१७ आश्विन २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

'मुटुसँग खेल खेल्यौ' लिएर आए डा. अनन्त अधिकारी

नेपाल सरकारका प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट तथा वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीले आफ्नो नयाँ गीति भिडियो ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक गरेका छन्।

डा. अधिकारीकै आधिकारिक युट्युब च्यानल अनन्त अधिकारी मार्फत सार्वजनिक गरिएको उक्त गीतमा डा. अधिकारीकै शब्दरचना रहेको छ भने संगीतकार संघ नेपालका अध्यक्ष तथा प्रख्यात संगीतकार अष्ट लामाको संगीत र नेपाल आइडल विजेता गायिका गंगा सोनामको सुमधुर स्वर रहेको छ।

वरिष्ठ निर्देशक सुनिल पाण्डेको निर्देशनमा तयार भएको यस गीति भिडियोमा सोनी लगुन, प्रवीण डी.सी. तथा राजेश श्रेष्ठले अभिनय गरेका छन्। गीति भिडियोको छायांकन काठमाडौं उपत्यका वरपरका रमणीय स्थानहरूमा गरिएको छ।

नियात्रा, कविता तथा गीतका क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका डा. अधिकारीका ‘सिरीरिरी बतासै चल्यो लै लै’ तथा ‘म पागल होइन’ जस्ता गीतहरू यसअघि नै चर्चित छन्।

प्रेम, समर्पण, विरह र धोका जस्ता मानवीय संवेदनाका विविध विम्बलाई गहिराइसम्म पुगेर अनुभूत गर्न सकिने गरी शब्दमा बुनेर तयार गरिएको ‘मुटुसँग खेल खेल्यौ’ मा भावनात्मक शब्दरचनासँगै उत्कृष्ट सांगीतिक संयोजन र सशक्त गायनको सम्मिश्रण पाइन्छ। गीतले प्रेम र वियोगका सूक्ष्म अनुभूतिलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ।

अष्ट लामाको सुमधुर संगीत र गंगा सोनामको प्रभावशाली स्वरले गीतलाई थप जीवन्त बनाएको छ भने कलाकारहरूको अभिनय तथा सुनिल पाण्डेको निर्देशनले भिडियोको भावनात्मक पक्षलाई अझ सशक्त बनाएको छ।

आधुनिक नेपाली गीत–संगीतका पारखीहरूका लागि ‘मुटुसँग खेल खेल्यौ’ एउटा भावनात्मक र श्रवणीय सांगीतिक प्रस्तुति बन्ने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित: १७ आश्विन २०८३ १४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App