स्रष्टा साँझ अमेरिकाले लघुकथाकार सुरेशकुमार पाण्डेकाे ‘आवाज’ लघुकथासंग्रहको परिचर्चा गरेको छ।
स्रष्टा साँझ अमेरिकाको आयोजनामा जुममार्फत ‘आवाज’ लघुकथासंग्रहको परिचर्चा भएकाे छ।
उक्त कार्यक्रममा परिचर्चाकारहरू सत्या अधिकारी, डा. कुसुमाकर शर्मा गौतम, दीपक लोहनी र खेमराज पोखरेलले लघुकथाकाे परिचर्चा गरेका थिए।
लघुकथाकाे सैद्धान्तिक मान्यताका आधारमा कृतिकाे परिचर्चा भएकाे हाे।
कार्यक्रममा सत्या अधिकारीले कृतिकाे समीक्षा लघुकथा वाचन गरेकी थिइन्। वाचित लघुकथाले शैक्षिक बेतिथिविरूद्ध बुलन्द आवाज उठाएको बताए।
त्यस्तै डा. गौतमले कालखण्ड दोषमुक्त भएको सङ्ग्रहका रूपमा कृति आएको बताए।
परिचर्चाकार दीपक लोहनीले कृतिले उठाएका विचारप्रति मन्तव्य प्रस्तुत गरेका थिए। लघुकथामा लघुकथाकार पाण्डेले समाचार, सामाजिक घटना र जीवन भोगाइ सुन्दर रूपमा प्रस्तुत गरेका बताए।
परिचर्चाकार खेमराज पोखरेलले लघुकथाहरूमा पाइने सबल र दुर्वल पक्षकाे कुरा राखेका थिए। अर्ग्यानिक भाषा, विविध विषय, स्वैरकल्पना र व्यङ्ग्यको सशक्त प्रयोग, लघुत्व लघुकथाका सबल पक्ष भएकाे बताए।
त्यस्तै कौतुहूलको क्षय, विषयको दोहोरोपन, फितलो सम्पादन , परम्परावादी विचार , प्राभवकारिता कम हुनु, कथ्य चयनमा कमजोरी, केही लघुकथामा समापनको बिस्तार दुर्बल पक्ष भएकाे बताए।
कार्यक्रममा उपस्थित कृतिका सम्पादक वसन्त अनुभवले बोलेको, देखेको कुरालाई दुरूस्तै लेख्ने स्वभावले गर्दा कमीकमजोरी रहनु स्वभाविक ठाने। औपचारिक शिक्षा नभए पनि छिटो र नियमितरूपमा लेख्ने स्रष्टाको कलमको प्रशंसा गरे।
प्रा. विश्वराज अधिकारीले सञ्चालन गरेकाे सो कार्यक्रममा लता के. सी र प्रकाशकका तर्फबाट यम रेग्मीले कृतिगत सफलताको लागि कृतिकारलाई शुभकामना र बधाई दिएका थिए।
कार्यक्रमको अन्त्यमा कृतिकारले सबैलाई धन्यवाद दिँदै लघुकथा लेखनको प्रेरणा , लेखनयात्राका अनुभूति र प्रभावबारे आफ्नो धारणा राखेका थिए।
प्रकाशित: ३० चैत्र २०८२ १२:२९ सोमबार





