भरथेग र जागिरे दाजुको सहयोगले चिकित्सा शिक्षा पढ्न पाउने सम्भावना देखिन्छ।

कमाउँदै पढ्दै गर्नु पर्ने अभिभावकको निर्णयअनुसार व्यवस्थापन विषय पढ्नु पर्दाको गुनासो वा असन्तुष्टि यसमा देखिन्छ।  त्यस परतन्त्रताका क्षणमा आफ्नो जीवनको बारेमा स्वतन्त्रता वा छनोटको पूर्ण उपभोग गर्न नपाउँदाको असन्तुष्टि अभिव्यक्त भएतापनि जागिर खाएर केही मात्रामा स्वतन्त्रताको उपयोग गर्न थालेपछि आफूले गरेका हरेक छनोटले जीवनका पाटाहरू सहज र सरल बनाउन नसके पनि आफ्नो निर्णयप्रति गर्व गरेका छन्। “लाखौँ पटक लडीबुडी गरे पनि दुख त्यतिकै घट्नेवाला थिएन।  यी सारा दुखहरूले कुनै दिन सुख ल्याउँछन् भनेर दुखमा रमाउँदै अघि बढियो (पुडासैनी, पृ. ७०)। ” प्रस्तुत साक्ष्यमा स्वीकार गरे झैँ भविष्यको सुखको आशमा वर्तमानको दुखलाई पनि सहर्ष आत्मसात गरिएको छ।

समाख्याताले आफ्नो जीवनमा चयनको स्वतन्त्रता उपभोग गरी हरेक राम्रा नराम्रा परिणामलाई आफ्नै कर्मको परिणति ठानी सन्तानलाई पनि चयनको स्वतन्त्रता प्रदान गरेका छन्।  सन्ततिले आफ्ना बारेमा जेजस्तो छनोट र निर्णय गरे त्यसमा अभिभावकको दबाब, हस्तक्षेप र निर्देशन नरहेको भनाइ यसरी अभिव्यक्त गरेका छन् ः “हरेक सन्तान छुट्टै रङ्ग र सुवासयुक्त फूलहरु हुन्। उनीहरूले नै बनाउने हुन् संसारलाई बगैँचा। हामीले हाम्रा सन्तानलाई मान्छे बन्न र मान्छेलाई उज्यालोतिर मोड्न उत्प्रेरित गर्यौँ र सङ्कुचित पारेनौँ उनीहरूको स्वतन्त्रतालाई (पुडासैनी, पृ. १००)। ” सन्तानलाई मित्रवत् सल्लाह दिए पनि अभिभावकत्वको राजाज्ञा मान्न बाध्य नपार्नु अस्तित्ववादी दृष्टिकोणमा चयनको स्वतन्त्रताको सम्मान मानिन्छ।  उपर्युक्त साक्ष्यहरूको विश्लेषणबाट कालो आँधीका पात्रहरूले स्वतन्त्रता र चयनको उपयोग गरेकाले यसमा अस्तित्ववादको स्वरूप देख्न सकिन्छ।

ख) अस्तित्व र पहिचान

कृतिभित्र पात्र वा लेखकले म को हुँ? भन्ने प्रश्न कसरी उठाएको छ वा कृतिभित्र पात्रले आफ्नो पहिचानको खोजी गरिरहेको छ कि छैन भन्ने अवलोकन र मूल्याङ्कन गर्नु अस्तित्ववादी समालोचनाको महत्त्वपूर्ण पक्ष हो।

कालो आँधीभित्र विभिन्न सन्दर्भमा चर्चा गरिएका व्यक्तिपात्रहरूको पहिचान समस्या र अस्तित्वको अवस्था कस्तो छ भन्ने जिज्ञासाको उत्तर खोज्ने प्रयास यहाँ गरिएको छ।  यस कृतिको रचना गर्भ नै आँधीसँगको सङ्घर्षको पृष्ठभूमिमा भएकाले यसभित्र अस्तित्व र पहिचानको विषय उच्च तहमा उठेको अनुमान गर्न सकिन्छ।  समाख्याता दुस्साध्य रोग क्यान्सरको पन्जामा जकडिएर जीवनमरणका दोसाँधको कठिन क्षणमा आफू र आफ्ना पूर्वजको विगत स्मरण गर्न पुग्छन्।  विगतमा आफ्ना पुर्खाले असहज परिस्थितिसँग लडेर निर्माण गरेको परिवारको पहिचान र अस्तित्वको इतिहासदेखि वर्तमानमा कालो आँधीलाई पछारेर आफैँले स्थापित गरेको अस्तित्वको धरोहरको चर्चा यसमा स्पष्टसँगगरिएको छ।

नारीलाई अबला भनेर होच्याउने त्यस सामाजिक परिवेशमा पनि एकल महिलाले कलिला बच्चाहरू बोकेर मध्यरातमा एक्लै अनिश्चितभविष्यको अन्धकारमय यात्रा गर्न हिम्मत गर्ने हजुरबुबाकी आमाको रक्त प्रवाह आपूmमा पनि जीवित रहेकाले अस्तित्वको भोक जागेको उल्लेख गरिएको छ।  “आँधीसँग जुधेरमुठीमा खेलाउन सक्ने नै बढ्न सक्छन् अघिअघि।  मेरा कैयौँ पुर्खाहरूले क्षणक्षणमा आँधीसँग लडेर आँधीलाई पराजय गरेपछि म दौडन आएको हुँ यो सुन्दर संसारमा।  मैले पनि जुध्नु छ असङ्ख्य उज्याला र अँध्यारा आँधीहरूसँग (पुडासैनी, पृ.२)। ”

पहिचान र अस्तित्व त्यसै आउने र पाउने कुरा होइन, यसका लागि व्यक्तिले असङ्ख्य काला आँधीहरूसँग निरन्तर सङ्घर्ष गर्नुपर्छ।  जसले अँध्यारा आँधीसँग सङ्घर्ष गरेर विजय प्राप्त गर्न सक्छ त्यसले मात्र अस्तित्व कायम गर्न सक्छ। समस्याका पहाडसँग लडेरसङ्घर्षमा श्रेष्ठता कायम गर्ने साहस देखाउन सक्ने अथक योद्धाले मात्र अस्तित्वपूर्ण जीवन बाँच्न सक्छ। आँधीका भीमकाय छालहरूमा लहरिँदै जीवनको सपना देख्न सक्नु नै व्यक्तिको पहिचान र अस्तित्व मापनको सुन्दर कसी हो।  यही मर्म बोध गरेर मृत्युसँग सङ्घर्ष गरिरहेको म पात्रको भनाइमा अस्तित्वको झलक पाइन्छ। “कैयौँ ज्ञान र विचारको माध्यमबाट संसारका सुन्दर वस्तुहरू मुठीमा खेलाउन सक्छ मान्छे।  त्यही कठिन बाटोमा अघि बढेर संसार जित्नुपर्छ भनिरहेछु म (पुडासैनी,पृ. ५)। ”प्रस्तुत कृति जितमा नै अस्तित्व छ भन्ने बुझेर हरेक परिस्थितिसँग  निरन्तर सङ्घर्ष गर्दै विजय प्राप्त गर्ने पात्रहरूको इतिहास जस्तो बनेको छ।  किशोरी अवस्थामा नै दुई सन्तानकी आमा बनेकी नारी पतिको अकल्पित मृत्युपछि परिवार र समाजसँगको घनघोर युद्धमा दृढतापूर्वक डटेकी छन्। अपमान र तिरस्कार गर्ने परिवार र समाजलाई त्यागेर कलिला शिशुलाई काखी च्यापी मध्यरातमा गाउँ छोड्नु हारेर सङ्घर्षसँगको पलायन नभई अमानवीय परिवार र निष्ठुर समाजको सङ्कुचित घेराबाट मुक्त भई स्वअस्तित्वका साथ नयाँ पहिचान निर्माण गर्ने उच्च साहसिक कार्यको परिणाम हो।

 मृत्यु वा आत्महत्याको छुद्र भावनाका छालहरूलाई पन्छाएर जीवनको सुनौलो मार्ग खोज्दै अदृश्य भविष्यको अन्धगर्तमा साहसी पाइला चाल्नु अस्तित्ववादी नजरमा महत्त्वपूर्ण उपलब्धि मानिन्छ।  तत्क्षण देखापरेका जटिल समस्यासँग सङ्घर्ष नगर्ने हो भने आफ्नो र टुहुरा सन्तानको भविष्य जेठाजुहरूको क्रीत दासदासीभन्दा माथि उठ्न नसक्ने सम्भावित अनस्तित्वको भयले किशोरी आमाले मध्यरातमा गृहत्याग गर्न लिएको साहसिक निर्णयले उनको पहिचान र अस्तित्वप्रतिको दृढता स्पष्ट पारेको छ।  स्याउले कटेरामा एक छाक खाएर दुख झेल्न र आवश्यक परे मृत्युसँग सङ्घर्ष गर्दै पौँठेजोरी खेल्न तयार तर अरूको दासत्व, तिरस्कार र अपहेलना सहेर पहिचान समाप्त पार्ने मार्ग नरोज्नु अस्तित्व कायम गर्ने कार्य हो।  यसरी प्रस्तुत कृतिमा विधवा आमाका माध्यमबाट अस्तित्ववादी चिन्तनलाई प्रस्तुत गरिएको छ।

अस्तित्व र पहिचानका दृष्टिबाट अवलोकन गर्दा हजुरबुबाको जीवन र सामाजिक क्रियाकलाप पनि सकारात्मक देखिन्छन्।  नौ वर्षको उमेरमै बुबा, आमा र भाइलाई गुमाएर सहारा विहीन एक्लो टुहुरो बन्दा पनि जीवन सङ्घर्षबाट नभागी समस्यासँग निरन्तर लड्दै अलग पचिान निर्माण गर्नु महत्त्वपूर्ण पक्ष हो। पितासँग जोडिएकापरिवार, समाज र नातागोता सबैसँग सम्बन्धसूत्र चुँडिएर बिछोडिएको एक्लो बालकले विगत र वर्तमानसँग तर्सिएर भन्दा अनागत भविष्यको सुनौलो कल्पना गर्दै अपरिचित समाजको सदस्य बन्न गरेका सङ्घर्ष र जायजेथाको जोहोले उनको जीवनप्रतिको लगावलाई स्पष्ट देखाएको छ।  यस सन्दर्भमा कर्मठ हजुरबुबाप्रतिको नातिको टिप्पणी मननीय छ: “हजुरबुबा सधैँ आँधीसँग जुधिरहेको झिल्को बाँच्नुभयो।  सधैँ जीवनको नियतिलाई बदल्न जुटिरहनुभयो हजुरबुबा।  धर्तीबाट उठेर ढकमक्क सिँगार्नुभयो धर्ती र मानवसमाजलाई (पृ. १४)। ” कलिलै उमेरमा एक्लो र असहाय भए पनि पराश्रयको अपेक्षा नगरी हिँडिसकेको बाटोलाई फर्केर नहेर्ने, जुनसुकै परिस्थ्तििमा पनि सङ्घर्षको पाइला नरोक्ने र माटोलाई जीवनमा परिवर्तन गर्ने साहस भएको अरूका लागि जीवनसौन्दर्यको दृष्टान्त बन्ने सूर्यप्रभा जिन्दगी बाँच्नु पहिचान र अस्तित्वका दृष्टिले महत्त्वपूर्ण प्राप्ति हो।  हजुरबुबाको जीवनमार्गमा काँडा र भुङ्ग्रोको कमी थिएन तर पनि जीवनबाट पलायनको हुतिहारा विचार पलाउन दिनुभएन। वास्तविक जीवनको यथार्थ बुझेर नै समस्याबाट नभागी अस्तित्वशाली जीवन बाँच्ने प्रयास गर्ने उनको चरित्र उदाहरणीय बनेको छ।

प्रस्तुत कृतिमा पहिचान र अस्तित्वको लडाइँमा खरो उत्रिएका हजुरबुबाको गौरवशाली इतिहासको निरन्तरताको अर्को पानाको रूपमा समाख्याताको जीवन पनि देखापरेको छ।  जीवनसङ्घर्षबाट पलायन हुने र क्षणिक सुखका लागि गुमनाम रहने तुच्छ जीवनलाई अस्वीकार गर्नु पहिचानको तीव्र आकाङ्क्षा हो।  “मान्छेबिनाको प्रकृतिको पनि के अर्थ ? एकान्तमा रहेको बुकी फूलजस्तो कसैको आँखा नै नपरी ओएलाएर झर्नुको के अर्थ ? ( पृ. १४१)। ” प्रस्तुत साक्ष्यमा मानव जीवनलाई एकान्तमा फुलेको बुकी फूलसँग तुलना गरेर समाजका नजरमा नपर्ने महत्त्वहीन जीवन बाँच्नुलाई पहिचानका दृष्टिले व्यर्थको जीवन मानिएको छ।  जीवनलाई मगमगाएर सुवास छर्दै सबैलाई आकर्षित गर्न सक्ने सुन्दर पूmलका रूपमा चिनाउन सक्नुपर्छ।  एकान्तको बुकी पूmल सुन्दर सुवासयुक्त भए पनि त्यसको प्रयोजन मानवजीवनसँग प्रत्यक्ष नभए झैँ समाजसँग सिधा नजोडिएको र समस्याबाट भाग्दै हिँड्ने गुफाभित्रकोकायर जीवन पनि अर्थहीन छ।  “सङ्कटको औषधि सङ्कट नै हो।  सङ्कटलाई सङ्कटले नै काट्नुपर्छ। सङ्कटबाट डराएर र भागेर कुनै समाधान हुँदैन (पृ. १४२)। ” प्रस्तुत साक्ष्यले जीवन पलायनबाट होइन सङ्घर्षबाट अस्तित्वशाली बन्छ भन्ने विचार अभिव्यक्त गरेको छ।  क्यान्सरप्रतिको सामाजिक धारणा र भय, सहानुभूतिका नाममा आफन्तहरूले निर्माण गरिदिएको मानसिक त्रास, अर्धाङ्गिनी र सन्तानका आँसुले सङ्केत गरिरहेको रोगको भयावहता, उपचारका क्रममा भोग्नु परेको रेडिसन र किमोको असह्य पीडा आदिले जीवन समाप्तिको सङ्केत नदिएका होइनन्। 

क्यान्सरसँगको सङ्घर्षमा पराजित भएका व्यक्तिका दृष्टान्तद्वारा आत्मविश्वास डगमगाउन उत्प्रेरणा दिने कतिपय आफन्तका हतोत्साही सहानुभूतिहरू पयोमुखी विषकुम्भका रूपमा प्रकट भए पनि आँधीलाई पछार्न सक्छु भन्ने दृढ आत्मविश्वास र विज्ञान प्रविधिसँगको भरोसाले प्रतिकूल परिस्थितिमा पनि जीवनमोह त्यागेका छैनन्।  दह्रो आत्मबल, जीवनप्रतिको तीव्र मोह र अस्तित्वको प्रबल चाहनाले आँधीका द्रुतगामी वेगमा पनि जीवनदीप जोगाउन सफल भएका छन्।  यस सन्दर्भमा समाख्याताको जीवनप्रतिको धारणा महत्त्वपूर्ण छ: “आँधीसँग भिड्ने हुङ्कार बोकेर उडिरहेँ म।  कहिले पखेँटाहरू ठोक्किए, कहिले कुँजिए पखेँटाहरू तरजित्ने दृढ विश्वासले उडिरहेँ, उडिरहेँ।  आँधीका बादलहरूमा अन्धकार थियो।  गर्जन थियो।  

चम्किलो बिजुली पनि थियो।  तीखा बाणहरू थिए।  विद्युतीय प्रहार थिए।  तर मैले पखेँटा फिजाउन छोडिनँ।  म यकिनमा थिएँ कि कालो आँधी र कालो बादलले सूर्यलाई ढाक्न सक्तैनन्।  मैले सूर्य समातेर पखेँटा फिजाइरहेँ र निस्तेज पार्दै रहेँ कालो आँधीलाई (पृ.१४८)। ”

मनिसले आँधीसँग भिड्ने हुुुँकार छोड्नु हुँदैन, पखेँटा ठोक्किएलान्, कुँजिएलान् तर जित्ने लालसा त्याग्नु हुँदैन, दुखका अँध्यारा गहिरा गर्तहरूमा आशाका उज्याला फिलिङ्गा पनि हुन्छन्।  हतोत्साही र घायल बनाउन प्रहार र छेकबार पनि हुनसक्छ तर आत्मविश्वास र कर्मको निरन्तरता भयो भने काला बादलले सूर्यका किरणलाई छेक्न नसके झैँ कालो आँधीले जीवनलाई समाप्त पार्न सक्तैन।  म पात्र जीवनमरणका दोसाँधमा कालो आँधीसँग निरन्तर सङ्घर्ष गरिरहँदा पराजयको त्रासभन्दा विजयको आशले बढी आकर्षित भएको स्पष्ट देखिन्छ।  यसमा मृत्यून्मुखी पलायनभन्दा जीवनमुखी अस्तित्वको झलक उषाकिरण झैँ देखिन्छ।  “यो सारा संसार हामीले देख्न, छुन र भोग्नका लागि हो।  मान्छेले एक सेकेन्डमात्र भए पनि लम्ब्याउनु पर्छ यो संसारमा बस्ने समय रथोरै भए पनि फेर्नु पर्छ संसारको अनुहार (पृ. १५६)। ” संसार मानिसका लागि निर्माण भएको र यहाँ धेरैभन्दा धेरै समय बिताउने वातावरण सिर्जना गर्ने दायित्व स्वयं मानवको हो।  यस संसारबाट पलायन होइन यहीँ रमाउन सक्नु पर्छ भन्ने विचारका माध्यमबाट आपूm हिँड्ने बाटो र आपूm पुग्ने गन्तव्यको निर्धारण स्वयंले गरी ‘म हुँ’ र ‘म छ’ु को अस्तित्व स्थापित गर्ने प्रयास भएको छ।  उपर्युक्त कथन र व्यक्ति पात्रका क्रियाकलापबाट पनि सम्पूर्ण पात्रहरू प्हिचान र अस्तित्वको मार्गका सफल यात्री जस्ता देखिन्छन्।

 ग) एक्लोपन र निरर्थकताको अनुभूति

अस्तित्ववादी रचनाहरूका लेखक र पात्रहरूले जीवन भोग्ने क्रममा मानवजीवनको निरर्थकता र एक्लोपनको अनुभव गरेको हुन्छ।  यही निरर्थक र एक्लोपनको अनुभूतिले पात्रलाई आफ्नो अस्तित्वको खोजी गर्न उत्प्रेरित गर्दछ।  कालो आँधी रचनाभित्रका पात्र वा लेखकले यस प्रकारको एक्लोपन र निरर्थकताको अनुभव गरका छन् कि छैनन् भन्ने तथ्यको अन्वेषण यहाँ गर्ने प्रयास गरिएको छ।  प्रस्तुत कृतिभित्रका प्रमुख पात्रहरूले जीवन भोगाइका क्रममा यस प्रकारको अनुभव बारम्बार गरेका छन्।

समाख्याता पात्रमा जीवनरथको गति सरल र सोझो बाटामा अगाडि बढिरहेका समयमा अचानक देखापरेको क्यान्सरले आक्रमण गर्दा नजिक ठानिएका आफन्तहरूको व्यवहारले यस किसिमको नकारात्मक भावना विकसित भएको देखिन्छ।  समाख्याताका पूर्वजहरूले पनि यस प्रकारको अनुभव गरेका छन्।

हजुरबुबाकी आमालाई पतिको निधन पश्चात् संरक्षक बन्नु पर्ने घरपरिवारका सदस्यबाट भएका अमानवीय व्यवहारका कारण जीवनमा एक्लोपन र निरर्थकताको बोध भएको छ।  कलिला टुहुरा दुई बच्चालाई च्यापेर अँधेरी रातमा निर्जन जङ्गली मार्गमा हिँड्दा समाजले महसुस गराएको एक्लोपन र पतिविहीन निरर्थक जीवन बाँच्ने मोह भङ्ग भएकाले कोल्पु खोलामा सन्तानसहित आत्महत्या गर्नेे भावना उत्पन्न भएको छ। उनमा पलाएको यस्तो पलायनमुखी भावनाको मूल कारक एक्लोपन र जीवनको व्यर्थता बोध हो।  हजुरबुबाले पनि जीवनमा एक्लोपन र निरर्थकताको अनुभूति गरेका छन्।  पिता र भाइको निधन भएका समयमा आमाको काखको न्यानो छहारी भएकाले र उमेर पनि सामाजिक जन्जाल बुझ्न सक्ने नभएकाले यी घटनाबाट उनमा एक्लोपनको अनुभव भएको देखिँदैन तर नौ वर्षको उमेरमा एकमात्र आधारस्तम्भ आमा ढलेपछि पूर्णरुपमा एक्लोपनको अनुभव गरेका छन्।  त्यस बेला हजुरबुबाको “फुकेर निभाएको मैनबत्ती जस्तो भयो जीवन (पृ.९)। ” आधारविहीन अन्धकारमय जीवनको त्यस क्षणमा आमा भविष्यको मधुर प्रकाश दिने मैनबत्ती जस्तै आशाको केन्द्र थिइन्।  जीवनको जटिल परिस्थितिमा मातृत्वको कोमल स्पर्शले बिर्सिँदै गएको विगतका कहाली लाग्दा दुखका क्षणहरूलाई आमाको अप्रत्यासित निधनले झन् तिखा नङ्ग्रा भएर कोपर्न सुरु गरेका छन्।  पीडा नै पीडाको घाउले विक्षिप्त भएकोयस क्षणमा उनले जीवनको व्यर्थता र  एक्लोपनको अनुभव गरेका छन्।  “विशाल मरुभूमिको डरलाग्दो हुरीमा एक्लै हिँडिरहेको महसुस गर्नुभयो हजुरबुबाले (पृ.९)। ”

 आमाको वात्सल्यको छत्रछहारी ढलेपछि सम्भावनाको हरियाली समाप्त भएकाले अबको बाँकी जीवन शुष्क मरुभूमिको हुरीमा असहाय एक्लै हिँडिरहेको महसुस हुनु स्वाभाविक हो।  नौ वर्षकै कलिलो वयमा जीवनका महत्वपूर्ण र सर्वप्रिय व्यक्तिहरूलाई लगातार गुमाउनु पर्दा एक्लोपनको अनुभव भएको छ र यस अनुभवले जीवनको व्यर्थताको अनुभूति गराएको छ।

समाख्याता म पात्र वा लेखकलाई पनि निजी जीवनमा एक्लोपन र निरर्थकताको अनुभूति प्रशस्त भएको छ।  क्यान्सर जस्तो भयानक रोगको निदान भएपछि सहोदर दाजुहरूलाई जानकारीका लागि सुनाउनु कर्तव्य र उपचारका लागि रायसुझाब पनि आउला भनी गरिएको स्वाभाविक अपेक्षाका विपरीत अग्रजहरूबाट गरिएको चरम उपेक्षाले आफन्तका भीँडमा एक्लोपनको अनुभव भएको छ।  अप्ठ्यारो र अन्योलका क्षणमा काम नलाग्ने आफन्तको जन्जाललाई निरर्थक मानेका छन्।  उपचारका क्रममा पनि एक प्रकारको विरक्तिको अनुभूति भएको छ।  

“आँधीले कोपरिरहेको बेला चिनिन्छ को आफ्नो को पराई।  आँधीले उडाओस् भनेर छेउछाउमा  उभिँदै खिसी गर्नेहरू पनि चिनिन्छ।  आँधीमै पसेर सारा बलबुताले आँधीलाई जोगाइदिन तम्सनेहरू

पनि चिनिन्छ।  समाजको चरित्र छ्याङ्ग बुझिने, संसारको चित्र प्रस्ट देखिने — कालोमैलो आँधी नै देखाउन सक्षम हुन्छ संसार र समाजलाई सफेद ढङ्गमा (पृ.१५१)। ”

प्रस्तुत साक्ष्यमा आँधीलाई माध्यम बनाएर व्यक्ति र समाजप्रति जुन किसिमको कटाक्ष गरिएको छ त्यो म पात्रका मनमा उत्पन्न भएको एकाकीपन र व्यर्थताको अनुभूति हो।  रोगको निदान हुनुभन्दा अगाडिसम्म शुभचिन्तक र परम हितैषी मानिएका व्यक्तिहरूको अचानक परिवर्तन भएको व्यवहारले सांसारिकताको व्यर्थता र भावनात्मक रूपमा एक्लोपनको आभास भएको छ।

यसै गरी परदेशमा रहेका छोराबुहारी र छोरीज्वाइँले हरसम्भव उपचारको प्रयास, मानसिक हौसला र आत्मीयता प्रकट गरे पनि मधुमेयबाट आफैँ थकित भएकी जीवन साथीको सकिनसकीको एकल खटाइको चिन्ताले सन्तान साथमा नहुँदाको अभाव र रिक्तताले खल्लोपनको अनुभव गराएको छ।  यसले जीवनप्रतिको व्यर्थताको अनुभव नगराए पनि एक्लोपनको अनुभूति गराएको छ। म पात्रकी विधवा भाउजूले पनि एक्लोपनको अनुभव गरेकी छन्। अज्ञानताका कारण मान्छेहरूका बिचमा पानीसम्म खान नपाई मृत्यु भएका पतिको अन्त्येष्टि गरी कलिलो उमेरमा वैधव्य बेहोरेकी भाउजूको जीवनको निरर्थकता बोधको चित्र नउतारे पनि एक्लापनको झलक देखाइएको छ। “अनेकौँ पीडा, अनेकौँ अभाव, जीवनसाथीको रिक्तताको घाउ सम्मालेर भाउजू आजसम्म विधवाको रुपमा अनेकौँ काला आँधीहरू सहिरहनुभएको छ (पृ. २९)। ” भाउजूले अनुभव गरेको रिक्तताभित्र जीवनको एक्लोपन र निरर्थकताको भाव स्पष्ट देखिन्छ।

कालो आँधीभित्र चित्रित पात्रहरूले कुनै न कुनै समयमा एक्लोपन र जीवनको व्यर्थताको अनुभव गरेका छन्।  जीवन सरल रेखामा सोचे जसरी नबग्ने र सहज अवस्थाका आफन्त र इष्टमित्रहरू ज्टिल अवस्थामा काम नलाग्ने रहेछन् भन्ने आत्मबोधले हरेक पात्रलाई एक्लोपन र निरर्थकताको अनुभूति गराएको छ।  

घ) डर र चिन्ताको अनुभूति

अस्तित्वको बोध गर्नु अघि व्यक्तिले जीवनमा एक प्रकारको डर र चिन्ता अनुभूत गर्छ।  रचनाभित्रका पात्र मानसिक तनाव, असुरक्षा र अस्तित्वगत डरबाट कुन हदसम्म गुज्रिएको छ भन्ने तथ्यको विश्लेषण यसअन्तर्गत गरिन्छ। विश्लेष्य कालो आँधीमा समाविष्ट गरिएका प्रमुख पात्रमा मानसिक डर र चिन्ताको स्थिति देखिन्छ।  दुखरूपी आँधीसँग सङ्घर्ष गरिरहेका पात्रमा प्रतिद्वन्द्वीको शक्ति र सामथ्र्य अगाडि जयपराजयको अनिश्चितताले भयको निर्माण हुनु स्वभाविक हो।  समाज र परिवारसँग विद्रोह गरी साना शिशुसहित मध्यरातमा अकल्पित आँधीसँग पौँठेजोरी खेल्न घरबाट निस्किएकी हजुरबुबाकी आमामा डर र चिन्ताको अनुभूति पाइँदैन।  परिवार र समाजले सरल जिन्दगी बाँच्न नदिए पनि आपूm र टुहुरा सन्तानका लागि कुनै अज्ञात स्थान आश्रयको थलो बन्न सक्छ भन्ने आत्मविश्वास बोकेर हिडेकीले उनमा यसप्रकारको डर र चिन्ताको मानसिक कमजोरी देखिँदैन।

डमरुको जीवनको प्रश्न प्रमुख भएर आएकी बघिनीझैँ मातृत्व नै प्रबल शक्ति भएर उदाएको हुँदा उनलाई अन्य समस्याको भयले छुन सकेको छैन। अर्का प्रमुख पात्र हजुरबुबामा पनि वर्तमान जीवन र भविष्यप्रति दोधार र चिन्ताको आभास पाइँदैन।  उनी कर्म र सङ्घषलाई महत्त्व दिने जुझारु स्वभावका भएकाले डर र चिन्तालाई टाउको उठाउने अवसर दिएका छैनन्।  पिताजीको जीवनमा दुई गुँडको भरणपोषण र सन्तुलनको भय देखिन्छ तर त्यो जीवन मरणका तहसम्मको नभएकाले विश्लेषणीय बनेको छैन।  

समाख्याता म पात्रले भने क्यान्सर रोगको कालो आँधीसँग प्रत्यक्ष सङ्घर्ष गर्नु परेकाले डर र चिन्ताको अनुभव गरेका छन्।  क्यान्सरसँगकोप्रतिद्वन्द्वितामा आफ्नो जीवन र श्रीमतीको भविष्यको चिन्ता तीव्ररूपमा बढेको छ।  कथंकदाचित् आँधीसँगको सङ्घर्षमा पराजित हुनुपर्यो भने पारुले भोग्ने एकाकी जीवनको भयावह कल्पनामा म पात्रभित्र एक प्रकारको डर र चिन्ताको भयङ्कर मुस्लो उठेको छ।  एकातिर रोगको आँधीले जीवनलाई उडाएर भिरबाट खसाली देला कि भन्ने त्रास र अर्कोतर्फ आफ्नो अनुपस्थितिमा जीवनसङ्गिनीको अवस्था के होला भन्ने कारुणिक कल्पनाले भित्रभित्रै सताएको छ।  “किन रोइरहनु भएको ? अब उपचार थाल्ने हो।  ठीक हुन्छ।  भिजेको रुमाल अझ भिजाउँदै पारु बेलिन्।  अरू केही होइन मलाई मेरो भन्दा तिम्रो चिन्ता छ।  म घोप्टो परेँ।  दिनरात यसरी नै बित्यो (पृ. १२१)। ”

प्रस्तुत साक्ष्यमा अभिव्यक्त भएको दम्पतीको रुवाइ एकअर्काले अनुभूत गरेको उपल्लो तहको डर र चिन्ताको प्रतिबिम्बन हो।  आफ्ना आँखाबाट बगेका अश्रुधारा रुमालले पुछ्दै पतिका रुवाइको कारण सोध्नुमा कारुणिकताको चरमोत्कर्षमात्र होइन डर र चिन्ताको झलक पनि देखिन्छ।  पति पनि आफ्नो इहलिला समाप्तिको डरभन्दा सुखदुखकी अभिन्न साथीले त्यसपछि कसरी जीवन बिताउलिन् भन्ने त्रासले घोप्टो परेर आँसु झारिरहेका छन्।  यी दुबै परिस्थितिको सिर्जना डर र चिन्ताका कारण भएको हो।  “जीवनमा पहिलोपल्ट यति खराब आँधी चलिरहे छ।  अधीर अँजुलीमा खोइ कति पो भरिएला खुसीको कुरा।  सिनित्त बढारेर उडाइदिन्छ कि आँधीले (पृ. १२४)। ” आँधीले खुसीमात्र हैन जीवन नै उडाएर लगिदेला कि भन्ने चिन्ताले भित्रभित्रै मन हल्लिरहेको छ। “अब जीवनमा अँध्यारा दिनहरू सुरु भए झैँ लाग्न थाल्यो।  ट्युमर...क्यान्सर...र जीवनको अन्त्य... यस्तै यस्तै सोचाइले पोलिरह्यो।  आफ्नो एउटा भयानक तस्बिर आफैँ अघिल्तिर उभिएको देखियो।  आफ्नै मनलाई कसरी सम्हाल्ने।  समाधान गर्न गाह्रो एउटा समस्या ठिङ्ग उभियो (पृ.११०)। ” हिजोसम्म जीनसङ्गिनीसँग डुल्दै रमाउँदैजीवनलाई रमाइलो उत्सव ठान्ने प्रफुल्ल मन एकाएक आइलागेको ट्युमर र क्यान्सरको आक्रमणले जीवनलाई अन्धकारमय देख्न थालेको छ।  पूmलका थुँगा जस्ता सुन्दर र आदर्श सन्तान, तिनको शिक्षादीक्षाको पारङ्गतता, चाहेको जस्तो जागिर र वृत्तिविकास, उनीहरूकै रुची अनुकूल सक्षम र उपयुक्त वैवाहिक सम्बन्ध, दम्पतीकै जागिरबाट निवृत्त जीवन, फस्टाउँदै गएको साहित्यिक कर्म, त्यसले जुराएको सत्सङ्गको अवसर र सम्मान आदिले सप्तरङ्गी सुन्दरता र सौगन्धको मधुर स्वाद लिँदैजीवनमा आनन्दको वायुपङ्खीघोडसवार भइरहेका क्षणमा अकल्पित दुर्भेद्य क्यान्सरले आफैँ डराउनु पर्ने आफ्नै भयानक तस्बिर अगाडि उपस्थित गराइदिएको छ।  चाहेर पनि सजिलै समाधान गर्न नसकिने जटिल रोगसँगको लडाइँमात्र होइन सिङ्गो परिवारभित्रको सुख र शान्तिको तह भत्किने आशङ्काले पनि डर र चिन्ताको निर्माण गरेको छ।

प्रस्तुत कृतिमा म पात्रले अनुभव गरेको डर र चिन्ताको मूल कारण रोगसँग हारिन्छ कि भन्ने भन्दा पनि जीवनसङ्गिनीले कसरी एकाकी जीवन बिताउलिन् र गर्भवती छोरीले भोगिरहेको मासिक तनाब रहेको छ।  यसमा म पात्रले अनुभव गरेको डर र चिन्ताले रोगसँग लड्न तगारो लगाउनु भन्दा जसरी भए पनि जित्नुपर्छ भन्ने सकारात्मक ऊर्जा प्रदान गरेको छ।

ङ) जिम्मेवारीबोध

अस्तित्ववादले आफ्ना कर्मको जिम्मेवार आफैँ हुनुपर्छ भन्ने मान्यता राख्तछ।  आपूmले गरेका राम्रा वा नराम्रा कर्मले निम्त्याएको परिणामप्रति व्यक्ति जिम्मेवार छन् कि उत्तरदायित्व नलिएर पलायनमुखी छन् भन्ने कुराको विश्लेषण यसअन्तर्गत गरिन्छ।  कालो आँधी मनालापमा वर्णन गरिएका हरेक मुख्य पात्रहरू कर्मप्रति जिम्मेवार रहेका छन्।  यसमा आएका पात्रले भाग्य र नियतिलाई दोष लगाएर आपूm पन्छिने गैरजिम्मेवारी र लाचारीपन देखाएका छैनन्।  आफ्ना आमाबुबाको स्वभाव उजागर गर्ने क्रममा म पात्रको भनाइ जिम्मेवारी ग्रहण गर्ने दृष्टिले महत्त्वपूर्ण छ-  “काम गर्दै जाँदा कुनै गल्ती भए मबाट यो गल्ती भयो भन्ने स्वीकारोक्ति आइहाल्थ्यो उहाँहरूबाट (पृ. २८)।”

आफ्ना कर्मले निष्पन्न हुने परिणामको दोष अरूमाथि थोपरेर आपूm गैरजिम्मेवार बन्ने प्रवृत्ति मातापितामा नरहेको देखिन्छ।  यसै गरी उन्नाइस बिस बर्से बँैसालु उमेरमा भाउजूले विधवा बन्नु पर्ने अवस्था निर्माण हुनुलाई आफ्नो परिवारको अज्ञानता कारण रहेको स्वीकार गरिएको छ।  झाडापखाला जस्तो सामान्य बिराममा दाजुको असामयिक निधन हुनुुमा शरीररचना विज्ञान र प्राथमिक उपचारको अज्ञानताका कारण भएको भनी जिम्मेवारी बोध भएको छ।  यस घटनामा कुनै दैव, नियति वा भाग्यलाई दोष दिएर आपूm पन्छिने घृष्टता गरिएको छैन।  दाजुको मृत्यु र भाउजूको वैधव्यको कारक तत्कालीन समाजको अज्ञानतामूलक सोच र मानवीय कमजोरी रहेको कुरा पश्चात्तापपूर्ण तरिकाले स्वीकार गरिएको छ।  अंशबन्डा गरेर अलग्गै बसेका दाजुको निधन पछि पारिवारिक जिम्मेवारी बोध गरेर आमा र भाउजूलाई मूल घरमै फिर्ता ल्याउनु कर्मप्रतिको जिम्मेवारी बोध हो।

जागिरे जीवनमा आफ्नै कार्यालयभित्र हुने गरेका नराम्रा गतिविधिलाई उजागर गरी लेखिएको कविताको विषयलाई लिएर सहकर्मीहरूले विभागीय कारवाही हुनुपर्छ भन्ने आवाज उठाए पछि महालेखापरीक्षकले जिज्ञासा राख्ता उनीसमक्ष दिएको उत्तरले म पात्र कर्तव्यप्रति जिम्मेवार भएको देखाउँछ।  “यो कवितामा मैले बबरमहलभित्रका विकृति केलाएको छु कि अफिसलाई आक्षेप लगाएको छु।  विकृतिहरूलाई बिम्बात्मक रुपमा कविले उजागर गर्न सक्छ कि सक्दैन ? विकृतिहरूलाई औँल्याएर बेलैमा सुधारका लागि घचघच्याउनेलाई कारवाही गर्ने कि कार्यालयको कामको बहानामा स्वार्थ, लोभ र कुकर्ममा फसेर भ्रष्टाचार गर्नेलाई (पृ. ६१)। ” प्रस्तुत साक्ष्यमा म पात्रले आपूmले कार्यालयभित्रको वस्तुस्थितिका बारेमा गरेको चित्रणको जिम्मेवारी लिएका छन्। 

कविका आँखाले देखेको कार्यालय र कर्मचारीको यथार्थ चित्रको कवितात्मक अभिव्यक्तिप्रति उनले रत्तिभर पश्चात्ताप र ग्लानि बोध गरेका छैनन्।  उल्टो आपूmलाई कारवाही गर्नुपर्छ भन्ने सहकर्मीको नियतलाई स्वार्थी, लोभी र कुकर्मी भएकाले कारवाही गर्ने आधार नभएको भनी स्पष्टसँग प्रतिकार गरेका छन्।  विकृतिको पर्दाफास गर्न लेखिएको कविता लहडको उपज वा आवेगको अभिव्यक्ति नभएर जानीबुझी सचेततापूर्वक सृजना गरिएको भनी स्वकर्तव्यको पूर्ण जिम्मेवारी ग्रहण गरिएको छ।

यसै गरी पतिपत्नी सरकारी सेवामा भए एकै जिल्लामा रहेर सेवा गर्न दिइनेछ भन्ने नियमलाई नर्सिङ प्रशासन महाशाखाले कार्यान्वयन नगरेर कर्मचारीले भोग्दै आएको साझा समस्यालाई पत्रिकामा लेख प्रकाशन गरी उक्त व्यवस्था मान्न वाध्य पार्ने कामको पनि स्वमित्व ग्रहण गरिएको छ।  यसले आफ्नै जीवनमा पारेको सकारात्मक प्रभावले मात्र होइन यस समस्याबाट पीडित समग्र कर्मचारीको पक्षमा भएको सकारात्मक परिणामको जिम्मेवारी बोध पनि हो।  “समस्या आउँछ भनेर स्थिर रहने हो भने न कसैको विकास हुन्छ न सुखशान्ति (पृ. ८५)।”

 जिम्मेवारी बोध गरेर अगाडि नबढ्ने हो भने जीवनमा विकास र सुखशान्ति दुबै सम्भव छैन।  हरेकले आफ्नो कर्मप्रति स्वयं जिम्मेवारी बोध गर्नुपर्छ र कर्मअनुसारको जस अपजसको हकदार मै हुँ भन्ने स्वीकार गर्नुपर्छ।  “जिन्दगी हो, सुखका लागि केही न केही दुख बेहोर्नै पर्दछ।  काम गर्दा नै उब्जने हो समस्या।  समस्या उठे पछि नै निस्कने हो समाधानको बाटो।  मान्छे हरेक वर्ष, हरेक महिना, हरेक दिन, हरेक घण्टा, हरेक मिनेटमात्र होइन हरेक सेकेन्ड सेकेन्डमा सक्रिय, सबल र सिर्जनशील बन्न सके मात्र हात पर्ने हो उपलब्धि (पृ. ८९)। ”

सुखको अपेक्षा  गर्ने व्यक्तिले दुख भोग्न तयार हुनुपर्छ।  जीवनमा समस्या छ भनेर कर्मबाट पलायन होइन सङ्घर्षलाई रोज्नुपर्छ।  कर्तव्य बोध गरी हरपल सक्रिय भयो भने समाधानको उपाय पनि निस्किन्छ र उपलब्धि पनि हात लाग्दछ।  यसका हरेक पात्रहरू उन्मुक्त स्वतन्त्रता होइन जिम्मेवारी र जबाफ देहिताको दायित्व बोकेर स्वअस्तित्वको स्थापना गर्न सक्षम छन्।

च) समाजसँगको अन्तर्सङ्घर्ष

कृतिभित्रका पात्र र समाजका बिच कस्तो अन्तर्सङ्घर्ष छ ? पात्रले सामाजिक व्यवस्थाहरूप्रति सहमति जनाएर बाँचेको छ कि अड्मिल्दा संरचना विरुद्ध विद्रोह गरेको छ भन्ने तथ्यको खोजी यसमा गरिएको छ।  प्रस्तुत कालो आँधीमा व्यक्ति र समाजबिच अन्तर्सङ्घर्षको स्थिति रहेको छ।  हजुरबुबाकी आमाले परिवार र समाजसँगको अन्तर्सङ्घर्षबाट नै आफ्नो गन्तव्य निर्धारण गरेकी हुन्।  घरपरिवार र समाजले पति टोकुवी भनेर लगाएका आक्षेप र गरेका घृणा, अपमान र तिरस्कारका विरुद्ध समाजभित्रै डटेर प्रतिकार नगरे पनि आपूmलाई लाञ्छित र अपहेलना गर्नेहरूसँग झुकेर नबसी कलिला सन्तान च्यापी समाजलाई तिरस्कार गरेकी छन्।  झट्ट हेर्दा परिवार र समाजसँग सङ्घर्ष गर्न नसकेर भागे जस्तो देखिन्छ तर त्यसो गर्नु समाजसँगको अन्तर्सङ्घर्षको परिणति नै हो।

  एउटी विधवामाथि समाजले लगाएका निम्सरा आरोप र परिवारले सम्पत्ति हडपेर असहाय बनाएको आक्रोश विद्रोहबाट अभिव्यक्त गरेकी छन्।  हजरबुबाले समाजसँग खासैसङ्घर्षगर्नु परेको देखिँदैन।  जीवन बाँच्नका लागि कठिन परिश्रम र जायजेथा जोड्न एक्लो भगीरथ प्रयास गरे पनि सामाजिक परम्परा र थितिसँग विद्रोह गर्नु परेको देखिँदैन।  आमाबुबाले पारिवारिक अन्तर्सङ्घर्ष अलिक बढी र सामाजिक सङ्घर्ष कम गर्नु परेको छ।  सन्तानको  शिक्षादीक्षाका विषयमा समाजका कटु वचन सुन्नु परे पनि त्यसलाई मौनताले छोपेर आफ्नो उद्देश्यमा लागेका छन्।  पिताले अन्य सामाजिक मूल्यमान्यता, संस्कार र संस्कृतिप्रति असहमति र प्रतिद्वन्द्विता गरेका छैनन्।

समाख्याता म पात्र भने समाजसँगका विभिन्न प्रकारका अन्तर्सङ्घर्षमा रहेका छन्।  उनले आफ्नो सङ्घर्षलाई प्रतीकात्मक रूपमा यसरी देखाएका छन्।  “बाढीका काला नीला र सफा भेलहरू पार गर्दै, आँधीका रङ्गरङ्गका झोक्काहरूसँग जुध्दै र सहकार्य गर्दै, पहिरो पन्छाउँदै, भूकम्प र पराकम्पहरूसँग पौँठेजोरी खेल्दै अघि बढिरहँदा जिन्दगी एउटा अर्थपूर्ण मोडमा पुग्दो रहेछ (पृ. ३७)। ” उपर्युक्त आत्मस्वीकारबाट म पात्रको जीवन सरल, सहज र सुखसयलमय मात्र थिएन भन्ने स्पष्ट हुन्छ।

  जीवनयात्रामा आइलागेका अवाञ्छित आँधी, भेल, पहिरो, भूकम्प जस्ता बाधा, अड्चन र उल्झनहरूसँग पौँठेजोरी खेल्नुको तात्पर्य जीवन सङ्घर्षमय थियो भन्ने देखिन्छ।  बाल्यकालदेखि नै हजुरबुबा र बुबाले धान्दै आएको धार्मिक कर्म र साधुसन्तको सेवासुश्रुषाको अतिवादिताप्रति असहमति प्रदर्शन गरेका छन्।  ज्ञान र धर्मप्रति झुकाब राख्ने पिताको सरल स्वभावको फाइदा उठाउन पल्केका साधुसन्तको आचरणको विरोध गरी तत्कालीन समाजको धार्मिक संरचनाप्रति विद्रोह गरेका छन्।  सत्सङ्ग र शास्त्रार्थका नाममा महिनौँसम्म घरमा बसेर परिवारका सदस्यप्रति भेदभाव र छुवाछुतको तुच्छ व्यवहार देखाउने सन्तहरूको आलोचना गरेका छन्।

“उनीहरूले प्रयोग गर्ने भाँडाकुँडा पटकपटक सफासँग माझिदिएर मात्र पुग्दैनथ्यो।  सबैभाँडाकुँडालाई आगोले पोल्नुपथ्र्यो।  उनीहरूको इच्छाअनुसार घिउको सिङमाङ पूरै उनीहरूसामु चढाउनुपथ्र्यो।  फलपूmल टक््रयाउनुपथ्र्यो, दूधले भरिएको कुँडे उनीहरूलाई नै सुम्पिनुपथ्र्यो।  दहीकाठेकीहरू उनीहरूमै समर्पण गर्नुपथ्र्यो।  चिनी, सखर, महका भरिला भाँडाहरू त उनीहरुका अघिल्तिर लर्कन लगाउनुपथ्र्यो।  उनीहरूले खाइनसकेसम्म घरका कसैले केही खान मिल्दैनथ्यो।  हामीकेटाकेटीहरू भोको पेट लिएर उनीहरूले मीठोमसिनो खाइरहेको हेर्दै घुटुघुटु थुक निल्थ्यौँ।  उनीहरूले डकारिसकेपछिमात्र घरका जहानले खान पाइन्थ्यो (पृ. २१)। ”

पिताको आस्था र साधुसन्तहरूको मौकामा चौका हान्ने प्रवृत्तिमार्फत नेपाली समाजमा संस्कार र संस्कृतिका नाममा मौलाएको धार्मिक पाखण्डीपनको झलक प्रस्तुत गर्न र विकृतिको भन्डाफोर गर्न उपर्युक्त कथन पर्याप्त छ।  धार्मिक पवित्रताका नाममा जुन घरमा बस्यो त्यही घरका सदस्यलाई मानसिक आघात पुग्ने गरी गरिने अस्वाभाविक व्यवहारको उछितो काढ्ने गरी गरिएको टिप्पणीले म पात्र तत्कालीन धार्मिक र सामाजिक संरचनाको विरुद्धमा सङ्घर्षमा थिए भन्ने पुष्टि गर्छ।  आपूmलाई देवदूत ठान्ने बाबाहरू भनेजस्तो सेवा नगरे सिधै नर्क पुर्याइदिने धम्की दिएर सेवासुविधा जुटाउन र आज्ञा पालन गर्न वाध्य पार्थे।  साधुसन्तका रूपमा राक्षसी चरित्र प्रदर्शन गर्ने ठगहरूको आचरणप्रति असहमति जनाउँदै यस प्रवत्तिसँग उनी अन्तर्सङ्घर्षमा थिए।

म पात्र जागिरे जीवनमा पनि विभिन्न खाले सामाजिक विकृतिसँग सङ्घर्षरत थिए।  सरकारी कर्मचारी भएर पनि आपूm घुस नखाने र घुसखोरी र भ्रष्टाचारको विरोध गर्ने भएकाले कतिपय सहकर्मीहरू नै उनका विरुद्धमा लाग्ने र अवसरका अग्राधिकारहरूबाट वञ्चित गराउन सक्रियहुन्थे।  यसरी आपूm विरुद्ध जालझेल गर्ने शक्तिसँग सङ्घर्ष गर्नु परेको छ।  कार्यालयभित्रका आन्तरिक विकृतिलाई कविता र लेखमार्फत जनसमक्ष ल्याउँदा विकृतिका संवाहक सहकर्मीहरूले विभागीय कारवाहीका निम्ति कार्यालय प्रमुखलाई दिएको दबाब त्यसका लागि गर्नु परेको प्रतिकार सामजिक अन्तर्सङ्घर्षको नमुना हो।  आपूmले लेखापरीक्षण गर्ने तर हाकिमका आसेपासेहरू सोही कामका लागि भनेर विदेश भ्रमणमा जाने प्रवृत्तिसँग पनि उनले सङ्घर्ष गर्नु परेको छ।  आमा बिरामी परेर उपचार गर्न खोज्दा समाजले हालेको भाँजो र उपचार भइरहँदा पनि गरिएका टिप्पणीसँग मौन सङ्घर्ष गर्नु परेको छ।

क्यान्सरले आक्रमण गरे पछि आफन्तका व्यवहारबाट झस्किएका म पात्रले त्यस जटिल समयमा पनि मानसिक सङ्घर्ष गरेका छन्।  क्यान्सरको उपचार गराइरहेका समयमा फोनमा हालखबर सोध्ने आफन्तका जिज्ञासामा निको हुँदै गएको खुसी र निको होस् भन्ने कामनाभन्दा अझै नमरेकामा आश्चर्य व्यक्त गरेको आभास पाउँदा मानसिक द्वन्द्व सिर्जना भएको छ।  यस क्षणमा समाजप्रति उनले गरेको टिप्पणी अन्तर्सङ्घर्षको दृष्टान्त बनेको छ।  “हाम्रो समाजले उपाय दिँदैन समस्या थप्छ।  ... समस्यालाई झन् भयावह बनाएर र अनेकौँ सामाजिक समस्या उभ्याएर रोगी र उसको परिवारलाई आतङ्कित पारिदिन्छ।  रोगको घाउ त भोग्नु नै छ अझ आफन्तहरूको कर्कश टोकसोले मुटु छियाछिया पारिरहने रहेछ (पृ. १३७)। ” समस्यामा रहेका व्यक्तिलाई समाधानतर्फ लाग्न उपाय बताउनु पर्नेमा समाज आफैँ समस्या बनेर उपस्थित भएपछि त्यस समाजसँग सहमत हुन सकिँदैन।  सान्त्वना दिएर समस्यासँग लड्न उत्प्रेरित गर्नु भन्दा अझ आतङ्कित पार्ने समाजसँग अन्तर्सङ्घर्ष छ।  दुख गरेर आर्जन गरेको सम्पत्ति र सुख उपभोग गरेको देख्दा भित्रभित्रै जलेको आफन्तको समाज रोगले थला परेको बेला खुच्चिङ भन्दै प्रतिशोध साध्न अग्रसर भएको छ।  यस किसिमको चिन्तन र सोच भएको समाजसँग अन्तर्सङ्घर्ष हुनु स्वाभाविक छ।  

व्यक्ति र समाजको सम्बन्धलाई चिन्नका लागि ठुलै समस्या आउनु पर्ने रहेछ।  समस्यामा परेका बेला नजिक ठानिएका आफन्त र शुभचिन्तक मानिएको समाजको असली अनुहार देख्न पाइने रहेछ भन्दै यी दुबैलाई स्थायी प्रतिद्वन्द्वीका रूपमा हेरिएको छ।  “समाजको चरित्र छ्याङ्ग बुझिने, संसारको चित्र प्रस्ट देखिने — कालोमैलो आँधी नै देखाउन सक्षम हुन्छ संसार र समाजलाई सफेद ढङ्गमा (पृ.१५१)। ” यसरी समाजसँग निरन्तर खटपटको अवस्थामा रहेका म पात्रले समाज बुझ्न सहज क्षण होइन कठिन परिस्थिति आउनु पर्ने रहेछ भन्ने आत्मज्ञान प्राप्त गरेका छन्।  यही आत्मज्ञानपछि पनि समाजसँग सङ्घर्षमा रहनु यसको सबल पक्ष हो।  समाजका चालचलन र प्रवृत्तिसँग सङ्घर्ष गर्दा अप्ठ्यारो र असजिलो भए पनि कर्तव्य मार्गबाट पलायन नभई अविश्रान्त अगाडि बढ्ने दृढता र पहिचान स्थापित गर्ने हौसला जीवित देखिनु अस्तित्ववादी अन्तर्सङ्घषको उच्च उदाहरण हो।

छ) विसङ्गतिबोध  

जीवन भोगाइका क्रममा देखापरेका अड्मिल्दा विषयहरूका कारण विसङ्गतिको सृजना हुन्छ।  जीवन व्यक्तिले सोचेजस्तो सरल गतिमा नबग्ने भएकाले उसले विसङ्गतिको अनुभव गर्छ। कृतिभित्रका पात्रले जीवनमा के कसरी के कस्तो विसङ्गतिको अनुभव गरेका छन् भन्ने खोज यसअन्तर्गत गरिएको छ।  कालो आँधी शीर्षकबाट नै यसभित्रको विषयवस्तु र परिवेशको जटिलतालाई अनुमान गर्न सकिन्छ।  आँधीभित्र भुमरीमा परेका सङ्कटग्रस्त व्यक्तिले अनुभूत गर्ने जटिलताको कोणबाट यसमा विसङ्गतिको आँकलन गर्न सकिन्छ।  यसमा विसङ्गतिको तीव्र अनुभूति म पात्रले गरेका छन्।  संसारमा हुने र घट्ने घटनामा मानवको कुनै हात छैन।  यिनै अनिच्छित घटना भोग्न विवश भएकाले मान्छे निरीह बनेको छ।  “संसारमा आजसम्म केही पनि व्यवस्थित र योजनाबद्ध चलेको छैन, चल्दैन पनि।  जे चल्छ आकस्मिक चल्छ, त्यसैलाई प्रकृतिको नियम मानेका छौँ हामीहरूले।  संसारमा के चल्दै छ, के चलिरहेछ त्यो कसैलाई थाहा छैन।  चलिसकेपछि मात्र थाहा पाउँछौँ हामी प्राणीहरूले (पृ. २)। ”

संसार योजनाबद्ध र व्यवस्थित रूपमा नचल्नु, यसका हरेक चालहरू आकस्मिक र अप्रत्यासित हुनु, के हुँदै छ र के हुन्छ भन्ने कुराको ज्ञान नहुनु, यिनै अनिश्चिततालाई प्रकृतिको नियम भनेर स्वीकार गर्न विवश हुनु आदि विसङ्गतिका अवस्था हुन्।  हरेक प्राणी अन्योलमा जीवन बिताउन वाध्य छ।  आफ्नै जीवनको अनिश्चितता र अज्ञानतामा त्रसित भएर बाँच्नु पर्ने पीडादायी क्षणलाई यसमा प्रस्तुत गरिएको छ।  “मेरो जन्म मेरो इच्छाको फल थिएन।  मेरो मृत्यु पनि मेरो काबुमा छैन (पृ.३)। ”

संसारमा काला आँधी भोग्न विवश व्यक्तिहरूको जीवनमरण आफ्नो इच्छाअनुकूल नभएको विचार यसमा अभिव्यक्त भएको छ।  मान्छे अरूका इच्छामा जन्मन्छ र कसैका इच्छामा मर्छ।  यसरी आफ्नो जन्ममरणको नियन्त्रण आपूmसँग नहुनु विसङ्गति हो।  मान्छे जीवनमा सुखी र खुसी हुन चाहन्छ, सुविधा र समृद्धि चाहान्छ, साथीभाइ इष्टमित्रसँग राम्रो सम्बन्ध चाहान्छ, सबैबाट सौहार्दपूर्ण र सौम्य व्यवहार चाहान्छ, जीवनको मिठास प्राप्त होस् भन्ने चाहान्छ तर एउटाको स्वतन्त्रतामाथि अर्कोले प्रहार गर्छ, निष्ठा र अनुशासनमाथि प्रहार गर्छ।  यस प्रकार व्यक्तिको चाहाना र यथार्थ प्राप्तिका बिचको पार्थक्यले जीवनको विसङ्गतिलाई द्योतन गरेको छ।

“जीवन हो, कसैको केही भर हुँदैन।  जीवनको बारेमा, रोगको बारेमा, दुर्घटनाका बारेमा र मृत्यु कहिले आउँछ भन्ने बारेमा कसलाई पो थाहा हुन्छ र ? (पृ.९)। ” माथिको अभिव्यक्तिबाट जीवनमा जेजे घटित हुन्छन् तिनको पूर्व जानकारी नहुने भएकाले अन्योलमा बाँच्नु पर्ने छ।  रोग, दुर्घटना र मृत्युमात्र होइन समग्र जीवन नै अज्ञेय भएकाले यस्तो अनभिज्ञतामा बाँच्नु पर्दाको पीडा प्रस्फुटन भएको छ।  हजुरबुबाका पिताको अल्पायुमा मृत्यु, भाइलाई स्यालले खानु, काम गरिरहेका बेला अचानक आमाले संसार छोड्नु, झाडा पखालाजस्तो सामान्य रोगले दाजूको निधन हुनु, कलिलै उमेरमा भाउजूले वैधव्यको कहर काट्नु आदि अप्रत्यासित घटेका घटानाका बारेमा पूर्व जानकारी नहुनु दुखको कारण हो।  आफ्नै परिवारले भोगेका यति धेरै कहाली लाग्दा जीवन र मृत्युको अनिश्चयको परिघटनाले विसङ्गतिको बोध भएको छ।

जीवनमा आँधी र विस्फोटको वज्र आइलाग्छ निश्चित छ तर कहिले र कहाँ भन्ने अनिश्चय र अज्ञानताले त्रसित भएर बाँच्नु पर्ने विवशताको प्रस्तुति तलको उद्धरणले दिएको छ।  “यो जिन्दगी कसैको पनि सिधा रेखामा कहाँ चल्छ र ? कुन बेला कोमाथि आँधी र विस्फोटका कस्ता प्रहार बज्रन्छन् कसलाई के थाहा (पृ. २९)। ”

 जीवनमा वज्र प्रहार हुनु निश्चित छ तर तिथिमिति किटान नहुँदा सधैँभरि टाउकामा हात राखेर हिँड्नु पर्ने विवशताले निराशा जगाएको छ।  जीवन र मृत्युको गाढा सम्बन्ध छ त्यसैले यसले एक दिन जीवनलाई गल्र्याम्म ढाल्छ।  जन्मेका मान्छे बाँचिरहेको इतिहास छैन तापनि मृत्यु सजिलै छान्ने विषय पनि होइन।  यिनै जटिल परिस्थितिका बिचमा निरीह बनेर बाँच्नु पर्ने वाध्यताले विसङ्गति जगाएको छ।

सबै कुरा नियमिततामा चलिरहेका समयमा अचानक क्यान्सरको आगमन भएपछि म पात्रले जीवनका बारेमा अनुभव गरेको विसङ्गति बोध महत्त्वपूर्ण छ।  “हिजोसम्म रमाउँदै हिँडेको बिजी मल र बसपार्क क्षेत्र आज एकाएक नैराश्यको पहाड बनेर उठिरहेछ।  आकाशमा घाम त लागिरहेछ तर अन्धकारको वर्षा भइरहेछ।  मान्छेको भीड पनि अनकन्टार जङ्गलझैँ लागिरहेछ।  हामी दुबै घस्रिरह्यौँ — डिजेलमा डुबेको गड्यौला जसरी (पृ. ११५)।” समस्या नआउन्जेल जुनजुन कुराले आनन्द र खुसी दिन्थे आज तिनै कुराले नैराश्य र पीडा दिन थालेका छन्।  गगनमा झलमल्ल घाम लागे पनि मनमा अनायास आइलागेको रोगले अन्धकारको वर्षा गराएको छ।  वरिपरि मान्छेको भीड लागे पनि मनले अनकन्टार निर्जन जङ्गलको अनुभूति गरिरहेछ।  हिजोसम्म स्वच्छन्द विचरण गर्ने पङ्खफुका पन्छीजस्तो ठानिएको जीवन आज एकाएक डिजेलमा डुबेर छटपटाउँदै घस्रिरहेको गड्यौलाजस्तो भएको छ।  यसप्रकारको अनुभूति जीवनको विसङ्गत स्थितिबोधबाट आउने गर्छ।  गल्ती नगरे पनि सजाय भोग्न वाध्य मानिसको व्यथा तलको साक्ष्यमार्फत प्रस्तुत गरिएको छ।

“मैले जिन्दगीभर कसैको अहित हुने काम गरिनँ।  ठगी, चोरी, लुट, छली, व्यभिचारबाट सधैँ टाढै रहेँ।  आफ्नो लक्ष्यमा पुग्न परिश्रम र मेहनतलाई सधैँ प्राथमिकता दिएँ।  कसैलाईफसाएर फाइदा लिने काम गरिनँ।  सधैँ काममा प्रतिबद्धभइरहेँ।  स्वास्थ्यलाई अहित हुने खाने कुरा खाइनँ। सधैँ  शारीरिक परिश्रम, शारीरिक अभ्यास गरिरहेँ र शारीरिक फिटनेसमा ध्यान दिइरहेँ।  यति हुँदाहुँदै मलाई नै क्यान्सर लागेको किन ? (पृ.१६५)। ”

न शारीरिक अल्छीपन, न खानपानमा असावधानी, न व्यक्ति र समाजको हानीनोक्सानी, न मानसिक रूपमा कुनै अपराधको कल्पना, न भ्रष्टाचार र अनैतिक कर्ममा प्रवृत्ति कुनै नकारात्मक कारण नहुँदा नहुँदै पनि क्यान्सर जस्तो भयानक रोगको सजाय किन भोग्नु पर्यो ? आजीवन सकारात्मक सोच र असल कर्म गरी निरपराध जीवन निर्वाह गर्दा पनि सजाय भोग्न विवश म पात्रको जीवनको उत्तरार्धमा विसङ्गतिको स्वरूप देख्न सकिन्छ। आपूmले जीवनमा भोगेका यावत् दुखका कारण पत्ता लगाउन खोज्दा समाजले त्यसको जिम्मा नलिई मुक दर्शक बनेकाले पात्रमा विसङ्गति बोध भएको छ। उपर्युक्त साक्ष्यहरूले देखाएका घटना र पात्रको जीवनचक्रका अमिल्दा दृश्यहरू र त्यसले पात्रका मनमा उत्पन्न भएको मानसिक बचैनीको प्रस्तुतिले  प्रस्तुत कालो आँधीलाई विसङ्गति बोधका दृष्टिले सफल रचना मान्नु पर्छ।

ज) मृत्युबोध

रचनाभित्र पात्रले विसङ्गतिबोध गरेपछि मृत्युबोध गरेको छ कि छैन, यदि गरेको छ भने कुन रूपमा कसरी गरेको छ भन्ने सन्दर्भको खोजी यसअन्तर्गत गरिएको छ।  प्रस्तुत कालो आँधी मनालापका पात्रले प्रशस्त मात्रामा मृत्युबोध गरेका छन्।  आफ्नो शरीरभित्र क्यान्सरका जीवाणुको आगमन पश्चात् जनमानसमा यस रोगप्रति रहेको नकारात्मक धारणाले प्रियजनमा उत्पन्न भएको मानसिक त्रास र अस्वाभाविक व्यवहारका कारण नबाँचिने पो हो कि भन्ने भयले म पात्रमामृत्युबोध गराएको छ। चिकित्सा विज्ञानका क्षेत्रमा उपचारका प्रविधि र औषधिको प्रशस्त विकास भएको जानकार हुँदाहुँदै पनि परिवारका सदस्य, आफन्तजन, इष्टमित्र र शुभचिन्तकहरूले देखाएको अत्यधिक सहानुभूतिको वातावरणले साँच्चै मृत्युसँग नजिकिएको पो हो कि भन्ने अनुभूति भएको छ।  रोगको निदान वा क्यान्सरको पुष्टि हुने बित्तिकै म पात्रका मनले अनुभूत गरेको सन्निकट मृत्युको अभिव्यक्ति यसरी गरेका छन्।  

“क्यान्सर...’ यो शब्द मेरो दुबै कानमा तातो झिरले छेड्दै गए झैँ लाग्यो।  रमाउँदैरमाउँदै हिँडिरहेको बटुवामाथि एक्कासि घनघोर आँधी हुरी र चट्याङले हानिरहेजस्तो लाग्यो।  उकालो चढिसहेका बेला बडेमाको ढुङ्गाले थिचेजस्तो लाग्यो।  हजारौँ गोमन साँपहरूले डसिरहेजस्तो, सयौँ सिंहले लुछिरहेजस्तो लाग्यो।  घनघोर अँध्यारो रातमा आकासे भीरबाट गुल्टिएजस्तो भयो।  शान्त र  सुन्दर बगैँचामा घुमिरहेका बेला छातीमा ड्याम्म गोली लागेजस्तो भयो।  दिमाग शून्य भयो, संसार अँध्यारो भयो (पृ. ११३)। ”

प्रस्तुत साक्ष्यमा म पात्रका मनले जेजस्तो भयानक स्थितिको अनुभव गरेको छ त्यसले जीवन निकट भविष्यमै चिरविश्रामतिर जाँदै छ भन्ने सङ्केत गरको छ।  कानमा झिर रोपे झैँ हुनु, चट्याङहाने झैँ हुनु, ढुङ्गाले थिचे झैँ हुनु, हजारौँ साँपले डसेजस्तो हुनु, सयौँ सिंहले लुछेजस्तो हुनु, आकासे भीरबाट गुल्टिएजस्तो हुनु, छातीमा गोली लागेजस्तो हुनु आदि कुनै एक कारणमात्र पनि जीवन समाप्त पार्न वा मृत्युवरण गराउन पर्याप्त छ तर यहाँ म पात्रले यी सम्पूर्ण कारणहरू एकैसाथ अनुभव गरेकाले अब बाँचिँदैन भन्ने आत्मबोध गरेको देखिन्छ।  अमेरिकन क्यान्सर सोसाइटीको अनुसन्धानले नेजोफेरेन्जियल क्यान्सरका बिरामीको मृत्यु रोग पत्तालागेको पाँच वर्षमा हुने आँकडा देखेपछि म पात्रमा आएको मानसिक छटपटीलाई उनले गरेको मृत्युबोधको दृष्टान्तका रुपमा लिन सकिन्छ।  “यो देखेपछि म एकपटक भुङ्ग्रोमा फसेँ। दिमाग शून्य भयो।  पृथ्वी आकाशतिर, आकाश पृथ्वीतिर झरेजस्तो भयो।  अब एउटा क्रुर इतिहास लेखिन्छ होला जीवनको— आशङ्का दनदनी बल्यो दिमागभरि।  जीवनको चौडा सडकमा किन एकाएक आयो पहिरो भन्ने लाग्यो (पृ.११७)। ” प्रस्तुत साक्ष्यमा भुङ्ग्रोमा फस्नु, आकाश झरेजस्तो हुनु, पहिरो झरेको अनुभव हुनु मृत्युसँग साक्षात्कार हुनु बराबर हो।  अझ त्यो भन्दा तिखो र तितो जीवनको क्रुर इतिहास लेखिने आशङ्काले मृत्युबोधलाई दर्साएको छ।  यसै सन्दर्भमा उडिरहेको पन्छी गोलीको निसानाले ढलेजस्तो, उडिरहेको विमान टुक्राटुक्रा पारेजस्तो, ओजनदार ज्वालामुखीको माझमा परेजस्तो,दसौँ रेक्टरको भूकम्पको लहरमा परेजस्तो र आँधीले अनकन्टार अँध्यारामा उडाएजस्तो अनुभव हुनु अब बाँच्ने सम्भावना छैन भन्ने निश्चित गरेको अवस्था हो।

यस संसारमा जन्मेको मान्छे निरन्तर बाँचेको नदेखिएकाले जीवन र मृत्युको सम्बन्ध गाढा रहेको यथार्थबोध मपात्रलाई भइसकेको छ।  “मृत्युले खुबै बलियो बनेर झम्टिरहेको हो मलाई।  म मन र शरीरका हरेक कोषकोषका घाउहरू सुमसुम्याउँदै लडिरहेँ मृत्युसँग र झम्टँदै, लखेट्दै र प्रहार गर्दै धपाइरहेँ उसलाई (पृ.१५२)। ” मृत्युले क्यान्सरको रूपमा रूपान्तरित भएर बारम्बार झम्टेको र आपूmले पनि मन र शरीरका घाउ सुमसुम्याउँदै मृत्युलाई लखेटेको यस लडाइँमा मृत्यु पराजित भएको छ।  रेडिएसन र किमोथेरापीले मुख र घाँटीमा आएका घाउको पीडा सहन गर्न नसक्दा मृत्युको सन्निकटता अनुभूत भएको छ।  “रोगको पीडाले मृत्यु धेरै टाढा छैन अब भन्ने पनि लाग्छ।  सम्झिन नखोजे पनि कठोर पीडाहरूले क्षणक्षणमा समातिरहँदा मृत्यु सम्झनामा आइरहन्छ (पृ. १४३)। ” मृत्युलाई जीवनको छायाका रूपमा कल्पना गरेर मनलाई सात्वना दिन खोजे पनि म पात्रलाई मृत्युको भयावहताले उद्वेलित बनाएको छ।  उपचारका क्रममा भोग्नु परेको शारीरिक पीडा र मानसिक विचलनले मृत्यून्मुखी चेतको विकास भएको छ।  यो मृत्यून्मुखी चेत मृत्युसँगको सामीप्यताको अनुभवसँग मात्र सम्बन्ध राख्दछ।  पलायनमुखी भएर आत्महत्याको कुरूपतातिर मोडिएको छैन।  मृत्युलाई जीवनको स्वाभाविक प्रक्रियाका रूपमा लिने प्रयास गर्दै बाँच्नका लागि निरन्तरप्रयास जारिरहेको छ।  यसमा मृत्युबोध पश्चात् आशावादी चिन्तनको उज्यालो ब्युँतिएको छ।

जीवनमा मृत्य त सबैको हुन्छ तर म पात्रको मृत्यु सर्वसाधारणको जस्तो अनिश्चित नभएर तिथिमिति तोकिएर आएको थियो। यस्तो अवस्थामा पनि म पात्र लम्पसार परी मृत्यु पर्खिने पक्षमा नरही मृत्युसँग सङ्घर्ष गर्दै जीवन बँचाउन उत्साही छन्।  रोगका भुङ्ग्रामा उकुसमुकुस भई मृत्युबोध भए पनि जीवनका पक्षमा उभिने आत्मबल निर्माण गर्न सक्नु महत्त्वपूर्ण प्राप्ति हो।

झ) निरीश्वरवादी चिन्तन

कृतिभित्र ईश्वर वा परमसत्ताप्रतिको आस्था र धारणाके कस्तो रहेको छ भन्ने कुराको विश्लेषण यसमा गरिएको छ।  आस्तिक र नास्तिक अस्तित्ववादीहरूका दुई कित्तामध्ये प्रस्तुत कालो आँधी अस्तित्ववादी मनालाप कुन धारमा पर्छ भन्ने अन्वेषण यसमा गरिएको छ।  यस कृतिका लेखक पुडासैनीको जीवनदर्शन मानववादी भएकाले त्यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ।

ईश्वरीय सत्ताका विरुद्धमा मानववादको पक्षपोषण गर्ने लेखकको चिन्तनअनुकूल नै यस रचनामा पनि संसार वा व्रम्हाण्डको कारक र नियामक शक्तिका रुपमा कुनै दैवी तत्त्वको अस्तित्व स्वीकार गरिएको छैन।  परम्परित अस्तित्ववादीहरूले ईश्वरको मृत्युको घोषणा गरे जसरी भूतकालमा ईश्वर थियो भन्ने मान्यता यसमा राखिएको छैन।  गीताको मान्यताअनुसार जन्मेकाको मृत्यु र मरेकाको जन्म अवश्य हुन्छ भन्ने मान्ने हो भने नास्तिक अस्तित्ववादी विचारको मूलमा पनि ईश्वरको अस्तित्व थियो, कारणवश मृत्युमात्र भएको हो भन्ने आशय अभिव्यक्त भएको पाइन्छ।  प्रस्तुत कालो आँधी अस्तित्ववादी रचना भएर पनि अस्तित्ववादको परम्परित पूर्व मान्यताभन्दा फरक मार्गमा हिँड्न खोजेको देखिन्छ।  ब्रम्हाण्डको सृष्टि, स्थिति र विनाशको चक्र प्राकृतिक रूपमा स्वतः हुने भएकाले यसको स्रष्टा, पालक र संहारक कुनै प्रभुसत्ता छैन भन्ने सन्देश प्रवाहित गरेको छ।  ब्रम्हाण्डको उत्पत्ति प्राकृतिक विकासका क्रममा भएकाले यसको उद्भव, विकास र विनाश पनि स्वचालित रुपमा प्राकृतिक हिसाबले हुने भएकाले कुनै अद्भुत ईश्वर वा परमशक्तिको स्वत्वको निषेध गरिएको छ।

आफ्नो शरीरभित्र क्यान्सरका जीवाणुले आक्रमण गरेपछि हतोत्साही बनेका श्रीमती, छोराछोरी, आफन्त र शुभचिन्तकहरूले दिएको ईश्वरीय शक्तिको जप, तप र प्रार्थनाका सुझाबका सन्दर्भमा कृतिभित्र ईश्वर सम्बन्धी धारणा अभिव्यक्त भएको छ।  ईश्वरले संसारको सृष्टि, संभार र संहार गर्छन् भन्ने मान्यता अज्ञानताको उपज हो।  मान्छेले जाडो, गर्मी, वर्षा, चट्याङ, आँधी, बाडी, पहिरो, रोग, महामारी आदि प्राकृतिक विपत्ति आइलाग्दा जोगिने उपाय निर्माण गर्न सकेको थिएन।  अज्ञानताको त्यस समयमा केही टाठा मान्छेले मानसिक सान्त्वनाका लागि जुन समस्याले पिरोल्छ तत्तत् देवताको कल्पना गरी तिनलाई शान्त गराउन पूजाआराधनाको प्रारम्भ गरेका थिए।  अज्ञानताको पृष्ठभूमिमा प्रारम्भ भएको यही मनशान्तिको परम्पराले काल्पनिक ईश्वरीय सत्ताको भयङ्कर जालो निर्माण गरको छ। “त्यही अदृश्य शक्तिलाई ईश्वरको नाम दियो र उसलाई खुसी पार्न पूजा, पाठ, जप, तप गर्न थाल्यो।  त्यसरी मान्छेले सर्वप्रथम ईश्वरको जन्म गरायो (पृ. १६१)। ” ईश्वर संसार र प्राणीको सृष्टि गर्ने सर्वशक्तिमान् संरक्षक नभएर प्राकृतिक समस्याबाट पीडित मान्छेले मानसिक शान्तिका लागि गरेको कल्पनाबाट जन्माइएको शक्तिको मानसिक प्रतिबिम्ब हो।  अदृश्य शक्तिलाई पुज्ने र त्यसलाई ईश्वरको नाम दिने कार्यबाट ईश्वरको जन्म गराई त्यसलाई परम्पराको शृङ्खला बनाउने काम मान्छेले गरेको हो।  ईश्वरलाई सृष्टिकर्ताका रूपमा नभएर मानवको निर्मिति मानेर अप्ठ्यारो र असहज परिस्थितिमा ईश्वरले रक्षा गर्छ वा समस्याबाट मुक्त गराउँछ भन्ने मान्यताको खण्डन गरी निरीश्वरवादको स्थापना यस कृतिमा गरिएको छ।

विश्वमा जेजस्ता भौतिक, जैविक र मानसिक समस्याले मानवजीवनमा सङ्कट निम्त्याएको छ त्यसबाट सुरक्षित हुन र बँच्न सचेत मानिसले नै अनेक उपायहरूको खोज र निर्माण गरेको छ।  समस्याका समाधानको उपाय निर्माण भगवान् वा ईश्वरको वरदाननभएर मानवको लगनशीलता र विवेकपूर्ण जिज्ञासाको योगदान हो।  यसले काल्पनिक ईश्वरको पूजापाठबाट समस्याको समाधान खोज्ने विवेकहीन कमजोर मानसिक प्रवृत्तिको विरोध गर्दै मानव निर्मित ज्ञान, विज्ञान र प्रविधिलाई आत्मसात गरी मानवलाई विगत, वर्तमान र भविष्यको निर्माता र संरक्षक मानेको छ।

“मान्छेआफ्ना गल्तीहरू, डरहरू, आशाहरू र स्वार्थहरू भगवान् छ भन्ने कल्पना गरेर उसैमाथि बिसाउन खोज्छ।  त्यो मान्छेको आत्मविश्वासको अभावले प्रकट भएको कल्पनामात्र हो (पृ. १६२)। ” आफ्ना कमीकमजोरी लुकाउन र लुकेको स्वार्थपूर्ति गर्न कल्पना गरिएको असत्य ईश्वरीय शक्तिले मान्छेको वास्तविक र यथार्थ समस्याको समाधान गर्न सक्तैन।  मान्छेले आफ्नो व्यक्तित्व र सामाजिक व्यवस्थामा सुधार गरेर स्वयं दुख कम गर्न सक्छ तर कुनै असत्य काल्पनिक शक्तिले मान्छेका दुखमोचन गर्न सक्तैन।  यदि ईश्वर छ र उसले प्राणीका दुख मोचन गर्ने सामथ्र्य राख्छ भने आफ्नो सृष्टिलाई दुखमा जाकेर पूजाप्रार्थना गराएर मात्र किन दुखमोचन गर्ने घुमाउरो बाटो खोज्छ ? सर्वशक्तिमान्ले सिधै दुखको कारक र कारण समाप्त पारी संसारलाई सदाका लागि दुखमुक्त बनाए हुँदैन र ? ईश्वरले नराम्रो र खराब कर्म गर्नेलाई दण्डित र असल कर्म गर्नेलाई पुरस्कृत गर्न दुख र सुखको व्यवस्था गरिएको मान्ने हो भने पनि उसले मान्छेलाई गल्ती गर्ने दुर्बुद्धि किन दिन्छ? गल्ती कमजोरी गर्न दिएर सजाय दिनुभन्दा सबैमा सद्बुद्धि, सकारात्मक सोच असल बानी प्रदान गरेर सुखी, खुसी र निरोगी बनाउनु पर्ने होइन ? आफैँले सृष्टि गरेका मध्ये कसैलाई सुखैसुख र दुखैदुख दिने पक्षपाती कसरी ईश्वर हुन सक्छ ? यस्ता अनुत्तरित प्रश्नको उठान गरीईश्वरको अस्तित्वको खण्डन गरेका छन्।  

संसारमा दुखका विविधताले लै ईश्वर छैन भन्ने सिद्ध हुन्छ।  संसारमा मानवले सुख वा दुखभोग्ने भनेको आफ्नै कर्म वा कारणले हो।  बानीबेहोरा, आचरण, रहनसहन र खानपानको सन्तुलन र सामाजिक सुव्यवस्था कायम गर्न सक्ने हो भने सुख भोग गर्न कुनै अदृश्य शक्तिको कल्पना आवश्यक छैन।  बौद्धिकता र तर्क नभएका पाँच ‘प’ परमेश्वर, परलोक, पुनर्जन्म, परम्परा र पुर्पुरो जस्ता मान्यतालाई विज्ञानले मान्दैन।  विज्ञानले विश्वासिला प्रमाणमा आधारित भएर मानवजातिलाई ठुल्ठुला उपलब्धिहरू दिएकाले ईश्वरको भ्रमबाट मुक्त हुन आग्रह गरेको छ।  “चेतनामै हो सारा मान्छेको सफलता र असफलताको कहानी लुक्ने।  यति बुझेपछि नै हो मान्छे प्रयत्नशील बन्ने, बाटो बदल्ने र सफल जीवन प्राप्त गर्ने (पृ.१६७)। ” मानवको गति र गन्तव्य निर्धारण गर्ने तत्त्व चेतना भएकाले सचेत व्यक्ति असत्यका पछि नकुदी सफल जीवन प्राप्त गर्न बाटो बदल्न अग्रसर हुन्छ।  व्यक्तिको चेतनाभन्दा पर अर्को शक्तिको अस्तित्व छैन भन्दै यसमा ईश्वरीय शक्तिप्रति असहमति जनाइएको छ।  संसारमा कस्तो जीवन बाँच्ने मान्छेको निजी भूमिका र प्रयत्नमा निर्भर रहन्छ।  यसमा ईश्वरको अदृश्य भूमिका, कृपा वा अनुकम्पा केही पनि रहँदैन।  मान्छेले सृजना गरेको ईश्वरको काल्पनिक शक्तिमा निर्भर हुँदा मान्छे निष्क्रिय, परावलम्बी र आशामुखी बन्ने भएकाले यसप्रकारको दृष्टिकोण त्यागेर मानववादी बन्नु पर्ने धारणा अभिव्यक्त गरिएको छ।  अतः कालो आँधी निरीश्वरवादी चिन्तन बोकेको अस्तित्ववादी रचना हो भन्ने सिद्ध हुन्छ।

निष्कर्ष

दामोदर पुडासैनी ‘किशोर’द्वारा लिखित कालो आँधी लेखकका मनमा उत्पन्न आलापहरू प्रस्तुत गर्न सफल भएको छ।  भूमिका लेखकले भनेझैँ यो सुनाउन लेखिएको नभएर अनुभूत गराउन लेखिएको (एटम, २०८२, पृ. चार) रचना भएकाले यसभित्र जीवनका वास्तविक आँधी, हुरी, बाढी, पहिरो, ज्वालामुखी, भूकम्प जस्ता विविध अड्चन र अप्ठ्याराहरूसित गरिने अन्तर्सङ्घर्ष र त्यसबाट उत्पन्न हुने जटिलताको पठन होइन मनन र महसुस गर्न सकिन्छ।  प्रस्तुत कालो आँधी अस्तित्ववादी चिन्तनका आरनको राप र तापमा परीक्षणका सम्पूर्ण कसीले पर्गेल्दा चौबिस क्यारेटको नम्बरी प्रमाणित भएको छ।  कृतिभित्रका पात्रहरू आफ्ना जीवनका बारेमा निर्णय गर्न र छनोटको स्वतन्त्रताको उपभोग गर्न सक्षम छन्।  अरूका निर्देशन र नियन्त्रणलाई पन्छाएर समस्याहरूसँग सङ्घर्ष गर्दै पहिचान र अस्तित्व रक्षा गर्न अग्रसर छन्।  यसमा जीवन निर्वाह गर्ने सन्दर्भमा आइपरेका अवरोध र अड्चनहरूसँग पौँठेजोरी खेल्दा सहयोगी र शुभचिन्तक होलान् भन्ने ठानिएका व्यक्तिहरूबाट भोग्नु परेको परचक्री व्यवहारले मान्छेका भीडमा पनि गरिएको एकाकी अनुभव र देखावटी सामजिक सम्बन्धको निरर्थकता बोधलाई कुशलता पूर्वक देखाइएको छ।  रोग र समस्याका अजेय प्रतिद्वन्द्वीसँग लडाइँ गर्नु पर्दा पात्रहरू डर र चिन्ताको गहिरो पोखरीमा निस्सासिँदै पौडिएको दयनीय स्थितिको चित्रणले पाठकको मर्म स्पर्श गरेको छ।

समस्याले भित्रभित्रै भयभीत र विचलित बनाए पनि आफ्नो समस्याको समाधान आफैँ गनुृपर्छ भन्ने जिम्मेवारी बोध गरी निरन्तर क्रियाशील पात्रको अहम् बोधले अस्तित्ववादी मान्यतालाई समृद्ध तुल्याएको छ।  सामाजिक अचेतन र व्यक्तिका सङ्कुचित सोचले जीवन बँचाइमा पारेका असर र प्रभावका चेपुवामा पनि पात्रहरू सङ्घर्षको मैदान छोडेर भागेका छैनन्।  कतिपय परिवेशमा मृत्युसँगको जम्काभेटले जीवन समाप्त हुन लाग्दा पनि मृत्युलाई धकेलेर पन्छान लागिपरेका छन्।

आपूmले सोचेभन्दा विपरीत जीवनको मार्ग निर्धारण हुनु र अनिच्छापूर्वक त्यही बाटोमा हिँड्नु पर्ने वाध्यताले तीव्र विसङ्गति बोध गराएको छ।  यस विसङ्गतिको विद्रुप क्षणमा पनि कुनै दैवी वा ईश्वरीय शक्तिले सङ्गतिको अद्भूत चमत्कार सृजना गरी जीवनको समुचित तारतम्य मिलाउन सक्तैन भनी व्यक्ति आफैँ सक्रिय हुनुपर्छ भन्ने निरीश्वरवादी चिन्तन प्रस्तुत गरिएको छ।  विसङ्गति र निराशाका बिचमा पनि आत्महत्या र पलायन जस्तो अधोगतिको मार्ग अस्वीकार गरी जीवनवादी बन्न यसले प्रोत्साहन गरेको छ। 

कालो आँधी लेखकले दाबी गरे झैँ अस्तित्ववादी चिन्तन प्रवाह गर्न सफल भएको छ।  प्रसिद्ध अस्तित्ववादी चिन्तकका परम्परित मान्यतासँग कतिपय सन्दर्भमा स्वशब्दवाच्य रूपमा विमति जनाउँदै अस्तित्ववादी मान्यतालाई नवीनता पैदान गर्न लेखक सफल भएका छन्। ईश्वर, दैव वा नियति सम्बन्धी मान्यता मानववादका केन्द्रीयतामा प्रस्तुत गरिएको छ।

अस्तित्ववादको ध्येय अपरिमित परम ईश्वरीय शक्तिका पछाडि दिग्भ्रमित भएर लागेका मान्छेलाई भ्रम र अन्धताबाट मुक्त गरी सत्य र यथार्थ मार्गमा हिँडाई गन्तव्यसम्म पु¥याउनमा केन्द्रित छ।  यही लक्ष्य प्राप्तिका लागि कृतिभित्र समाविष्ट पात्र र समाख्याताको जीवन भोगाइ, घटित घटना र परिवेशको कुशल संयोजनद्वारा अस्तित्ववादको मूल मर्मलाई देखाउन यो कृति सफल भएको छ।  समग्रमा प्रस्तुत कालो आँधी अस्तित्ववादी चिन्तन धाराको सफल प्रयोगात्मक कृति सिद्ध भएको छ।

सन्दर्भ सामग्रीसूची

उप्रेती, सञ्जीव. (२०५५). ‘अस्तित्ववाद’.नेपाली साहित्यकोश. (ईश्वर बराल सम्पा.). पृ.७२—७४. काठमाडौं:  नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान।

एटम, नेत्र.(२०८२).‘कालो आँधीमा परेका पुडासैनीको निर्बन्ध मनालाप’ (भूमिका) काठमाडौं: रत्नपुस्तक भण्डार।

कामु, अल्बर्ट. (सन् १९९५).द मिथ अफ सिसिफस एन्ड अदर एस्सेज्. न्यु योर्क: अल्फ्रेड ए.नफ।

त्रिपाठी, वासुदेव.(२०५८). पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा. ललितपुर: साझा प्रकाशन।

पुडासैनी, दामोदर. (२०७२). धर्मको ह्याङ्ओभर. काठमाडौ: मानववादी समाज (सोच)।

पुडासैनी, दामोदर. (२०८२). कालो आँधी. काठमाडौं: रत्नपुस्तक भण्डार।

पोखरेल, भानुभक्त. (२०४०). सिद्धान्त र साहित्य. विराटनगर:  श्यामपुस्तक भण्डार।

भट्टराई, गोविन्द. (२०४९). काव्यिक आन्दोलनको परिचय. काठमाडौं: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान।

शर्मा, मोहनराज र लुइँटेल, खगेन्द्रप्रसाद. (२०७६). पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त. काठमाडौं: विद्यार्थी पुस्तक भण्डार।

सात्र्र, जाँ पाल. (सन् २००७).एक्जिटेन्सियालिजम इज अ ह्युमानिजम. (अनु. क्यारोल, म्याकोम्बर).न्यु ह्याभेन सिटी: याले युनिभर्सिटी प्रेस।  

प्रकाशित: १९ असार २०८३ १०:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App