१) महाजात्रा
"ए होहो सबैलाई हो!
म्यासेजको जवाफ फर्कियो। "सबैलाई ग्रुपमा सूचना गरिदिनु।" प्रधानाध्यापकले कक्षा शिक्षकलाई म्यासेजरमा आदेश गर्नुभयो।
बिदाको टुङ्गो नलागी शिक्षकहरू भर्खरै मात्र घर फर्केका थिए। घर पुगेका सबै कक्षा शिक्षकले प्रधानाध्यापकले भनेअनुसार कक्षागत मेसेन्जरमा भोलि विद्यालय बिदा भनेर सूचना राखिदिए। प्रदेशको बिदासम्बन्धी आधिकारिक सूचना पनि त्यसैमा राखियो।
विद्यार्थी मक्ख, शिक्षक दङ्ग। भोलिका रसिला योजना बन्न थाले।
एक घण्टापछि विद्यालयको म्यासेन्जर ग्रुपमा ट्वाङ्ङ नोटिफिकेसन बज्यो। लेखिएको थियो, "ए होइन होइन बिदा होइन रहेछ, अरू सबै अफिस बिदा रे! विद्यालयमाचाहिँ बिदा छैन रे। पढाइ हुन्छ भनेर सबै विद्यार्थीलाई खबर गरिदिनु है। प्रमाणका लागि पालिकाको सूचना म्यासेन्जरका भित्तामा टाँसिएको थियो।
प्रधानाध्यपकको आज्ञाको पालन भयो। सबै कक्षा शिक्षकले फेरि फटाफट म्यासेन्जरमा बिदा नभएको सूचना सम्प्रेषण गरे।
कुनै प्रदेशले कुनै भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको सन्दर्भमा प्रदेशमा सार्वजनिक बिदाको घोषणा गरेको थियो।
सबैका योजना चकनाचुर भए। बिदाको पक्षविपक्षमा धारणाहरू आउन थाले, शिक्षकमाथि न्यायअन्याय र विभेदका बहसले सामाजिक सञ्जाल मजाले तात्यो।
केही घण्टापछि फेरि नोटिफिकेसनको टुङटुङ आवाजले झस्कायो। पालिकाको संशोधित सूचना पोस्ट भएको रहेछ। सूचनाको पुछारमा लेखिएको थियो, "लौ फेरि बिदा हुने भयो है, फेरि सबैले विद्यार्थीलाई खवर गरिदिनु, विद्यालय बिदा छ भनेर।"
"उफ् कस्तो कच्चा निर्णय होला घण्टा घण्टामा फेरिने, के गेरेको होला यस्तो!" ग्रुपमा म्यासेज लेखेर हैरान भएकी श्रीमती चर्किइन्।
आफ्नी श्रीमतीको तनाव देखेर श्रीमानले सम्झाउँदै भने, "कक्षा शिक्षकज्यू, महाजात्रा भनेको यही हो!"
२) अस्तित्व'
"तिमी मभन्दा पछि मरेको पहिले बाँच्यौ तर म तिमीभन्दा धेरै पछि मरेको कहिले बाँच्छु होला?" मरेका र बाँचेका दुईजना कुराकानी गर्दै थिए।
"त्यही त तिमी समयको पालक थियौ। कुनै समय त्यस्तो थियो तिमीबिना कामकाजै चलाउन गाह्राे थियो। सहरवासीलाई दैनिक जगाउने तिमी नै थियौ!" बाँचेकोले भन्यो।
मरेकोले थप्यो, "पहिलेका गैहाले, अहिलेकाले मेरो महत्त्व बुझेनन्। अहिले पो म वृद्ध भएँ, जवान छँदा सबै मेरै इसारामा नाच्थे। बाटो हिँड्दा मेरो सौन्दर्यलाई पुलुक्क फर्केर नहेर्ने कोही थिएन।"
"हो त समयसमयमा समिप बसेर तिम्रो गर्जन सुन्ने बानी परेको म, आजभोलि मेरा कान तिम्रा प्यासी बनेका छन्, तिमीलाई खोजिरहेका छन्।" बाँचेकाले उसको अभाव दर्शायो र थप्यो, "म जिउँदो छँदा मानिसहरूले मलाई हत्याराको समेत लाञ्छना लगाउन समेत पछि परेनन् तिमीलाई थाहा नै छ।"
"हो नि त्यस कुराको साक्षी म छु नि। दिनरात तिम्रै छेउमा म ठिङ्ग उभिइरहेको हुन्थेँ। मान्छेहरू आफ्ना विभिन्न व्यक्तिगत व्यथा बोकेर आउँथे, झ्वाम्म हामफालेर मर्थे, बेकारमा अपजस तिमीलाई आउँथ्यो।
मृतकले अनुरोध गर्याे, "लौन तिमीलाई जसले बिउँतायो उसलाई मलाई पनि पुनर्जीवित गर्न भनिदेऊ न। म त्यही आशामा बसेको छु।
रूँदै घण्टाघरले रानीपोखरीलाई भन्यो, यदि म बाचेँ भने अझै धेरै वर्ष निरन्तर सेवा दिने थिएँ!"

३) नाटक
सुटटाई लगाएका सुकिला मान्छेहरू हलभित्र पसे। तारे होटलको सभाहल क्षणभरमै भरियो।
हकअधिकारका कुरा भए। उनीहरूलाई माथि ल्याउने कुरा भयो। अधिकार बाँडने कुरा भए। पहुँच बढाउने विचार बाँडियो। कार्यपत्र प्रस्तुत भयो। टिप्पणीकारले टिप्पणी गरे। दर्शकले ताली पड्काए। कसैले मोटा कसैले दुब्ला खाम बुझे। सबै प्रफुल्ल देखिए। कार्यक्रम सकियो। खानपान सुरू भयो। फिला र कवाफ मज्जाले चपाए। विदेशी ब्रान्डीको खोलो बग्यो।
डोरीमा झुण्डिएर होटलको रङ्गरोगन गर्दै गरेका एक मजदुरले झ्यालबाट उक्त दृष्य देखे। भोकतिर्खाले प्याकप्याक परेका उनले घुटुक्क थुक निल्दै आफू जस्तै हावामा उड्दै गरेका आफ्ना साथीलाई देखाए, "ऊ हेर त, यहाँ त हाम्रै दिवस पो मनाएको रहेछ!"
४) ज्याद्रो
"तपाईं चुरोट पिउदै हुनुहुन्छ? समय अगावै मर्दै हुनुहुन्छ! तपाई खरानी बन्दै हुनुहुन्छ!" उसले हेर्याे।
टेलिभिजनमा धूमपानविरूद्ध ठाडो विज्ञापन आइरहेको थियो। उसलाई पनि थाहा थियो ऊ सकिँदै छ, किनकि उसका मुखमा लाखौँ चुरोटका ठुटा पसिसकेका थिए। ऊ जीर्ण भैसकेको थियो।
चुरोटकै क्यान्सरले उसको पितालाई पनि खर्लप्प निलेको थियो। ऊ बारम्बार अब चुरोट खान्न भन्थ्यो तर चुरोट उसको जीवन मरणको साथी बनिसकेको थियो।
ऊ जुरूक्क उठ्यो, चुरोटको बट्टा समात्यो। बट्टामा छापिएको क्यान्सर लागेको डरलाग्दो तस्वीर हेर्याे।
बट्टाबाट एउटा चुरोट निकाल्यो, ओल्टाईपल्टाई हेर्याे। मन थाम्न सकेन।
उसले चुरोट सल्कायो, लामो सर्को तान्यो र हावामा धुवाँ उडायो। कोठाभरि रुमलिएको धुवाँमा उसले आफ्नो सपना खोज्यो।
५) झड्का
"जाने हो ?"
म बाटोमा उभिइरहेको थिएँ। उनको त्यो मृदुल आवाजले मलाई झस्कायो। उनको रूपले मोहित भएछु, सहमति जनाएँ।
उनी अघिअघि लागिन् म पछिपछि लागेँ। उनले होटलको कोठामा पुर्याइन्। हामी दुवै एउटै बेडमा बस्यौँ। म सम्मोहित किन भएँ थाहै भएन। सायद उनले अप्सरा भुलाई दिइन्।
उनले भनिन्, "किन लाज मान्नुभएको, शुभकार्यमा किन ढिला? खोल्नुस न!" म आज्ञाकारी भएँ! म उदाङ्गिएँ।
अनायसै म पनि तरङ्गित भएँ र उनलाई भनेँ, "अब तिमी पनि खोल न त!"
उनले सहमति जनाइन् र एकैक्षणमा आदेशको पालना गरिन्।
जब मैले उनको निर्वस्त्र शरीर देखेँ तब मेरो शरीरका रौं ठाडा भए। तातेको मेरो उमङ्ग खङ्रङ्ग भयो। म बरफ बनेँ। किनकि मैले उनको शरीर र मेरो शरीरमा कुनै भिन्नता देखिनँ।
( लघुकथाकार ध्रुवराज थापा ‘पुरुष’ काे ‘सपनाकाे पहाड ’ लघुकथासंग्रहमा सङ्गृहीत)
प्रकाशित: १४ वैशाख २०८३ ०९:२४ सोमबार





