३ आश्विन २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

नआओस् परदेशबाट युवाहरूको ला*स

मुक्तक

१) मुक्तक

जताजता राम्रो उतैतिर झुल्नेहरूलाई

चियोचर्चा गर्दै मेरोसामु डुल्नेहरूलाई

उन्नति होस् प्रगति होस् यहीँ छ कामना,

दु:खमा साथ दिएको सबै भुल्नेहरूलाई।

२) मुक्तक

पक्कै देशमा सुख शान्तिको मुना पलाउँछ अब

नयाँ सोचले देशमा ठूलो परिवर्तन ल्याउँछ अब

युवाहरूको हात नयाँ जोस कोरिँदैछ नयाँ बाटो,

आशाको दीप बालेर सुन्दर बिहानी आउँछ अब।

३) मुक्तक

पीडितले न्याय पाउनलाई संघर्ष गरिरहनुपर्छ

फुल्न–फक्रन नपाउँदै कोपिलामै झरिरहनुपर्छ

जबसम्म फाँसीको सजाय हुँदैन हत्यारालाई यहाँ,

बलात्कृत भएर छोरीहरूले सधैं मरिरहनुपर्छ।

४) मुक्तक

देशमा भ्रष्टाचारीको होस् पर्दाफास, यति चाहन्छौँ

जनताले पाऊन् गाँस, बास र कपास, यति चाहन्छौँ

सुख शान्ति समृद्धि आओस् देशमा यही कामना छ

नआओस् परदेशबाट युवाहरूको लास, यति चाहन्छौँ।

५) मुक्तक

घमण्डले उड्यौ, अन्ततः मेरै हातमा आयौ हैन त

कर्मका रङ खुल्नासाथ एउटै बातमा आयौ हैन त

बेलुनझैँ फुलेको त्यो अभिमान सिसासरी फुटेपछि,

आखिर आज आफ्नै औकातमा आयौ हैन त।

- अनिता भण्डारी

प्रकाशित: ३ आश्विन २०८३ १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App