३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

बाटो भुलेर घरको नगरूँ बयान!

मुक्तक

बाटो भुलेर घरको नगरूँ बयान

ढुङ्गोविहीन भरको नगरूँ बयान।

नेपाल स्वर्गसरिको छ यही भुलेर

यो देशबाट परको नगरूँ बयान ।।१।

फुल्नेछ ज्रीवन कला यदि भर्न जाने

फक्री फुलेर वयमा पछि झर्न जाने।

बन्ला महान् मनुज जीवनमा अवश्य

इच्छाबमोजिम जिईकन मर्न जाने ।।२।

आँखाभरी प्रकृतिको छ विचित्र चित्र

लालीगुराँस वनमा मनमा छ भित्र ।

छन् चैत्य मन्दिर र मस्जिद चर्च गुम्बा

नेपाल यो अवननिमाछ सदा पवित्र ।।३।

देखेँ भने नयनले किन ढाँट्नुपर्थ्यो

यी कानले सब सुने किन छाट्नुपर्थ्यो ।

वर्षा हुँदैन अति शीघ्र भने वृथामा

अकाशमा घनघटा किन फाट्नुपर्थ्यो ।।४।

सेवा र स्वार्थ कहिल्यै पनि एक हुन्नन्

नि:स्वार्थ सेवक बनौँ थुनछेक हुन्नन् ।

जो मित्र हुन् असल ठान्दछु हुन्छ शत्रु

आफू समान जति खोज छिमेक हुन्नन् ।।५।

यस्तै व्यथा अनि कथा म सुनाउँदै छु

हुन् गीत यी लय भरीकन गाउँदै छु ।

टाढा हुने रहर छैन ममा पियारी

तिम्रै समीप अति शीघ्र म आउँदै छु ।।६।

सङ्कल्प गर्न नसके कुन काम होला

हुन्नन् जहाँ प्रभु त्यहाँ कुन धाम होला ।

बेकार यो भुवनमा नर जन्म पाई

सत्कीर्ति राख्न नसके कुन नाम होला ।।७।

होलान् बिहान सहजै जब रात ढल्छन्

ती जून घाम नभमा गति जो बदल्छन् ।

एक्लो वृहस्पति झुटो ग्रह सत्य आठै

मानेर हुन्न लयमा सब साथ चल्छन् ।।८।

पूर्णङ्क नाटक हुँदैन हुनेछ एक

हुन्नन् जहाँ  विविध दृश्य ती अनेक ।

पर्दा पछाडि चलखेल अनेक हुन्छन्

सद्बुद्धि होस् मनुजको गतिलो विवेक ।।९।

हे मूर्ति पूजक कुद्यौ भगवान् भनेर

धाएर तीर्थ दगुर्‍यौ जहिल्यै अबेर ।

हान्नेछ त्यो समयले जब लात मारी

जानेछ जीवन त्यसै चुपचाप खेर ।।१०।

देखे हिजो  सहिदले  सपना  हजार

होला भनी मुलुकको गतिमा सुधार ।

शङ्का बढेर मन पोल्दछ घाइतेको

डुब्दै छ नाउ कि कतै नपुगी किनार ।।११।

राखे विकार तनमा मन मैलिनेछ

बेदाग दौलत कहाँ धन मैलिनेछ ।

हुन् सभ्य मानिस स्वयम् पशुझैं नहोऊन्

छाडा भए गति यौवन मैलिनेछ ।१२।

जो शब्द सापट लिएँ म दिँदै छु आज

मागेर सिर्जन गरेँ किन मान्नु लाज ।

साहित्यको जमिन यो जलकुण्डलाई

छोडेर  भिन्न कसरी म बनूँ समाज ।।१३।

लेखेँ वसन्ततिलका लयमा रचेर

होलान् मिठा फल समान भनी बुझेर ।

अन्याय हुन्छ कविमा यति बुझ्नुहोला

फालें कतै समय व्यर्थ म ठान्छु खेर ।।१४।

लेखेर मात्र लयमा पनि हुन्न भाइ

त्यो हुन्न मुक्तक मिठो  कविता रचाई ।

आभार भन्छु सबमा दिलबाट मैले

सल्लाह उत्तम दिए सबले मलाई ।।१५।

प्रकाशित: ३१ जेष्ठ २०८३ ०९:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App