१२ आश्विन २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘हिमलुङमा पलाएको माया’ कथासङ्ग्रहकाे विमर्श

कथा यात्रा समूहले ‘आख्यान मञ्जिरा’ कार्यक्रमअन्तर्गत साहित्यकार विष्णुप्रसाद शर्मा पराजुलीको ‘हिमलुङमा पलाएको माया’ कथासङ्ग्रहकाे  विमर्श गरेकाे छ।

माथि कथा यात्रा समूहको “आख्यान मञ्जिरा” कार्यक्रमअन्तर्गत रमेश विकल साहित्य प्रतिष्ठानसँगको सहकार्यमा विमर्श कार्यक्रम भएको छ।

जोरपाटी, आरुबारीस्थित प्रतिष्ठानको कार्यालयमा सम्पन्न कार्यक्रममा समूहका सात सदस्यहरूले अलग अलग कथामाथि विवेचना गरी तयार गरिएको पुस्तिका प्रतिष्ठानलाई हस्तान्तरण समेत गरियो।

उक्त पुस्तिकामा कथा सङ्ग्रह अन्तर्गतको “पेमा” कथामाथि हरिष कल्पित, “बिर्सदैन आफ्नो जरा रूखले” माथि डा. पवित्रा अधिकारी, “मृत्यूपत्र” माथि कुमार काफ्ले, “हिमलुङमा पलाएको माया” माथि विश्व कुइकेल, “यार्सागुम्बा” माथि डा. हिमलाल श्रेष्ठ, “हलिबा” माथि प्रमोद प्याकुरेल र “सेतीबेनी शिलामा कुँदिएको प्रेमकथा” माथि दीपक लोहनीले गरेको विवेचना सङ्कलित गरिएको छ। कथाकारको सम्वन्धित कथा र काथाकारितामाथि समूहका सदस्यहरूबाट चर्चा समेत गरियो। समग्र कथा सङ्ग्रहमाथि पाठकीय दृष्टिकोण रूपा रिसाल चालिसेले राखेका थिए।

“हिमलुङमा पलाएको माया” कथा सङ्ग्रह लेखक पराजुलीको उच्च हिमाली र पहाडी क्षेत्रको यात्रा अनुभवसँग जोडिएर आएका कथाहरूमा ती क्षेत्रहरूको मानवशास्त्रीय दृष्टिकोणहरू समेटिएको देखिन्छ। सामाजिक सम्वन्धमाथि यथार्थवादी धारमा लेखिएका कथाहरूमा नियात्रा साहित्यको गहिरो प्रभाव देखिन्छ। एउटै कथाभित्र धेरै उपकथाहरू जोडिएको, लामो कालखण्डहरूको प्रयोग भएको, पात्रहरूको संख्या धेरै रहेको समेतको कारणले अधिकांश कथाहरू औपन्यासिक दृष्टिकोण पाइएको एवम् कथाहरूमा संवादको न्यूनता, द्वन्द्वको न्यून विस्तार र निवन्धको गुण देखिएको विषयमा चर्चाकारहरूको जोड थियो।

उक्त कार्यक्रममा वरिष्ठ कथाकार खेमराज पोखरेल, कवि माधव लोहनी, डा.टिकाराम पोखरेल, रेसु गौतमाचार्य, रामप्रसाद पौडेल, धर्मराज पौडेल, ध्रुव थापा पुरुष लगायतका साहित्यसेवी एवम् साहित्यानुरागीहरूले समेत आआफ्नो धारणा राखेका थिए। कार्यक्रममा रमेश विकल साहित्य प्रतिष्ठानका सदस्य महेन्द्र चालिसेले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संयोजन प्रतिष्ठानका सचिव आलोक चालिसेले गरेका थिए।

प्रकाशित: १२ आश्विन २०८३ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App